के जनमत गणित मात्रै हो र?

जनमतको मापन गणितमा गरिने चलन छ। यसैले विभिन्न राजनीतिक, सामाजिक क्षेत्रमा हुने हरेक चुनावमा जित हारको निर्णय गणितीय भाषामा गरिन्छ। यही फागुन २१ मा भएको निर्वाचनमा पनि यही आधारमा प्रतिस्पर्धीहरू बीच जीत हारको निर्णय गरियो।
Advertisement 1
हुन त गणितले मानसिक, बौद्धिक, सामाजिक, नैतिक पक्षलाई समेत मापन गर्न सक्छ भनिन्छ तर यसले मूल रूपमा भौतिक पक्षलाई मापन गर्छ। अर्थात गणितीय हिसाबले भन्नु पर्दा जसले बढी मत ल्याउछ उही विजयी हुन्छ चाहे झिनो मतान्तर होस् वा भारी तर यो गणितले उम्मेद्वारको गुणात्मक पक्ष केलाउन सकेको पाईदैन। हो, गणितीय पक्षबाट निर्वाचित हुनेहरू सबैमा सामाजिक, बौद्धिक, नैतिक, चैत्यन्निक क्षमता नै हुदैन भनिएको पनि हैन तर सबै प्रतिस्पर्धीहरूमा त्यस किसिमको क्षमता हुदैन भन्न खोजिएको हो। गणित अन्य पाठ्यांश जस्तै एउटा विषय हो, परीक्षामा उत्तीर्ण हुन गणितमा मात्र धेरै प्राप्तांक ल्याएर हुदैन अरू विषय पनि उत्तीर्ण हुनु पर्छ र चुनावी गणितमा आएको अंकको प्रभावले समस्त मतदाताको अपेक्षालाई मापन गर्न सक्नु पर्छ।
निर्वाचन एउटा नियमित हुन्छ जसलाई आवधिक निर्वाचन पनि भनिन्छ तर नेपालमा हाल भएको निर्वाचन आवधिक नभएर आवश्यकीय सिद्धान्तको आधारमा गरिएको निर्वाचन हो। विगतमा भएका निर्वाचनहरूमा दिएका मतहरूबाट बनेको संसद, सांसद र सरकारले सहज डेलिभरी दिन नसकेको हुदा मतदाताहरू आजित भएर उनीहरूले आवधिक निर्वाचन समेत कुर्न नसक्दा यो निर्वाचन हुन गएको हो। यसैले यसको परिणामले सो अपेक्षाको सम्वोधन गर्न सक्नु पर्छ।
Advertisement 2
यस पटकको निर्वाचनमा पनि करीव ६०% मतदाता सहभागी भएका छन्। यसको अर्थ झण्डै आधा मतदाताहरू यो चुनावले समेट्न सकेको छैन। बाकि मतदाता मध्ये झण्डै आधा वा ४८% लाई मात्र एउटा दलले प्रतिनिधित्व गरेको छ भने पछि सरकारको समर्थन भन्दा बाहिर धेरै मतदाता छन् भनेर बुझ्नु पर्यो।तर पनि गणितीय हिसाबले अब बन्ने सरकार बलियो छ तर तत्कालै बन्दै गरेको सरकारले के कुरा हेक्का राख्न जरूरी छ भने निवर्तमान सरकार संग पनि गणितीय हिसाबले करीव दुई तिहाई संख्या थियो तर सफल हुन सकेन। यसै किसिमले गणितीय हिसाबले बलिया भएका तर जनमतलाई सम्बोधन गर्न नसक्दा असफल भएका विगतका नेपाली कांग्रेस, माओवादी, डबल नेकपाका सरकारलाई पनि लिन सकिन्छ। यी सबै सरकारका ब्यबहारबाट आजित भएर मतदाताले यस पटक नयां नै त नभनौ तर नयां भावनालाई समेट्ने अपेक्षामा घण्टी चुनााव चिन्हलाई बहुमत दिएका हुन्। मतदाताले उम्मेद्वारलाई कम तर चुनाव चिन्हलाई हेरेर मत दिएका हुन्। यस पटकको मतदातले राजनीतिक चिन्तन, आदर्श, सिद्धान्तलाई हेरेर हैन लामो समय देखि मौलाएर गएको भ्रष्टाचार रोक्न सकिन्छ कि, सार्वजनिक सेवा सहज र सरल तरीकाले पाईन्छ कि भन्ने अपेक्षालाई आधार बनाएर मतदान गरेको पाईयो। यसैका कारण सिद्धान्तमा आधारित राजनीतिक दलहरू यस पटकको निर्वाचनमा पाखा परेका हुन्।
हामीले विगतमा सेवाग्राहीलाई रैति ठान्दा मतदाताले त्यो असन्तुष्ठी मत पेटिकामा पोखे तर पनि यस पटक पोखिएको मत सर्वथा नौलो र पटक्कै नचिनेको पार्टीलाई दिएका भने हैनन्, चिनेका तर भोग्न बांकि रहेका दल र तिनले उठाएका सेलीब्रेटीलाई विश्वास गरेर दिएका हुन्। यो मत जनमत हो। जनताको मतलाई शिरोपर गर्नै पर्छ। यसरी प्राप्त गणितीय मतमा प्राण भरेर जनताको हरेक ब्यबहारमा परिणत गर्न सके मात्र मतदान गरेको अर्थ रहन्छ र यसलाई ब्यबहारमा रूपान्तरण गर्न सके मात्र चुनिएका प्रतिनिधिले पनि जस पाउने अवस्था रहन्छ। तर यसको बिपरीत यसरी आएको मतलाई आफ्नो बपौति ठानेर विगतमा जस्तै अहंता देखाउन थालियो भने मतदाताको धैर्यको बांध टुट्न पुग्छ। त्यसले ल्याउने परिणाम झनै अकल्पनीय हुन जान्छ। मत परिणाम आई सके पछिको प्रतिकृयाहरू मध्ये सब भन्दा धेरै प्रतिकृया यो मतलाई सुनामी भनेर भन्नेहरू धेरै छन्। यसैले यो भनाइ र प्रतिकृयालाई झूठ साबित गर्न यसबाट चुनिएर बन्ने सरकारले अहं भूमिका खेल्नु पर्छ।














