नेपालको वैदेशिक व्यापार घाटा १४ खर्बमाथि, डेनमार्क र अफगानिस्तानसँगको व्यापार नाफामा

काठमाडौं। गत आर्थिक वर्ष २०८०/८१ मा नेपालले कूल १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गर्दा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख रुपैयाँ घाटा व्यहोरेको छ। भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारको तथ्यांकअनुसार कुल १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख रुपैयाँको वस्तु आयात गर्दा १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँको निर्यात गरेको हो।

Advertisement 1

विभागको तथ्यांकअनुसार अघिल्लो आवको तुलनामा आयात, निर्यात र समग्र वैदेशिक व्यापार घटेको छ। अघिल्लो आव २०७९/८० मा नेपालले १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख रुपैयाँ बराबरको आयात र १ खर्ब ५७ अर्ब १४ करोड ६ लाख रुपैयाँ बराबरको निर्यात गर्दा कूल वैदेशिक व्यापार १७ खर्ब ६८ अर्ब ८७ करोड २४ लाख पुगेको थियो। अघिल्लो आवको वैदेशिक व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड ९१ लाख बराबर थियो।

अघिल्लो आवको तुलनामा गत आवमा आयात एक दशमलव १६, निर्यात तीन दशमलव ०३, समग्र वैदेशिक व्यापार एक दशमलव ३३ र वैदेशिक व्यापार घाटा शून्य दशमलव ९६ प्रतिशतले घटेको हो। गत आवको आयात–निर्यात अनुपात १० दशमलव ४५ प्रतिशत बराबर छ। गत आवमा सबैभन्दा धेरै भारतसँग व्यापारघाटा देखिएको छ। भारतबाट ९ खर्ब ९६ अर्ब ६८ करोड रुपैयाँको वस्तु आयात हुँदा १ खर्ब ३ अर्ब १७ करोड रुपैयाँ बराबर मात्रै निर्यात भएको छ। जसबाट भारतसँगको मात्र कूल व्यापार घाटा ८ खर्ब ९३ अर्ब ५० करोड रुपैयाँ बराबर छ।

Advertisement 2

नेपालको अर्को छिमेकीमुलुक चीनसँग २ खर्ब ९६ अर्ब १८ करोड ६० लाख बराबर व्यापार घाटा छ। चीनबाट २ खर्ब ९८ अर्ब ७७ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा २५ अर्ब ८८ करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको हो। नेपालले बढी व्यापार घाटा व्यहोरेका मुलुकहरुमा संयुक्त अरब ईमिरेट्स तेस्रो, युक्रेन चौथो र मलेसिया पाँचौं स्थानमा छ।

व्यापार नाफाको अवस्था हेर्दा नेपालले डेनमार्कसँगको व्यापारमा सबैभन्दा बढी नाफा देखिएको छ। गत आवमा नेपालले डेनमार्कबाट ३५ करोड ४५ लाख रुपैयाँ बराबरको वस्तु आयात गर्दा ८२ करोड २१ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ। जसबाट ४६ करोड ७५ लाख रुपैयाँ व्यापार नाफा देखिएको हो।

Advertisement 3

बढी व्यापार नाफा देखिएका मुलुकमा अफगानिस्तान दोस्रो स्थानमा छ। गत आवमा नेपालले अफगानिस्तानबाट २ करोड ७६ लाख बराबरको वस्तु आयात गर्दा ४९ करोड ३६ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ। जसबाट अफगानिस्तानसँग ४६ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार नाफा भएको छ।

प्रकाशित :२०८१ श्रावण ८, मंगलवार १२:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry