पर्यावरण चेतनाको महाकाव्यात्मक प्रयोग ‘विषालु धरती’

 

Advertisement 1

प्रा.डा. देवी नेपाल

आजभन्दा झन्डै आठ दशक अगाडि (वि.सं. २००२ मा) महाकवि लक्ष्मीप्रसाद देवकोटाले आफ्नो ‘शाकुन्तल’ महाकाव्य प्रकाशनका सन्दर्भमा नेपालमा महाकाव्यको अवस्था आइसल्यान्डको सर्पजस्तै भएको कुरा उल्लेख गरेका थिए । तर आज एक शतक पनि नबित्दै नेपाली महाकाव्यको संख्या झन्डै ४५० हुन पुगेको छ । वर्तमान युगलाई हेर्दा यो युग शास्त्रीय छन्दको सशक्त पुनर्जागरणको युग हो । महाकाव्य लेखनको उत्कर्ष काल हो भनी ठोकुवा गर्न मिल्ने साक्ष्यहरू यस समयमा प्रशस्त फेला परेका छन् ।

Advertisement 2

समग्र नेपाली कविता र महाकाव्यको इतिहासलाई हेर्दा यसले २६० वर्षको यात्रा पूरा गरिसकेको देखिन्छ । हालसम्मको खोजीअनुसार नेपाली लोकजीवनमा गाइने गीत र गाथाहरूको पृष्ठभूमिमा जन्मिएको नेपाली कविताको इतिहासमा वि.सं. १८२६ को सुवानन्द दासको ‘पृथ्वीनारायण’ कवितालाई पहिलो नेपाली कविता र वि.सं. १८३९ तिर उदयानन्द अर्यालद्वारा लिखित ‘पृथ्वीन्द्रोदय’लाई नेपालीमा लेखिएको पहिलो महाकाव्य मानिँदै आइएको थियो । तर प्रा. मोहनप्रसाद खनालको अनुसन्धानबाट प्राप्त वि.सं. १८२२ को कवि रमेश मल्लको ‘मदनदीपिका’ महाकाव्य र उनैका १८१८ तिरका फुटकर कविताको जानकारीपछि ऐतिहासिक तथ्यमा केही वर्षहरू थपिएका छन् ।

यसका आधारमा हेर्दा कवि रमेश रमेश मल्लको वि.सं. १८१८ को फुटकर कविता पहिलो नेपाली कविता हो भने उनैको वि.सं. १८२२ को ‘मदनदीपिका’ पहिलो नेपाली महाकाव्य हो । यस तथ्यलाई हेर्दा नेपाली कविताको शुभारम्भ नै शास्त्रीय छन्दबाट भएको देखिन्छ । पर्वतका कवि रमेश मल्लद्वारा वि.सं. १८२२ मा लिखित ‘मदनदीपिका’ महाकाव्यमा समेटिएको तर वि.सं. १८१८ मा लेखिएको पहिलो नेपाली छन्दकविता यस प्रकारको रहेको छ-

Advertisement 3

तैले चावल भाव मान घतनु पाध्या रिशानी भयो

सारा द्रोहि दरेण मासु कतिला भादो महा छारि जा

कांक्षी जेठमहा म्यरा ग्वथ गया भैठी बसौला भला

भोली लाज परेन यत्न गरदा स्वास्नी कुरा हो ह्यर ।

उल्लिखित साक्ष्यका आधारमा हेर्दा नेपाली छन्दकविताले २०६२ वर्षको र नेपाली महाकाव्य सिर्जनाले २५८ वर्षको यात्रा पूरा गरिसकेको देखिन्छ । त्यस अवधिदेखि आजसम्म आइपुग्दा नेपाली छन्दकविता यात्रामा कहिले अत्यन्त उत्साहपूर्ण परिवेश निर्माण भएको देखिन्छ, कहिले सङ्घर्षपूर्ण अवस्था देखा पर्छ भने कहिले नवजागृतिका उज्याला पाटाहरू पनि देखा पर्दछन् । नेपाली छन्दकविताको यति लामो इतिहासलाई कालक्रमिक रूपमा समीक्षा गर्दा पाँच चरणमा राखेर हेर्न सकिन्छ ।

(क) प्रवर्तन काल : थालनीदेखि भानुभक्त आचार्यको आगमनसम्म

(ख) विकास काल : भानुभक्तदेखि मोतीराम हुँदै लेखनाथ पौड्यालको

आगमनसम्म

(ग) उत्कर्ष काल : लेखनाथदेखि मोहन कोइरालाको आगमन (२०१७) सम्म

(घ) सङ्क्रमण काल : मोहन कोइरालादेखि २०५० को दशकसम्म

(ङ) पुनर्जागरण काल : २०५० को दशकको प्रारम्भदेखि हालसम्म

नेपाली छन्दकविताको यस यात्रामा नेपाली महाकाव्य पनि सँगसँगै जोडिएर अगाडि बढेको देखिन्छ । खण्डकाव्यभन्दा ठुला र बृहत्तर महाकाव्यभन्दा साना ललित वा कलात्मक महाकाव्यहरूलाई कविताको बृहत् रूप भन्ने गरिन्छ । कविताले मानवजीवनको सिङ्गो अभिव्यक्ति दिन थालेपछि त्यो कविताको बृहत् रूप बन्दछ, जसलाई ‘सर्गबन्ध’ पनि भन्ने गरिन्छ । कविताको बृहत् रूपमा ललित महाकाव्यहरू पर्दछन्, जसमा एउटा जीवनको सिङ्गो चित्रण हुने गर्छ ।

महाकाव्य सर्गमा बाँधिएको हुनुपर्छ, त्यहाँ एउटा सद्वंश वा क्षत्रिय कुलको, धीरोदात्त स्वभावको, शूरवीर नायक हुनुपर्छ, महाकाव्यको कथावस्तु इतिहास प्रसिद्ध वा स्थापित विषयमा आधारित हुनुपर्छ, यो आठ सर्ग वा अध्यायभन्दा बढी हुनुपर्छ भनी आचार्य विश्वनाथले स्पष्ट उल्लेख गरेका छन् तापनि वर्तमानमा लेखिने महाकाव्यहरूमा यी सबै कुराको अक्षरशः पालना सम्भव छैन ।

यसमा प्रकृति, संस्कृति र परम्पराका विविध अवस्था र जीवनका अनेक सन्दर्भको कलात्मक चित्रण हुन्छ । तुलनात्मक रूपमा खण्डकाव्यमा भन्दा महाकाव्यमा आख्यानको विस्तार हुन्छ तर न खण्डकाव्यलाई तन्काउँदा महाकाव्य बन्छ न महाकाव्यलाई छोट्याउँदा खण्डकाव्य बन्छ । यी दुवै आफैँमा पूर्ण र स्वतन्त्र हुन्छन् ।

उल्लिखित ऐतिहासिक सन्दर्भलाई हेर्दा वि.सं. १८२२ को रमेश मल्लको ‘मदनदीपिका’ नेपाली महाकाव्यको पहिलो रूप हो भने १८३९ तिर उदयानन्द अर्यालद्वारा लिखित ‘पृथ्वीन्द्रोदय’ दोस्रो रूप हो । यसपछि कृष्णभक्ति धाराका वसन्त शर्माको ‘कृष्णचरित्र’मा महाकाव्यको आभास मात्र पाइन्छ तर रामभक्ति धाराका भानुभक्त आचार्यको ‘रामायण’ भने नेपालीमा लेखिएको पूर्ण र लोकप्रिय महाकाव्य मानिन्छ ।

यसपछि एकैपटक महाकवि लक्ष्मीप्रसाद देवकोटासम्म आइपुग्नुपर्छ । देवकोटाका ‘शाकुन्तल’, ‘सुलोचना’लगायतका आधा दर्जन स्वच्छन्दतावादी महाकाव्यहरू, सोमनाथ सिग्द्यालको ‘आदर्श राघव’, बालकृष्ण समको ‘चिसो चुल्हो’जस्ता परिष्कारवादी महाकाव्यहरू, मोदनाथ प्रश्रितको ‘मानव’जस्ता वैचारिक महाकाव्यहरू र जगदीश शमशेर राणाको ‘नरसिंह अवतार’जस्ता प्रयोगवादी महाकाव्यहरूले यस परम्परालाई निरन्तरता दिए ।

२०५० को दशकपछि भने नेपाली महाकाव्यमा पनि पुनर्जागरण कालको थालनी भयो । त्यसपछिका अढाइ दशकमा नेपाली महाकाव्यले सङ्ख्यात्मक र गुणात्मक दुवै दृष्टिले उच्चता हासिल गरेको छ । ‘मदनदीपका’देखि हालसम्ममा आइपुग्दा नेपालीमा झन्डै ४५० ओटा महाकाव्यहरू लेखिइसकेका छन् । लमजुङका कवि श्रीकृष्ण न्यौपानेद्वारा लिखित प्रस्तुत ‘विषालु धरती’ उल्लिखित नेपाली महाकाव्य परम्पराको सबैभन्दा पछिल्लो प्राप्ति हो । नेपाली कविताको पछिल्लो प्रहरमा अत्यन्त सशक्त रूपमा देखापर्नुभएका कवि श्रीकृष्ण न्यौपानेमा आशुकवित्व, द्रुतकवित्व र छन्द प्रयोगगत व्यापकताको लोभलाग्दो उपस्थिति देखिन्छ ।

उहाँको पछिल्लो कृति ‘विषालु धरती’ महाकाव्यभित्र प्रवेश गर्नुभन्दा अगाडि महाकाव्यसम्बन्धी केही पूर्वीय, पाश्चात्य र नेपाली मान्यताहरूका बारेमा विमर्श प्रस्तुत गर्नु सान्दर्भिक हुन जान्छ ।

‘महत्’ र ‘काव्य’ दुईओटा शब्दको मिलनबाट ‘महाकाव्य’ शब्दको निर्माण भएको हो । ‘महत्’को अर्थ ठुलो, उच्च, महान् वा विशाल भन्ने हुन्छ भने कविको कर्मलाई ‘काव्य’ भनिन्छ । अर्थात् कविको महान् कार्य नै महाकाव्य हो । कवितामा प्रवेश गरेको आख्यानले जब जीवन र जगत्को व्यापकतालाई समेट्न थाल्छ, तब त्यो महाकाव्य बन्दछ । महाकाव्यका बारेमा पूर्वीय तथा पाश्चात्य विभिन्न विद्वान्हरूले व्यापक रूपमा चर्चा गरेका छन् ।

इसाको छैटौँ शताब्दीका आचार्य भामहले आफ्नो कृति ‘काव्यालङ्कार’मा महाकाव्य सर्गबद्ध हुनुपर्ने, महान् घटना र महान् चरित्रको प्रयोग हुनुपर्ने, अलङ्कारसहितका विशिष्ट (अग्राम्य) शब्द र अर्थको प्रयोग हुनुपर्ने, सत्यको पक्षमा लेखिएको हुनुपर्ने, सङ्कल्प, सन्देश आदिको प्रयोग र नायकको उतारचढाव देखिनुपर्ने र अनेकौँ मोडहरूका साथै पञ्चसन्धिको प्रयोग हुनुपर्ने विचार राखेका छन् ।

