अनलाइनबाट नागरिकताको सिफारिस दिँदै सिमकोट

सिमकोट। जिल्ला सदरमुकामस्थित सिमकोट गाउँपालिकाले सोमबारदेखि अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस दिन सुरु गरेको छ।
Advertisement 1
नागरिकता प्रमाणपत्रसम्बन्धी प्रक्रियालाई थप व्यवस्थित र प्रविधिमा आधारित बनाउने उद्देश्यका साथ सिमकोट गाउँपालिकाले वडा–४ बुराउँसेबाट यो सेवा दिन थालेको हो।
सोमबार पहिलो दिन एक महिला र दुई पुरुषलाई अनलाइनमार्फत सिफारिस प्रदान गरिएको गाउँपालिकाका सूचना अधिकारी छिरिङ युङ्डुङ लामाले बताए। उनका अनुसार गाउँपालिकाले केन्द्रिकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सिसिआइएमएस) अनुसार सिफारिस दिन थालेको हो। यो प्रणाली सुरु भएपछि सिमकोटले सेवाग्राहीबाट आवश्यक कागजपत्र लिएर अनलाइनमार्फत सिफारिस गर्ने उनले जानकारी दिए।
Advertisement 2
अनलाइन प्रणाली सुरु भएपछि अभिलेखीकरणमा सहजता, सेवा प्रवाहमा छिटोछरितो र प्रविधिमैत्री सेवा प्रवाह हुने, झुटो र कीर्ते विवरण भरेर नागरिकता लिने कार्य अन्त्य हुने गाउँपालिका सूचना अधिकारी लामाले बताए। विद्युतीय व्यवस्थाले सबै प्रणालीलाई एकीकृत गर्न र दस्तावेज कायम गर्न सहज हुनेछ। वडा–४ बुराउँसेबाट सुरु भएको यो सेवा अब प्रत्येक वडामा लागू हुने बताइएको छ।


								





 
                            
 
                            
 
                            
 
                            

