‘राष्ट्रिय एकता र मेलमिलापको महत्त्व अहिले पनि सान्दर्भिक छ’

काठमाडौ। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको महत्त्व अहिले पनि सान्दर्भिक रहेको बताएका छन्।
Advertisement 1
राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज जारी सन्देशमा उनले लोकतान्त्रिक आन्दोलनका नेता स्व विपी कोइराला, गणेशमान सिंहलगायतले आजकै दिन भारतको आठ वर्षे प्रवास त्यागी राष्ट्रिय मेलमिलापको सन्देशसहित स्वदेश फर्किनुभएको ऐतिहासिक घटनाको स्मरण गरे।
राष्ट्रिय मेलमिलाप अब कांग्रेसको मात्र विषय नभई सम्पूर्ण सार्वभौम नेपालीको साझा जिम्मेवारी भएको उनको भनाइ छ। सत्ता राजनीतिभन्दा माथि उठेर राष्ट्रिय एकता र मेलमिलापका लागि जनस्तरमा जागरुकता, सतर्कता र ऐक्यबद्धता अपरिहार्य भएको नेता डा कोइरालाले बताए।
Advertisement 2
उनले लोकतन्त्रको रक्षा गर्दै भावी पुस्तालाई शान्ति र समृद्धिको बाटोमा अघि बढाउन आन्तरिक विवाद, मतभिन्नता र व्यक्तिगत महत्वाकाङ्क्षा त्यागेर आगामी राष्ट्रिय निर्वाचनमा एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।
नेता डा कोइरालाले राजनीतिक परिवेशमा देखिएका नयाँ चुनौतीको सामना गर्न सम्पूर्ण राजनीतिक दल एकतामा जोडिनुको विकल्प नरहेको उल्लेख गर्दै विपी कोइरालाको मेलमिलाप नीतिले कांग्रेसलाई राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गर्न मार्गदर्शन गर्ने विश्वास व्यक्त गरे।