आठौँ शताब्दीका आचार्य दण्डीले आफ्नो कृति ‘काव्यादर्श’मा महाकाव्य सर्गबद्ध हुनुपर्ने, आशीर्वाद, नमस्कार वा वस्तुनिर्देशमूलक मङ्गलाचरणबाट यसको थालनी हुनुपर्ने, सत्यमा आश्रित इतिहास प्रसिद्ध कथावस्तु हुनुपर्ने, चतुर्वर्ग (धर्म, अर्थ, काम, मोक्ष) फल प्राप्तिको उद्देश्य हुनुपर्ने, चतुर र उदात्त नायक हुनुपर्ने, नगर, शैल, चन्द्रोदय, उद्यान, जलक्रीडा, रतिक्रीडा आदिको वर्णन हुनुपर्ने, संयोग, विप्रलम्भ, बालजन्म, नायकको आरोह–अवरोह आदिको चर्चा हुनुपर्ने, अलङ्कारको प्रयोग, रसभावको निरन्तरता, पञ्चसन्धियुक्त, लोकरञ्जक र युगौँयुगसम्म स्थायी वा अमर हुन सक्ने हुनुपर्ने भन्ने मान्यतालाई अगाडि सारेका छन् ।

यसरी नै बाह्रौँ शताब्दीका हेमचन्द्रले महाकाव्य प्रायः पद्यबद्ध हुनुपर्ने, संस्कृत, प्राकृत वा जनभाषामा विभिन्न कथानकलाई उनेर अगाडि बढ्नुपर्ने, शब्दवैचित्र्य र अर्थवैचित्र्यले पूर्ण हुनुपर्ने र  छन्दोबद्ध र लोकरञ्जक हुनुपर्ने मान्यतालाई अगाडि सारेका छन् ।

चौधौँ शताब्दीका आचार्य विश्वनाथले महाकाव्यका बारेमा विस्तृत र बहुमान्य सिद्धान्तको स्थापना गरेका छन् । उनको ‘साहित्यदर्पण’ नामक ग्रन्थमा अनुष्टुप् छन्दका दशओटा श्लोकमा महाकाव्यका लागि आवश्यक सबै कुराहरूलाई समेटेका छन्, जसलाई यसरी हेर्न सकिन्छ—

—           महाकाव्य सर्गमा बाँधिएको हुनुपर्छ ।

—           महाकाव्यमा सद्वंशमा जन्मिएको, क्षत्रिय कुलको, धीरोदात्त स्वभावको, शूरवीर एउटा नायक हुनुपर्छ ।

—           यसमा एउटै कुल, वंश वा बहुकुल वा परम्पराको चित्रण हुनुपर्छ ।

—           यसमा शृङ्गार, वीर र शान्तमध्ये एउटा अङ्गी रस र अरू अङ्ग रसका रूपमा आउनुपर्छ ।

—           धर्म, अर्थ, काम र मोक्ष चतुर्वर्ग फलप्राप्तिमध्येमा एउटा फलप्राप्ति अनिवार्य हुनुपर्छ ।

—           सुरुमा आशीर्वाद, नमस्कार र वस्तुनिर्देश कुनै पनि प्रकारको मङ्गलाचरण हुनुपर्छ ।

—           यसमा खराब पात्र र प्रवृत्तिको निन्दा र सज्जनको प्रशंसा हुनुपर्छ ।

—           महाकाव्यमा धेरै छोटा पनि होइन र धेरै लामा पनि होइन, ठिक्कका आठ सर्गभन्दा माथिको संरचना अनिवार्य छ ।

—           एउटै छन्दको निरन्तरता वा विभिन्न छन्दको प्रयोग गरे पनि सर्गको अन्त्यमा भावी सर्गको कथाको सूचना दिइएको हुनुपर्छ ।

—           सन्ध्या, सूर्य, चन्द्र, रात्रि, प्रातःकाल आदि प्राकृतिक परिवेशको सुन्दर वर्णन हुनुपर्छ ।

—           संयोग, विप्रलम्भ, सन्तानप्राप्ति, युद्ध, मन्त्रदूत आदिको प्रयोग, मूल शीर्षकीकरण र सर्गविभाजन आदिमा चरित्र वा कथावस्तु प्रतिविम्बित हुनुपर्छ ।

पूर्वीय काव्यशास्त्रीय परम्पराका उल्लिखित चार जना विद्वान्हरूका परिभाषाहरूलाई हेर्दा महाकाव्यका बारेमा पूर्वी जगत् निकै स्पष्ट र आधिकारिक देखिन्छ यसको अक्षरशः पालना वर्तमानका महाकाव्यहरूमा भएको पाइँदैन र हुनु अनिवार्य पनि छैन । सिर्जनामा नवीनताको खोजी वर्तमान नेपाली महाकाव्यको पनि चिनारी बनेको देखिन्छ ।

यसै गरी पाश्चात्य साहित्य सिद्धान्तका आधिकारिक मानिने एरिस्टोटलले महाकाव्यलाई यसरी चिनाएका छन्— “महाकाव्य त्यो काव्यरूप हो जसमा कथात्मक अनुकरण हुन्छ, जो षट्पदी (हेक्सामिटर) छन्दमा लेखिन्छ, जसको कथानक दुःखान्त नाटकको समान अन्वितियुक्त र कुनै आद्यन्त वर्णन गर्ने किसिमको हुन्छ तथा कथानकको आदि, मध्य र अन्त्ययुक्त जीवनविकास देखाइएको हुन्छ, जसले गर्दा यो पूर्ण प्रतीत हुन्छ र यसले जीवित प्रणालीले जस्तै आनन्द प्रदान गर्छ ।”

यस परिभाषाले पनि पूर्वमा जस्तै विषय, नायक, संरचना र उद्देश्यमा नै जोड दिएको देखिन्छ । यसरी नै क्रिस वाइल्डले भव्य र सौजन्यपूर्ण शैलीमा एक वा अनेक कथात्मक नायकका ठुला कामको अभिनन्दन गर्ने लामो वर्णनात्मक कवितालाई महाकाव्य मानेका छन् भने मार्टिन ग्रेले उच्च शैलीमा अतिमानवीय पात्रहरू राखेर लेखिने लामो वर्णनात्मक कविता महाकाव्य हो भनेका छन् ।

नेपाली सन्दर्भमा भने कुमारबहादुर जोशीले कविताले जब सिङ्गो जिन्दगानी वा युगसमाजलाई बोकेर हिँड्न लाग्दछ र जब अनुभूतिको आख्यानीकरणमा कवित्वको महाप्रवाह वहन थाल्दछ, तब कविताको बृहत् रूप महाकाव्य प्रकट हुन्छ भनी चिनाएका छन् । यसरी पूर्वीय र पाश्चात्य दुवै खाले परिभाषाहरूलाई हेर्दा यसले कृतिको विराटता र व्यापकतालाई सङ्केत गरेको पाइन्छ । जुनसुकै विषय भए पनि त्यसले लिने व्यापकता र समेट्ने जीवनका केन्द्रीयतामा यसको विधागत चिनारी समेटिन्छ ।

समग्रमा हेर्दा महाकाव्यमा पञ्चसन्धि (मुख, प्रतिमुख, गर्भ, विमर्श र निर्वहण), पञ्चअर्थप्रकृति (बीज, विन्दु, पताका, प्रकरी र कार्य) तथा पञ्चकार्यावस्था (आरम्भ, यत्न, प्राप्त्याशा, नियताप्ति र फलागम) यी तीनै तत्त्वको समुचित प्रयोग हुनुपर्छ भन्ने मान्यता पूर्वमा रहेको छ । यसका लागि वस्तु (कथावस्तु, घटना र कथानक), नेता (नायक, पात्र, चरित्र) र रस (भाव, ध्वनि, व्यञ्जना) तीनओटा कुराहरू अनिवार्य मानिन्छन् ।

महाकाव्यमा यी तीन मुख्य तत्त्वको केन्द्रीयतामा अन्य तत्त्वहरू पनि स्वाभाविक रूपमा जोडिएर आउने गर्दछन् । महाकाव्य केका बारेमा लेख्ने ? (कथावस्तु), कथावस्तुलाई कसले बोकेर हिँडेको छ ? (पात्र), पात्रहरू उभिएको ठाउँ, समय र वातावरण कस्तो छ ? (परिवेश), महाकाव्य किन लेख्ने ? (उद्देश्य), महाकाव्यले के दिन खोजेको छ ? (रस, भाव, विचार, ध्वनि, व्यञ्जना), महाकाव्यमा कस्तो भाषिक प्रयोग र अभिव्यक्ति कलाको प्रयोग भएको छ ? (भाषाशैली) आदि कुरामा महाकाव्यकार सुरुमा नै स्पष्ट हुनु जरुरी छ ।

यिनै महाकाव्यका मूलभूत तत्त्वहरू हुन् । महाकाव्य कविताकै बृहत् रूप हुनाले यसमा पनि कवित्वकै बाहुल्य हुनुपर्छ । कथा भन्नु महाकाव्यको उद्देश्य बन्नु हुँदैन । यस कारण अनुभूतिको आख्यानीकरण महाकाव्यमा पनि हुनुपर्छ ।

उल्लिखित नेपाली कविता र महाकाव्यको ऐतिहासिक चर्चा, महाकाव्यसम्बन्धी मान्यता र सैद्धान्तिक स्वरूपको उल्लेख आदिको कारण कवि श्रीकृष्ण न्यौपानेद्वारा लिखित ‘विषालु धरती’ महाकाव्यको आधारभूमिको खोजी हो । वि.सं. २०२२ चैत्र १६ गते पिता मेजर टेकबहादुर न्यौपाने र माता दानमाया न्यौपानेका सुपुत्रका रूपमा डिमापुर, भारतको सैनिक तालिमकेन्द्रमा जन्मनुभए पनि नेपालको लमजुङ जिल्ला स्थायी ठेगाना भएका कवि श्रीकृष्ण न्यौपाने छन्दोबद्ध कविता सिर्जना र गीत गायनका क्षेत्रमा सुपरिचित हुनुहुन्छ ।

शिक्षण पेसामा आबद्ध रहेर कविता तथा गीतहरूको लेखन तथा गायनमा उहाँको विशिष्ट योगदान रहँदै आएको छ । २०५० सालमा नै रेडियो नेपालको स्वर परीक्षा उत्तीर्ण गरी दर्जनौँ गीतहरू रेकर्ड गराइसक्नुभएका कवि तथा गायक न्यौपानेको सिर्जनात्मक सक्रियता कविता, गीत र गजलमा, कलागत सक्रियता गायनमा देखिन्छ भने संस्थागत संलग्नता छन्द बचाऊँ अभियान–२०५३ र पिङ्गल छन्द प्रतिष्ठान, नेपाललगायत विभिन्न साहित्यिक तथा सामाजिक सङ्घसंस्थामा रहेको देखिन्छ ।

यसभन्दा अगाडि नै ‘छली’ (सामाजिक काव्य, २०४८), ‘आमा’ (खण्डकाव्य, २०६१), ‘भृकुटी’ (ऐतिहासिक काव्य, २०७९), ‘भाउजू’ (वियोगान्त काव्य, २०७९), ‘सय छन्द’ (कवितासङ्ग्रह, २०७९), ‘राता सिपाही’ (खण्डकाव्य, २०७९), ‘श्रीकृष्ण गजलसङ्ग्रह’ (२०७९), ‘रातोबाघ’ (ऐतिहासिक महाकाव्य, २०८०), ‘फेसबुक लभ’ (खण्डकाव्य, २०८०)जस्ता महत्त्वपूर्ण कृतिहरू नेपाली साहित्यका लागि प्रदान गरिसक्नुभएका कवि न्यौपानेको प्रस्तुत ‘विषालु धरती’ महाकाव्य दसौँ प्रकाशित कृति हो भने उहाँको ‘विपासना’ (महाकाव्य) प्रकाशनको तयारीमा रहेको छ ।

प्रस्तुत तथ्याङ्कलाई हेर्दा कवि न्यौपानेको कवित्व २०५८ सालदेखि २०६१ सालसम्म सक्रिय रहेको र झन्डै दुई दशक सुषुप्त अवस्थामा रहेर पुनः जागृत भएको देखिन्छ । उहाँको कवित्व प्रवाहको पुनर्जागरण पनि नेपाली छन्दकविता र महाकाव्यको पुनर्जागरणजस्तै विस्मयकारी नै देखापरेको छ । पछिल्ला दुई वर्षमा आठओटा कृतिहरू प्रकाशन हुनु त्यही अद्भुत कवित्वको उदाहरण हो । उक्त कृतिहरू सङ्ख्यात्मक दृष्टिले मात्र होइन, गुणात्मक मूल्यका दृष्टिले पनि युगीन महत्त्व बोकेर आएका छन् ।

कवि श्रीकृष्ण न्यौपाने पछिल्ला दुई वर्षमा साँच्चै आश्चर्यजनक तरिकाले नेपाली कविताका क्षेत्रमा देखापर्नुभएको छ । २०७९ सालमा प्रकाशित ‘सय छन्द’कवितासङ्ग्रहदेखि मैले उहाँको कवित्वको साक्षी बस्ने सौभाग्य पाएको छु । उक्त कृतिको भूमिका लेख्ने क्रममा पनि मैले उहाँको अनुपम काव्यचेतना र विस्मयकारी कवित्व प्रवाहको चर्चा गरेको थिएँ । उक्त सन्दर्भ फुटकर कवितामा केन्द्रित थियो ।

त्यसमा पनि १०१ छन्दको प्रयोगलाई प्रमुख लक्ष्य बनाएर लेखिएको कृतिमा प्रयोगात्मक उद्देश्य प्रमुख हुँदाहुँदै पनि कवित्व शक्ति पनि उत्तिकै सफल र सबल रूपमा देखा परेको थियो । कतिपय कविहरूको सिर्जनात्मक सीमा हुने गर्दछ । फुटकर कवितामा सफल कतिपय कविहरू खण्डकाव्यसम्म पुग्दा तरल बनेका पनि देखिन्छन् भने खण्डकाव्यमा सफल कविहरू महाकाव्यसम्म पुग्दा त्यति सफल बनेका देखिँदैनन् ।

नेपाली फुटकर कविता र खण्डकाव्यमा दिग्विजय नै प्राप्त गरेका राष्ट्रकवि माधव घिमिरे पनि ‘ऋतम्भरा’ महाकाव्यसम्म पुग्दा तुलनात्मक रूपमा सपाट देखिनुभएको यथार्थलाई हेर्दा हरेक कविका आफ्ना सिर्जनात्मक सीमाहरू हुन्छन् भन्न सकिन्छ । जसको लक्ष्य सिर्जना मात्र हुन्छ त्यसमा गुणात्मक मूल्य पाइन्छ तर जसमा प्रयोगका लागि प्रयोग गर्ने वा इतिहास निर्माण गर्ने अघोषित महत्त्वाकाङ्क्षाले प्रवेश गर्छ त्यति बेला सिर्जना गौण र प्रयोग प्रबल हुन थाल्छ ।

कवि श्रीकृष्ण न्यौपानेमा भने उल्लिखित सन्दर्भहरू अलि फरक तरिकाले देखापरेका छन् । उहाँले विषयगत विविधता, भावगत सबलता, छन्दगत अनेकता र शिल्पगत नवीनतालाई अँगालेर अगाडि बढे पनि कृत्रिमतारहित अभिव्यक्ति सौन्दर्यका दृष्टिले तुलनात्मक रूपमा निकै ठुलो सफलता हासिल गर्नुभएको देखिन्छ ।

‘विषालु धरती’ महाकाव्यको शीर्षकीकरणले नै यस महाकाव्यभित्र के छ भन्ने कुराको लगभग अनुमान लगाउन सकिन्छ । अभिधामूलक शीर्षकीकरण सर्वसाधारण पाठक लक्षित हुन सक्छ । महाकाव्यको विषयवस्तु पनि सर्वसाधारण मानवदेखि लिएर आणविक हातहतियार निर्माण गरेर विश्वलाई तहसनहस बनाउने लक्ष्यका साथ अगाडि बढिरहेका शक्तिसम्पन्न राष्ट्रका उच्चबौद्धिक नागरिकहरूसम्म नै लक्षित छ ।

आजको विश्वमा ग्लोबल वार्मिङको विशेष चर्चा हुने गर्दछ । जलवायु परिवर्तनका कारण विश्ववातावरणमा पर्दै गएको प्रभावलाई अनेकौँ वैज्ञानिकहरू, वातावरणविद्हरू र नेतृत्वकारी शक्तिहरूले आआफ्नै तरिकाले व्याख्या र विश्लेषण गर्दै आएका छन् । यस विषयमा अनेकौँ कविता, गीत, गजल वा साहित्यिक कृतिहरू लेखिएका छन्, प्रकाशित र प्रसारित भएका छन् । कविताको सबैभन्दा सानो रूप हाइकुमा प्राकृतिक विम्ब अनिवार्य नै मानिन्छ ।

उक्त प्राकृतिक विम्बहरू सौन्दर्य केन्द्रित मात्र हुँदैनन्, पर्यावरण चेतनाका दृष्टिले सचेतताको सन्देश दिने प्रकृतिका पनि हुन्छन् । यस प्रकृतिको चेतना र जागरणका लागि छोटा प्रकृतिका फुटकर रचनाहरू, केही गीतिशृङ्खलाहरू, केही गाथाहरू, केही श्रव्यसामग्रीहरू र केही नाटकीय श्रव्यदृश्य सामग्रीहरू प्रभावकारी हुँदै आएका छन् । विश्वपर्यावरणलाई विषयवस्तु बनाएर कविताको बृहत् रूपकै सिर्जना गर्ने आँट आजभन्दा अगाडि कमै कविहरूले मात्र गरेका छन् । महाकाव्यमा परिवेशको चित्रण अनिवार्य मानिन्छ त्यसैले पर्यावरणको चर्चा महाकाव्यमा हुन्छ नै तर यसैलाई केन्द्रीय कथ्यका रूपमा प्रस्तुत गरेर महाकाव्यको सिर्जना हुनु आफैँमा ऐतिहासिक कार्य हो ।

‘विषालु धरती’ प्रकृति र मानवजीवनका बिचको अन्तरसम्बन्धलाई उद्घाटन गर्ने उद्देश्यले लेखिएको वातावरण प्रधान महाकाव्य हो । यसमा आख्यात्मक शृङ्खलाको भन्दा वातावरणीय संवेनशीलताको बाहुल्य देखिन्छ । त्यसैले यहाँका प्रमुख पात्रहरू पनि प्रकृतिकेन्द्रित नै छन् ।

यहाँ प्रकृतिको मानवीकरण र मानवको प्रकृतीकरण उत्तिकै सशक्त रूपमा भएको पाइन्छ । यहाँ पृथ्वी र आकाशलाई सजीव रूपमा प्रस्तुत गरी तिनको अलौकिक प्रेमसम्बन्धको काव्यात्मक अनुशीलन गरिएको छ । पृथ्वी र आकाशको दाम्पत्यबाट जन्मिएका प्रथम शिशुहरू युगेश र युगान्तीका माध्यमबाट धरतीको अपेक्षा के हो र के प्राप्ति भइरहेको छ भन्ने कुरालाई अत्यन्त स्वाभाविक रूपमा प्रस्तुत गरी मानवीय संवेगको चूडान्त स्वरूप प्रस्तुत गर्न यहाँ कवि सफल हुनुभएको छ ।

प्राकृतिक वरदान पाएर जन्मिएका समग्र मानवहरू नै प्राकृतिक विनाश गर्न र स्वच्छ, सफा, निर्मल, निर्दोष र अमृतमय धरतीलाई विषाक्त बनाउन लागि परेको र तिनको अदूरदर्शी बौद्धिकताका कारण आज सिङ्गो धरती नै विषालु बन्न पुगेको विषयलाई यस महाकाव्यले प्रभावकारी रूपमा प्रस्तुत गरेको छ ।

प्रस्तुत महाकाव्य घटना प्रधानभन्दा पनि सूचना प्रधान कृति हो । भयावह यथार्थको उद्घाटन, चेतनाको सम्प्रेषण र जागरणको सन्देश यस महाकाव्यको प्रमुख अभीष्ट हो । यस कारण यहाँ रैखिक ढाँचामा कथावस्तुको शृङ्खलाबद्ध प्रस्तुति पाइँदैन ।

बीच-बीचमा आउने आख्यानचूर्णहरूले अपेक्षित विषयलाई डोर्‍याउँदै लगेर लक्ष्यसम्म पुर्‍याउँदै छन् । यस क्रममा यहाँ पृथ्वी, आकाश, युगेश र युगान्ती आदि पात्रको समग्र भूमिका देखिए पनि आख्यानचूर्णहरूको संयोजन, बहुपात्रयोजना, विश्वव्यापी परिवेशविधान र मानवीय सचेतताको सन्देश नै यस महाकाव्यको चिनारी हो ।

कविले आफ्नो भावगत अभीष्ट प्राप्तिका लागि हौवा, आदम, अब्बा, अली, गिरि, अज, नारेश, नैना, मिखुना, राघ, सारङ, अयुर, भजु, अरुणी, सुन, सुख, सगुना, व्रज, नेमी, थाका, विक्रम, कुबेर, निसार, अर्जुन, गौतम, अमरा, धर्ती बालकहरू, खोरा, घोरा, जैमान, निराल, सूर्य, हेमन्त, अब्दुल आदि पात्रहरूलाई भावानुकूल उभ्याउनुभएको छ । यसका साथै सन्दर्भ मिल्ने गरी तिनलाई दिइएको जिम्मेवारी, तिनले खेलेको भूमिका र तिनले दिएको अभिव्यक्तिले कविको काव्यिक उद्देश्य प्राप्तिमा सहयोग पुगेको देखिन्छ ।

काव्यमा विषय वा भावको सम्प्रेषण दुई तरिकाले हुने गर्दछ । एक प्रकारको भावसम्प्रेषण कविकै मुखबाट हुने गर्दछ, जसलाई कविप्रौढोक्ति भनिन्छ भने अर्को प्रकारको भावसम्प्रेषण कविले चयन गरेको पात्रका मुखबाट हुने गर्दछ, जसलाई कविनिबद्धवक्तृप्रौढोक्ति भन्ने गरिन्छ । यस महाकाव्यमा यति धेरै पात्रहरूको उपस्थिति हुँदाहुँदै पनि यहाँको अभिव्यक्तिमा भने कविनिबद्धवक्तृप्रौढोक्तिको भन्दा कविप्रौढोक्तिकै बाहुल्य पाइन्छ ।

यसकारण यहाँका पात्रहरूले भयावह विश्वपरिवेशको उद्घाटन गर्न र कविमा त्यसप्रतिको चिन्तामा थप वृद्धि गर्न सहयोग पुर्‍याएका छन् ।

यस महाकाव्यमा प्राचीनता र आधुनिकता, आदिमता र नवीनता, प्राकृतिक जीवन र कृत्रिम जीवन, ग्रामीण सभ्यता र सहरिया सभ्यता तथा पुरानो पुस्ता र नयाँ पुस्ताका बिचको द्वन्द्वात्मक परिवेशलाई उच्च सचेतताका साथ प्रस्तुत गरिएको छ । यस कारण यो हार्दिक उपस्थितिले मात्र पूर्ण नहुने महाकाव्य हो । यसमा हार्दिकताका साथै बौद्धिकताको पनि त्यत्तिकै बलियो उपस्थिति आवश्यक देखिन्छ ।

यस कुरामा पनि कवि न्यौपाने सफल नै देखिनुभएको छ । वातावरणीय कुराहरू विज्ञानसँग जोडिएर आउने गर्दछन् । त्यसैले सपाट कल्पना, भावना, भावुकता र हार्दिकताले मात्र उक्त विषयमाथि न्याय प्रदान गर्न सक्दैनन् । धरतीको रुवाइ, प्रकृतिको कोलाहल, मानव, जीव र वनस्पतिहरूको गुहार, जल, वायु, आकाश, बादल आदिको चीत्कार जस्ता कुराहरूलाई त संवेदनशील कविचेतनाले मात्र पनि सम्प्रेषण गर्न सक्छ तर विज्ञानको प्रभाव, आणविक वृद्धि, शक्तिराष्ट्रहरूको होडबाजी, चिकित्सा विज्ञान, मानवस्वास्थ्यको वर्तमान अवस्था, रोगव्याधिहरूले पार्ने प्रभाव, वातावरण र जनस्वास्थ्यबिचको अन्तरसम्बन्ध, बेला बेलामा हुने गरेका प्राकृतिक तथा जैविक महामारीहरू आदि जस्ता विषयहरूका लागि आधिकारिक ज्ञान, तथ्य, प्रमाण, उदाहरण, दृष्टान्त एवम् वैज्ञानिक सत्यको आवश्यकता पर्दछ । यस अर्थमा कवि न्यौपानेमा हार्दिकता र बौद्धिकताको बराबर उपस्थिति देखिन्छ ।

यहाँ थाका वैद्य र नेमी डाक्टरका माध्यमबाट प्राकृतिक जीवनदेखि कृत्रिम जीवनसम्मको यात्राको स्वाभाविक चित्राङ्कन भएको पाइन्छ । यस सन्दर्भमा सम्बन्धित विषयमाथिको कवि ज्ञान पनि निकै गहिरो रहेको स्पष्ट देखिन्छ । सामान्यतः हृदयको सक्रियताले मान्छे कवि बन्ने गर्छ भने मस्तिष्कको सक्रियताले मान्छे वैज्ञानिक बन्ने गर्दछ । हृदय र मस्तिष्क दुवै शक्तिशाली भएको व्यक्तिबाट मात्र यस प्रकृतिका महाकाव्यहरू लेखिन सम्भव छ । प्रस्तुत महाकाव्यलाई हेर्दा कवि न्यौपानेमा उल्लिखित दुवै कुराको सबल उपस्थिति देखिन्छ ।

शिल्पचेतनाका दृष्टिले हेर्दा प्रस्तुत महाकाव्यलाई परिष्कारवादी धाराको पछिल्लो प्राप्तिका रूपमा हेर्न सकिन्छ । यसको सर्गयोजनामा एकरूपता पाइन्छ भने कवित्व प्रवाहमा पनि सुव्यवस्थित गतिशीलता पाइन्छ । एघार सर्गमा लेखिएको यस महाकाव्यको आठौँ सर्गमा १०२ श्लोक र एघारौँ सर्गमा १०५ श्लोक छन् भने अन्य सबै सर्गमा १०१ श्लोकको एकरूपता पाइन्छ । यस्तो व्यवस्थित काव्यप्रवाह परिष्कारवादी कविहरूको चिनारी हो ।

यसरी नै भावगत व्यवस्थापनमा पनि कवि निकै सचेत रूपमा प्रस्तुत हुनुभएको छ । शुद्ध र अमृतमय धरती मानवका कारण बिस्तारै बिस्तारै विषाक्त बन्दै गयो र वर्तमानसम्म आइपुग्दा उक्त धरती आफैँमा विषालु बनिसकेको त्रासदीपूर्ण भावविधानका लागि उहाँले ठाउँ ठाउँमा अत्यन्त स्वाभाविक सूक्तिहरूको सम्प्रेषण गर्नुभएको छ ।

