छायाँनाथ रारा नगरपालिकामा श्रम बैंक

मुगु। श्रमबाटै सम्मृद्धि सम्भव हुन्छ भन्ने उद्देश्यले छायाँनाथ रारा नगरपालिकाले श्रम बैंक खोल्नेसम्बन्धी कार्यविधि पारित गरेको छ। नगर प्रमुख विष्णुकुमार भामले उक्त कार्यविधि राजपत्रमार्फत सार्वजनिक गरेका ह।
Advertisement 1
नगरप्रमुखमा निर्वाचित भएदेखि प्रत्येक शनिबार नगरक्षेत्रका विभिन्न स्थानमा श्रमदानमा खटिँदै आउनुभएका प्रमुख भामले श्रमदानलाई निरन्तरता दिन, श्रमदान संस्कृति जोगाइराख्न र कम लागतका सानातिना समस्या श्रमदानबाटै समाधान गर्नका लागि कार्यविधि ल्याइएको बताए।
यसअघि स्वतःस्फूर्त रुपमा श्रमदान गर्न स्थानीय, कर्मचारी, सुरक्षाकर्मी, व्यवसायी सहभागी भए पनि को–को आए, कति घण्टा काम गरे, कतिपटक श्रमदानमा सहभागी भए भन्ने तथ्याङ्क राख्ने गरिएको थिएन। अब नगरपालिकामा सबै श्रमदान गर्नेहरुको रेकर्ड राखिनेछ। “यो कामको जिम्मेवारी रोजगार शाखाले हेर्नेछ र शाखा मातहतमै श्रमदान बैंक स्थापना हुनेछ”, उनले भने।
Advertisement 2
श्रम बैंकमा पैसा होइन श्रम गरेको घण्टा जम्मा
बैंक भन्नेबित्तिकै पैसा जम्मा गर्ने, झिक्ने, ऋण लिने र दिने कुरा आउँछन्। तर यस बैंकमा प्रत्येक शनिबार नगरप्रमुखको अगुवाइमा हुने श्रमदानमा सहभागीहरुको श्रमदान गरेको घण्टा जम्मा हुनेछ। बैंक खाता खोल्न र खातामा घण्टा जम्मा हुनलाई कम्तीमा श्रमदानको दिन २ घण्टा श्रमदान हुनुपर्छ।
Advertisement 3
श्रमदाता सबैको उक्त बैंकमा खाता खोलिनेछ। खातामा सबैको श्रमदानको घण्टा रेकर्ड राखिनेछ। श्रमदानमा सहभागी भएको र काम गरेको अवधि खातामा जम्मा हुनेछ।
श्रमदातालाई सेवासुविधा
कार्यविधिमा श्रमदातामा जम्मा भएको घण्टाका आधारमा श्रमदातालाई नगरपालिकाबाट प्राप्त हुने सेवा सुविधामा सहुलियत दिने दिने व्यवस्था गरिएको छ। श्रमदान गर्ने व्यक्तिले लिएको सेवासुविधाका आधारमा जम्मा भएका घण्टा खर्च हुँदै जानेछ भने थप श्रमदान गरे घण्टा जम्मा हुनेछ। श्रमदाताहरुले विभिन्न सिफारिस शुल्क छुट, स्वास्थ्य सेवा सहुलियत, यातायात सहुलियत, शैक्षिक सहुलियत र बिमालगायतमा सुविधा पाउनेछन्। “आफ्नो व्यक्तिगत कामलाई थाती राखेर विनाज्याला निःशुल्क श्रमदान गर्ने व्यक्तिहरुको सम्मानका लागि छुट भएका वा आवश्यक देखिएका थप सेवासुविधा पनि कार्यविधिमा थपघट गर्दै लगिनेछ भने वर्षभरिमा सबैभन्दा बढी श्रमदानमा सहभागी हुने र बढी घण्टा श्रमदान बैंक खातामा जम्मा गर्ने श्रमदातालाई सम्मान गरिनेछ”, कार्यविधिमा भनिएको छ।
–––














