काठमाडौं प्रशासनको नयाँ पहलः एक सातामै घरमा पासपोर्ट, सार्वजनिक जग्गामा कडा निगरानी

काठमाडौं। काठमाडौं जिल्लामा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन डिजिटल प्रणालीलाई प्राथमिकताका साथ अगाडि बढाएको छ। डिजिटलाइजेशनलाई विशेष जोड दिँदै विभिन्न सार्वजनिक सेवाहरूलाई प्रविधिमैत्री बनाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिए।

Advertisement 1

इकर्मचारीसँग कुरा गर्दै पौडेलले राहदानी (पासपोर्ट) वितरण प्रणालीमा पनि सुधार गरिएको बताए। उनले भने, ‘पासपोर्ट हुलाक सेवामार्फत सेवाग्राहीको घरमै पु¥याउने व्यवस्था विस्तार गरिएको र काठमाडौंमा वितरण भएको राहदानी करिब एक साताभित्र सेवाग्राहीसम्म पुग्ने लक्ष्य राखिएको छ। हालसम्म १,१२७ वटा राहदानी वितरण गरिएको छ।‘

जेनजी आन्दोलनपश्चात् प्रशासनले हरेक क्षेत्रमा कुपन सिस्टम र प्रविधिमैत्री सेवालाई गम्भीर रूपमा अगाडि बढाइएको बताउँदै पौडेलले विभिन्न स्थानमा रहेको जग्गाहरूलाई पनि फिर्ता ल्याउने काम भइरहेको बताए।

Advertisement 2

नेपाल चर्खा प्रचारक गान्धी महागुठीसँग सम्बन्धित करिब १३५ आना जग्गा निकै कम मूल्यमा उपलब्ध गराइएको भन्ने विषयलाई पनि गम्भीर रूपमा अध्ययन भइरहेको उनको दाबी छ।

‘काठमाडौं, मोरङ, धनुषा, बनेपालगायत विभिन्न स्थानमा रहेका महागुठीका जग्गाहरूको चरम दुरुपयोग भएको भन्ने कुरा आइरहेको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सदुपयोग सुनिश्चित गर्न सम्बन्धित निकायले प्रभावकारी अनुगमन भइरहेको छ’, उनले भने।

Advertisement 3

यस्तै, संगठनका बोर्डहरू सरकारी कार्यालयबाट हटाउने प्रक्रिया अघि बढाइएको पौडेलले बताए। सार्वजनिक सम्पत्तिको संरक्षण, प्रशासनिक सुधार तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन तीव्र गतिमा अनुगमनलाई निरन्तरता दिइएको उनले उल्लेख गरे।

प्रशासनिक सेवा भइरहेको चुस्तताले आम नागरिकमा पनि प्रभाव पर्ने भएकाले आफूहरूले निरन्तर यसतर्फ काम गरिरहेको पौडेलले बताए।

‘आम नागरिकले पनि हामीलाई राम्रै साथ दिनुभइरहेको छ। उहाँहरूमाथि सरल छरितो सेवा प्रवाह गर्न हामी गम्भीर छौं’, पौडेलले भने, ‘यसमा थप काम भइरहेका छन्। ‘

काठमाडौं जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीमैत्री, प्रविधिमैत्री र छिटोछरितो सार्वजनिक सेवा प्रवाहको उदाहरण प्रस्तुत गरेको भन्दै उनले देशभर घरमै वितरण गरिएका नागरिकता लगायतका सेवामध्ये करिब ३० प्रतिशत सेवा काठमाडौं जिल्लाबाट मात्रै प्रदान भएको दाबी गरे।

उनका अनुसार कार्यालयमा Public Announcement System (PAS) मार्फत सेवाग्राहीको पालो तथा सेवा प्रक्रियालाई डिजिटल रूपमा ट्र्याक गरिन्छ, जसले सेवाग्राहीलाई अनावश्यक प्रतीक्षा र अन्योलबाट मुक्त बनाएको छ। सम्पूर्ण कार्यालय क्षेत्रमा वाइफाइ नेटवर्क उपलब्ध गराइएकाले सेवाग्राहीलाई सहज रूपमा अनलाइन सेवामा पहुँच पुगेको छ।

यसैगरी कार्यालयका अधिकांश सेवा १५ देखि २० मिनेटभित्रै सम्पन्न हुने व्यवस्था गरिएको छ। साथै पिउने पानी, हेल्प डेस्क, सहायता कक्ष, असहाय कक्ष तथा स्तनपान कक्षजस्ता आधारभूत सुविधाहरू व्यवस्थित रूपमा सञ्चालनमा रहेको प्रमुख पौडेलले बताए।

’सेवाग्राहीले प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लाई सहज रूपमा भेटेर आफ्ना गुनासा तथा सुझाव राख्न सक्ने व्यवस्था गरिएको छ’, उनले भने।

सेवा प्रवाह, व्यवस्थापन र प्रविधिको प्रभावकारी प्रयोगका कारण यहाँ पुग्ने धेरै सेवाग्राहीलाई यो कार्यालय कुनै विकसित देशको आधुनिक सरकारी कार्यालयभन्दा कम अनुभूति नहुने गरि काम भइरहेको उनले बताए।

प्रकाशित :२०८३ असार ३१, बुधबार १२:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry