निजामती सेवामा ४९ हजार दरबन्दी रिक्त

मुलुक संघीयतामा प्रवेश गरेको  चार बर्ष व्यतित भइसक्दा समेत कर्मचारी परिचालनमा समस्या देखिदै आएको छ । स्थानीय तह,जस्ले जनतालाई घरदैलोमै सेवा प्रवाह गर्दै आएको छ । मुलुकभरका ७५३ स्थानीय तहमध्ये झण्डै एक तिहाई प्रशासकीय अधिकृतविहिन अबस्थामा चलिरहेका छन् ।

Advertisement 1

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अनुसार,मुलुकभरका २ सय बढी स्थानीय तह अहिले प्रमुख प्रशासकीय अधिकृतविहिन छ । एकातिर सरकारले प्रशासकीय अधिकृतको दरबन्दी सिर्जना गर्न नसक्नु अर्कोतिर शाखा अधिकृत र उपसचिवहरू पनि स्थानीय तहमा जान नचाहेका कारण प्रमुख प्रशासकीय अधिकृत रिक्त भएको सामान्य प्रशासनको कथन छ ।

स्थानीय तहहरुमा कतिसम्म मनलाग्दी छ भने,कतिपय स्थानीय तहमा दर्जाभन्दा तलका कर्मचारीले समेत स्थानीय तह हाँकिरहेका छन् । सबैभन्दा धेरै अझैं बढी प्रदेश २ मा देखिन्छ ।
निजामती किताबखानाका अनुसार अहिले सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहका गरी अहिले ४९ हजार कर्मचारीको दरबन्दी रिक्त छ । रिक्त दरबन्दीमध्ये अधिकांश प्राविधिक छन् । शिक्षा, स्वास्थ्य, इन्जिनियरिङ, कृषिलगायतका प्राविधिक र केही प्रशासनिक सेवाका कर्मचारीको दरबन्दी रिक्त रहेको किताबखानाले जनाएको छ । निजामती सेवाभित्र १ लाख ३६ हजार कर्मचारीको दरबन्दी रहेकोमा अहिले ८७ हजार कर्मचारीको मात्र दरबन्दी पूरा भएको र बाँकी ४९ हजार कर्मचारीको दरबन्दी रिक्त रहेको राष्ट्रिय किताबखाना (निजामती)ले जनाएको छ । ठूलो सङ्ख्यामा कर्मचारीको दरबन्दी रिक्त हुँदा विकास निर्माण र सेवा प्रवाहको काममा प्रत्यक्ष असर परेको छ ।
कोरोनाले गर्दा लोकसेवा आयोगको नियमित परीक्षा विभिन्न समयमा रोकिँदै गएको, कर्मचारीको सेवा अवकाश हुने सङ्ख्या बढ्दै गएको र सोही सङ्ख्यामा लोकसेवाबाट कर्मचारी पूर्ति गर्न नसकिएकाले ठूलो सङ्ख्यामा कर्मचारीको दरबन्दी रिक्त रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

प्रकाशित :२०७८ फाल्गुन ४, बुधबार १०:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry