बुद्ध एयरले निर्धारण गरेका ५ वटै माउन्टेन फ्लाइट रद्द
काठमाडौं। बुद्ध एयरको पर्वतीय उडान (माउन्टेन फ्लाईट)मा गएको ‘नाईन एन एजेएस’ कलसाईन विमानमा प्राविधिक समस्या देखिएको छ। बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार विमानमा प्राविधिक समस्या देखिएपछि विमानलाई फर्काएर सुरक्षित अवतरण गरिएको छ।
Advertisement 1
अहिले उक्त विमानको प्राविधिक टोलीले जाँच गरिरहेको छ। ‘माउन्टेन फ्लाइटमा गएको विमानको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएपछि विमानलाई सुरक्षित अवतरण गरेर अहिले प्राविधिक मर्मत भइरहेको छ,’ उनले भने, ‘आज मौसम बिग्रिएर हिमाल नदेखिएकाले कुनै पनि माउन्टेन फ्लाइट भएनन्।’
आज बिहान माउन्टेन फ्लाईट, उडान नम्बर १०० विमानको ‘कल साईन नाइन एन एजेएस’ विमानको दायाँ इन्जिनमा इण्डिकेटर समस्या देखिएकाले विमान काठमाडौंमा सुरक्षित अवतरण गरिएको उनको भनाइ थियो। ‘उक्त विमानलाई बुद्ध एयरको प्राविधिक टीमले चेकजाँच गरिरहेको छ,’ बुद्ध एयरद्वारा जारी सूचनामा भनिएकोछ। बुद्ध एयरको आजको माउन्टेन फ्लाइटका लागि पाँच उडान निर्धारण गरिएकामा सबै उडान रद्द भएका छन्। टिकट लिएका यात्रुलाई अर्को उडानमा हिमालसम्म लगिने कम्पनीले जनाएको छ।
Advertisement 2
काठमाडौंबाट माउन्टेन फ्लाईटमा गएका विमान हिमाल नदेखिएपछि फर्किएका सूचनाअधिकारी कर्णले बताए। हिमाली भेगमा लागेको बाक्लो तुवालोका कारण आज कुनै पनि माउन्टेन फ्लाइट नभएको कम्पनीले जनाएको छ।
हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेकोले देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।