आज घूसपैठको विषयमा

कुनै आधिकारिक संगठन वा समूहमा अधिकार विनाको व्यक्ति वा समूहको प्रवेशलाई घूसपैठिया भनिन्छ। यसरी गैर कानूनी तवरबाट आफ्नो स्वार्थ पूरा गर्न वैधानिक समूहमा प्रवेश गर्ने कार्यलाई घूसपैठ भनिन्छ।
Advertisement 1
यो शब्दको प्रयोग अन्य व्यावसायीक क्षेत्रमा समेत प्रयोग हुने भएता पनि खासगरी यसको प्रयोग राजनीतिक क्षेत्रमा भएको पाईन्छ। धमिलो पानीमा माछा मार्न पल्केकाहरू यस्ता अवसरहरूलाई आफ्नो स्वार्थमा प्रयोग गर्न खप्पीस हुन्छन् तर पनि सत्तामा रहे बसेकाहरूले आफ्नो कमी कमजोरी लुकाउन पनि यो शब्दको प्रयोग गरेको पाईन्छ। घूसपैठहरू स्वार्थी व्यक्तिको प्रवेशमा मात्र सीमित नभएर स्वार्थी प्रवृत्तिको प्रवेशबाट पनि हुने गर्छन्।
नेपालको राजनीतिक वृत्तमा पनि खराब व्यक्ति र खराव प्रवृत्ति दुवैको प्रवेश सहज हुदा यो क्षेत्र विषाक्त हुदै गएको हो।
Advertisement 2
लामो समय देखि नेपालको राजनीतिक क्षेत्रलाई घूसपैठीयाले कब्जा गरेको हुदा यसले सकारात्मक नतिजा दिन सकेको थिएन। नेपालको राजनीतिक क्षेत्र पेशा वा व्यवसाय बन्दै गएको थियो।विदेशीको संगीतमा सत्तालाई म्यूजिकल चेयरको खेल बनाईयो। यो क्षेत्रमा तस्कर, बिचौलिया, नाताको प्रवेश सहज हुदै गै यसैको कब्जामा राजनीति पर्यो। यो विकृत्तिलाई सुधारौ भन्नेहरूलाई नेत्तृत्त्वले पाखा लगाउदै गए। यो परिस्थितिले सीमा नाघ्न थाले पछि कान्छो पुस्ताले आफ्नो भविष्य खोज्न जेन- जी मा आबद्ध भै आन्दोलन गर्नु पर्ने परिस्थिति बन्यो र भदौ २३, २०८२ मा यो समूह सडकमा आयो।
राजनीतिक क्षेत्रमा हालीमुहाली गरेर पुस्तौनीको बन्दोवस्त गरीरहेको सत्ताघारी समूहले यो आन्दोलनलाई हाहु भन्दै कर्कलोलाई बन्चरो भन्ने उखान जस्तै यी कलिला समूह उपर गोली वर्षाएर हत्या गर्यो। त्यसको भोली पल्ट राज्यका संरचनाहरू, ब्यक्तिका सम्पतिहरू, औद्योगिक घरानाहरू सबै आगजनीबाट खरानीमा परिणत हुन पुगे तर राज्य र सत्ताको जिम्मा लिएका पात्रहरूले यसलाई समेत घूसपैठियाहरूको जिम्मा लगाएर उम्कन खोज्दैछन्।
Advertisement 3
हो, राज्यको यस किसिमको हानी नोक्सानी पक्कै पनि आन्दोलनरत जेन-जी समूहबाट भएको हैन र यो आन्दोलनको बाढीमा अवैध रूपमा प्रवेश गरेर यो क्षति घूसपैठियाहरूले गरे कै हुन् तर यी घूसपैठियाहरू जन्माएको, हुर्काएको कसले हो? तस्कर, कालाबजारिया,, चोर, डांका, गुण्डा, अपराधीलाई राजनीतिमा प्रवेश गराउने को हो? राज्यको सूचना र सन्चारलाई नियन्त्रणमा राखेको कसले हो? घूसपैठिया चिन्नु पर्ने दायित्व कसको हो? धमिलो पानीमा माछा मार्न सहज हुन्छ तर पानी धमिलो बनाएको कसले हो? राज्य सन्चालन गरेर सत्तामा बस्नेको केही जिम्मेवारी हुदैन? देश जलिरहदा पनि नीरो बनेर धम्की दिनेहरूले नै यसको जिम्मा लिनै पर्छ। यो काम विचौलियाले नै गरेको हो र विचौलियाको नेत्तृत्त्व सत्ता मै बस्नेले गरेको हो, त्यसैले जेन-जीको हत्या र राज्यको नोक्सानीको जिम्मेवारी तिम्रै थाप्लोमा जान्छ।
हुन त यसको यत्य तथ्य छानविनको लागि आयोग बनेको छ। यसरी आयोग बन्ने र प्रतिवेदन बुझाउने र प्रतिवेदन थन्क्याउने पुरानै परिपाटी हो। अहिले नै यो आयोग उपर पूर्वाग्रही नबनौ तर यो आयोग पनि त्यस्तै हुने हो भने यो कर्मकाण्डी आयोगको पनि काम छैन। यो आयोगले काम गर्दा समय लाग्न सक्छ तर यी अभियुक्तहरू फेरि डूक्रन थालेका छन्। यिनलाई नियन्त्रणमा लिनका लागि यिनैले बनाएका कानून पर्याप्त छन्। अहिले बनेको अन्तरिम सरकार सॅग आंट र साहस छ भने यिनीहरूलाई २४ घण्टा भित्र नियन्त्रणमा लिएर कानून बमेजिम कारवाही अगाडि बढाउन सक्छ। लामो समय मुद्दाको अनुसन्धानको अनुभव भएका वरिष्ठ अधिवक्ता गृह मन्त्री छन्, सर्वोच्चमा बसेर राजहंशको भूमिका निभाई सकेकी न्याय मूर्ति सरकार प्रमुख छन्, यस्तो परिस्थिति र वातावरण हुदा हुदै यी अपराधीहरूले खुल्लं खुल्ला शान देखाउदै हिड्छन् भने नेपालीले कहिले पाउछन् न्याय?
अन्त्यमा, यो र त्यो बहानामा जेन-जीको मागलाई पन्छाउन मिल्दैन। लामो समय देखि देशमा देखिएको अन्याय,अत्याचार र भ्रष्टाचारको निष्पक्ष छानविन गरेर दोषीलाई कारवाही हुनै पर्छ, वर्तमान सम्विधान र ऐन कानूनलाई समय सापेक्ष बनाईनु पर्छ,यस आन्दोलनका अपराधीलाई कारवाही गरिनु पर्छ। यी सबैको लागि सक्षम सरकार बनाईनु पर्छ जसको लागि निष्पक्ष चुनावको माध्यमबाट सही प्रतिनिधि चुनिएर आउनु पर्छ तर यो वातावरण बनाउन यी बिचौलियाको साथ पाएर मुलुक लुट्ने हत्यारालाई कठघरामा पुर्याउनु पर्छ।