पनौती र रोशीका १२३ परिवारलाई खानेपानीको पहुँच

काभ्रेपलाञ्चोक। यहाँको २ वडामा खानेपानी आयोजना सम्पन्न भएका छन्। पनौती नगरपालिका–२ कुशादेवी स्थित बोलखे गाउँको ६० परिवार र रोशी गाउँपालिका–११ भिमखोरीको ६३ परिवारमा प्रदेश सरकार तथा विभिन्न संस्थाको सहयोगमा खानेपानी व्यवस्थापन गरिएको हो।
बोलखे गाउँमा खानेपानी व्यवस्थापनपछि सुरक्षित खानेपानीयुक्त समुदायसमेत घोषणा गरिएको छ।
Advertisement 1
स्वीस सरकार र युनिसेफ नेपालको आर्थिक तथा प्राविधिक सहयोग र दिगो विकासका लागि नागरिक मञ्च (सिविक) फोरमको सहजीकरणमा ६० घरधुरीमा खानेपानी पु¥याइएको हो। खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभागद्धारा गत साउन १५ गते जारी ‘सुरक्षित खानेपानीयुक्त समुदाय दिग्दर्शन पुस्तिका–२०८२’ अनुसूची–३ मा उल्लेखित न्यूनतम सूचक पुरा भएपछि ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ घोषणा गरिएको हो।
रु ४० हजार श्रमदानसहित रु ३ लाख ४२ हजारको लागतमा निर्माण सम्पन्न उक्त खोनेपानी योजनाअन्तर्गत १ इन्टेक निर्माण गरी संरचनाको सुरक्षार्थ काँडेतारबार लगाईएको छ भने ४ सय मिटर पाइप, ‘एन्फो’ पानी परीक्षण किट खानेपानी सरसफाई तथा उपभोक्ता समितिलाई उपलब्ध गराइएको छ। प्रत्येक घरधुरीका सदस्यलाई सरसफाई प्रवद्र्धन सम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत गरिएको फोरमका कार्यकारी अधिकृत बसन्त कुँवरले जानकारी दिए। उनका अनुसार यस योजनामा पानी शुद्धिकरणका लागि स्वचालित ‘क्लोरिनेशन’ प्रणाली जडान गरिएको छ।
Advertisement 2
यसैगरी बाग्मती प्रदेशको खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयको आर्थिक सहयोगमा भिमखोरी खानेपानी तथा सरसफाई आयोजना मार्फत् ६३ परिवारका ३ सय ७२ लाभान्वित भएका छन्। रु ८४ लाख ६१ हजार २ सय ५९ र जनश्रमदान बापत रु ५ लाख ६२ हजार ६ सय ६२ गरी रु ९० लाख २३ हजार ९ सय २१ लागतमा आयोजना सम्पन्न भएको खानेपानी तथा सरसफाई डिभिजन नम्बर ३ सिन्धुपाल्चोकका डिभिजन प्रमुख सृष्टि ख्वालपालले जानकारी दिए। उक्त आयोजनामार्फत ५ हजार ६ सय ५० मिटर टाढा रहेको मुहानबाट पानी ल्याएर प्रत्येक घरमा वितरण गरिएको हो।













