खानीडाँडा–थामर्खक सडकमा कालोपत्र सुरु

खोटाङ। खानीडाँडा विमानस्थलदेखि–याम्खा–रातमाटा–पञ्चमीबाट दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय हुँदै थामर्खक जोड्ने सडक कालोपत्र (अस्फाल्ट पिच) सुरु गरिएको छ। सङ्घीय सरकारको ५० प्रतिशत र कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको ५० प्रतिशत गरी बहुवर्षीय योजनाअन्तर्गत विनियोजन भएको ३० करोड रुपैयाँ बजेटमा सो सडक कालोपत्र सुरु गरिएको हो।

Advertisement 1

ठेकेदार कम्पनी पवित्रा–गाउँले जेभी उदयपुर गाईघाटले १७ करोड ४४ लाख १० हजार रुपैयाँमा सम्झौता गरेर सडक निर्माणसहित कालोपत्र सुरु गरेको पूर्वाधार विकास कार्यालयका प्रमुख विनम दाहालले जानकारी दिए। सम्झौताअनुसार ठेकेदार कम्पनीले दुई वर्ष ११ महिनाभित्र काम सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्नेछ।

सम्झौताअनुसार ८ किलोमिटर सडक निर्माणसहित अस्फाल्ट पिच गरिने जनाइएको छ। उक्त सडक निर्माण सम्पन्नपछि जिल्लाको दक्षिणी भेगका स्थानीयसँग सिधा यातायात सम्पर्क स्थापित हुनुका साथै स्थानीय बासिन्दालाईसदरमुकाम दिक्तेल बजार आवतजावतमा सहज हुनेछ।

Advertisement 2

कोशी प्रदेश सरकारका निर्वतमान भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले सोमबार डाँडागाउँमा एक कार्यक्रमगरी सडकको औपचारिक रूपमा शिलान्यास गरे। उनले खोटाङमा विकास निर्माणमा ढिलासुस्ती स्वीकार्य नहुने बताए।

साप्सुखोलापारिका साकेला, दिप्रुङ चुइचुम्मा, खोटेहाङ, जन्नेढुङ्गा र बराहपोखरी गाउँपालिकालाई दिक्तेल बजारसँग जोड्ने यो सडक अहिले कच्ची अवस्थामा छ।

प्रकाशित :२०८३ जेष्ठ ५, मंगलवार १२:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry