८ लाख ३९ हजार युवाले लिए श्रम स्वीकृति, १८ हजार २२१ वटा उजुरी दर्ता

काठमाडौं: आर्थिक वर्ष २०८१/०८२ मा वैदेशिक रोजगारीको लागि ८ लाख बढी नेपाली युवाले श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको १ वर्षे प्रगति विवरण अनुसार वैदेशिक रोजगारीको लागि कूल ८ लाख ३९ हजार २ सय ६६ श्रम स्वीकृति लिएको उल्लेख छ। स्वीकृति लिनेमा ७ लाख ४४ हजार ८ सय ११ जा पुरुष र ९४ हजार ४५५ जना महिला छन्। विभागमा अनुसार नयाँ श्रम स्वीकृति ५ लाख ५० हजार रहेको छ भने पुनः श्रम स्वीकृति ३ लाख ३३ हजार रहेको छ। वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति नयाँ ६० प्रतिशत रहेको छ भने पुनः श्रम स्वीकृति लिएर जाने कामदारको संख्या ४० प्रतिशत रहेको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।
नयाँ व्यक्तिका रूपमा पहिलो पटक विदेश जाने स्वीकृति प्राप्त गर्नेको संख्या भने १ लाख २० हजार भन्दा बढी छ।
Advertisement 1
अघिल्लो आवमा वैदेशिक रोजगारका लागि कूल १ हजार ७७५ जना मेनपावर व्यवसायी रहेकोमा आव २०८१/०८२ मा १ हजार ६९ व्यवसायीहरू सक्रिय रहेका छन्। नेपाल सरकार र इजरायलबीचको जिटुजी सहमति अनुसार सन् २०२३ मा नयाँ प्रक्रिया सुरु गरिएको थियो। तर प्रतिवेदन अनुसार आर्थिक वर्षभरिमा इजरायल गएका श्रमिकको संख्या ५९१ रहेको छ । यस्तै, कोरियातर्फ इपीएस प्रणालीमार्फत ११ हजार ५ सयभन्दा बढी नेपाली गएका छन् । वैदेशिक रोजगारमा रहेका नेपालीले झेल्ने १८ हजार २२१ वटा उजुरी दर्ता भएका छन् । उजुरीको आधारमा विभागले २८ करोड ७३ लाख रुपैयाँ भन्दा बढी क्षतिपूर्ति उपलब्ध गराएको छ । पीडित मुद्दा तथा अनुसन्धान शाखाले ५ हजार ३३७ उजुरीमा अनुसन्धान गरी २ हजार २१३ उजुरी फछ्र्यौट गरेको छ। त्यसक्रममा १२ करोड रुपैयाँभन्दा बढी रकम असुल गरेको उल्लेख गरिएको छ ।
५७ वटा तालिम प्रदायक संस्थाको कारोबार बन्द म्यान पावर कम्पनीको नियमनमा विभागले गत वर्ष ५७२ वटा अनुगमन गरेको छ।
त्यसमध्ये ५७ वटा तालिम प्रदायक संस्थाको कारोबार बन्द गरिएको छ । १४१ वटा उजुरीमध्ये धेरैमा कारवाही अगाडि बढाइएको छ।
म्यान पावर कम्पनीले अनुमति प्राप्त संस्थाले राखेको धरौटीमा असार मसान्तसम्म १ अर्ब रुपैयाँभन्दा बढी मौज्दात देखिएको छ । ५ अर्ब रुपैयाँ धरौटी रकम मुद्दती खातामा राखिएको छ। विभागको कुल वार्षिक बजेट १ अर्ब २० करोड रुपैयाँ जति भए पनि त्यसको ५५.९१ प्रतिशत मात्र खर्च भएको छ। मुख्य खर्च प्रशासनिक, अनुगमन तथा उद्धारका लागि भएका छन्। गत आर्थिक वर्षमा सबैभन्दा धेरै श्रमिकहरू ले श्रम स्वीकृति लिने (Top 10) उत्कृष्ट दश मुलुकहरू युएई, साउदी अरेबिया, कतार, कुवेत, मलेसिया, रोमानिया, जापान, कोरिया, क्रोएसिया र बहराईन छन्।
Advertisement 2
पत्रकार सम्मेलनमा बोल्दै विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले विगत ५ वर्षमा ३५ लाख १६ हजार ९६५ जनाले श्रम स्वीकृति लिएको बताए। हालसम्म १ हजार ६ सय ८७ संस्थाहरूले इजाजत प्राप्त गरेकोमा २०८२ असार मसान्तसम्म २१२ वटा संस्थाहरू नविकरण भएका छन्। उनले श्रम स्वीकृतिको सेवा प्रवाहलाई ‘वर्क प्रमिट अन दि सेम डे’को पूर्ण कार्यान्वयन भइरहेको पनि उनले बताए।
उनले वैदेशिक रोजगारीको क्षेत्रलाई विचौलियामुक्त गरी शून्य सहनशीलताको नीतिलाई विभागले पूर्ण रुपमा अंगिकार गरेको पनि बताए।
महानिर्देशक भट्टराई वैदेशिक रोजगरासम्बन्धी कानुनलाई संशोधन गरी सरल, सहज र समय सापेक्ष बनाउने तथा वैदेशिक रोजगारीमा जान लाग्ने समय र लागत घटाउने विभागको अगामी योजना रहेको पनि सार्वजनिक कार्यक्रमान सञ्चारकर्मीसँग उल्लेख गरे।