पूर्वमहानिर्देशक मिश्रासहित ८ जनाले पाए सफाइ

काठमाडौं। विशेष अदालत काठमाडौंले स्वास्थ्य सेवा विभागअन्तर्गत भएको मेमोग्राफी मेसिन खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा तत्कालीन महानिर्देशक संगीता कौशल मिश्रासहित ८ जनालाई आरोप पुष्टि हुन नसकेको भन्दै सफाइ दिएको छ।
Advertisement 1
विशेष अदालतका सदस्यद्वय नारायणप्रसाद पौडेल र उमेश कोइराला रहेको इजलासले संगीता कौशल मिश्रासहित विवेककुमार लाल, भुवनप्रसाद काफ्ले, दीपक अधिकारी, यादवप्रसाद सापकोटा, शम्भुप्रसाद ढकाल, सीता घिमिरे र तिलकराम ढकाललाई आरोपबाट मुक्त गरेको हो।
मेमोग्राफी मेसिन खरिद प्रक्रियामा अनियमितता भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ कात्तिक २ गते १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आयोगले खरिद प्रक्रिया सुरु भएदेखि नै मिलेमतो गरी आपूर्तिकर्तालाई लाभ पु¥याउने उद्देश्यले काम गरिएको, सम्झौताअनुसार सम्पूर्ण सामग्री आपूर्ति नभए पनि झुटा विवरण र कागजातका आधारमा भुक्तानी गरिएको दाबी गरेको थियो।
Advertisement 2
आयोगको अभियोगअनुसार स्वीकृत लागत अनुमानभन्दा कम रकममा ठेक्का प्रस्ताव भए पनि खरिद प्रक्रियामा गोप्य सूचना आदानप्रदान तथा अनियमित कार्य भएको जिकिर गरिएको थियो। इटालीको जनरल मेडिकल मेराटे कम्पनीबाट आपूर्ति भएको उपकरणको मूल्य र स्वास्थ्य सेवा विभागबाट भएको भुक्तानी रकमबीच ठूलो अन्तर रहेको पनि आयोगले उल्लेख गरेको थियो।
अदालतले भने संगीता कौशल मिश्रासहितका अधिकारीहरू प्राविधिक तथा खरिद इकाइबाट तयार भएका कागजात, टिप्पणी र सिफारिसका आधारमा निर्णय प्रक्रियामा संलग्न रहेको देखिए पनि भ्रष्टाचारमा प्रत्यक्ष संलग्नता पुष्टि हुने पर्याप्त प्रमाण नपाइएको निष्कर्ष निकालेको हो।
Advertisement 3
यसै मुद्दामा श्रवणकुमार थापा, सुरेन्द्रप्रसाद चौरासिया, आशिष चौहान, पद्मा मिश्र र सञ्जयकुमार साहलाई भने अदालतले दोषी ठहर गरेको छ। उनीहरूलाई भ्रष्टाचार निवारण ऐनअनुसार जनही चार महिना कैद, ५ लाख ४७ हजार ८१७ रुपैयाँ बिगो, सोही बराबरको जरिवाना तथा थप २० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ।
त्यस्तै आपूर्तिकर्ता कम्पनीसँग सम्बन्धित सुन्दर भुसाललाई प्रतिवादीहरूको मतियारको भूमिकामा दोषी ठहर गर्दै अदालतले कानुनी व्यवस्थाअनुसार कैद र जरिवानाको फैसला गरेको छ।