आज धरतीको कुनै पनि कुनो विषमुक्त छैन । त्यसैले मानवजीवन सङ्कटग्रस्त परिवेशमा बाँचिरहेको छ भन्ने कुरालाई यस महाकाव्यले जताततै सचेतताका साथ उठाएको छ । आदिम युगमा धरतीको स्वरूप केकस्तो थियो भन्ने कुरालाई यस पद्यले स्पष्ट सङ्केत गरेको छ –

कस्तो कलापूर्ण विवेकबाट

धर्ती बनेको सिप एकबाट

हुँदैन केही विषको प्रभाव

देखिन्न उस्तै रिसको प्रभाव ।

(सर्ग १, श्लोक ४४)

मानवीय कर्मका कारण बिस्तारै वातावरणमा कस्तो प्रभाव पर्दै गयो र कसरी यस्तो भयावह अवस्था सिर्जना भयो भन्ने कुरालाई यस पद्यले स्पष्ट सङ्केत गरेको छ—

फोहोर मैला जब बढ्न थाल्यो

कुहे मरेको चिज सड्न थाल्यो

धुँवा बनायो धरती पिरो भो

मान्छे त्यसैको धमिरो किरो भो

(सर्ग ९, श्लोक ७७)

प्राचीनता र नवीनताका बिचमा होडबाजी चल्न थालेपछि धरती विषाक्त बन्दै गएको कुरामा कविले ठाउँ ठाउँमा जोड दिनुभएको छ । पहिले जुन कुरा जीवनका लागि वरदान हुने गर्दथ्यो आज त्यही प्रकृति मानवस्वास्थ्यका लागि हानिकारक हुँदै गएको छ । रोगका पनि प्रकारहरू अनेकौँ देखिन थालेका छन् भने उपचार गर्ने पद्धति र औषधीका स्वरूपहरू पनि अनेकौँ हुन थालेको समयगत द्वन्द्वको चित्रण निम्नलिखित पद्यहरूमा स्वाभाविक रूपमा भएको पाइन्छ—

लाखौँ वर्ष अगाडि वैद्य जनले घोट्थे जरा काण्ड रे

बिस्तारै त्यसमा नयाँ प्रविधिले छाया दियो मन्द रे

नौला रोग उठे प्रदूषित हुँदा पृथ्वी भयो फोहर

नौला सीप लिँदै लिँदै नर बढे ती वैद्यभन्दा पर ।

(सर्ग १०, श्लोक ४३)

मान्छे बन्छ कता कता अथकझैँ नाना थरी रोगले

निस्कन्छन् उपचारका प्रविधि लौ शिक्षा र संयोगले

झन् अल्पायु बढेर जान्छ धरती मैलो भएका दिन

धर्तीमा उपचार रोग यसरी रोकिन्न एकै छिन ।

(सर्ग १०, श्लोक ५९)

धरती, आकाश, समुद्र सबै फोहोरले ढाकिसकेको छ । मानवजाति रोगव्याधिले ग्रस्त छ । मानवले सुख, शान्ति र स्वस्थपूर्ण तरिकाले बाँच्न सक्ने सानो ठाउँ पनि बाँकी नरहेको हुनाले अब सबैले आँखा खोल्नुपर्ने बेला आएको सन्देश यस पद्यबाट दिइएको छ—

अब फोहर भो अति रोग चले

क्षिति सागरमा अब अग्नि बले

अब मानिसले कुन बास गरोस्

नबुझे नबुझोस् नव नेत्र छरोस् ।

(सर्ग १०, श्लोक १०१)

वातावरणीय प्रदूषणले गर्दा मानवीय चेतना र व्यवहार पनि प्रदूषित हुँदै गएको छ । मानवले आफ्नो प्राकृतिकपन र स्वभाव नै गुमाउँदै गएको र धरतीको कुनै पनि ठाउँ अब बाँकी नरही सम्पूर्ण विषाक्त भइसकेको भावलाई यस पद्यमा यसरी समेटिएको छ—

बोल्दैन मानिस मिठो विष मात्र ढोल्छ

देखिन्न छङ्ग नभ यो मुटु मात्र पोल्छ

के घस्छ यो सगरको किन शुभ्र पाना

मानौँ विषाक्त छ धरा पर एक छाना ।

(सर्ग ११, श्लोक १३)

धरती मात्र विषालु होइन, त्यस विषाक्त धरतीको श्वासप्रश्वासमा बाँचेको मान्छे स्वयम् अब विषालु बन्दै गएको छ । सञ्जीवनीमा पनि विषलाई काट्न सक्ने क्षमता हराउँदै गएको छ भने हावा पनि विषमय बनेर बग्न थालेको छ भन्ने भयावह पर्यावरणीय यथार्थलाई यस पद्यले सशक्त रूपमा प्रस्तुत गरेको छ—

मान्छे विषालु जसरी जुन सास लिन्छ

त्यै सासमा विष पिई गतिहीन बन्छ

सञ्जीवनी पनि यहाँ विष काट्न फुल्छ

बोकी बतास भवमा विषमात्र डुल्छ ।

(सर्ग ११, श्लोक ५५)

धरती विषाक्त बन्नुमा धरतीको कुनै दोष छैन । यो धरती हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहने छ तर यसलाई विषमय बनाउने काम मान्छेले गरेको हो । मान्छे नपुगुन्जेलसम्म कुनै पनि माटो विषाक्त थिएन तर आज कुनै पनि माटो शुद्ध छैन । यस्तो हुनाको प्रमुख दोषी मान्छे नै हो भन्ने कविको ठहर यस पद्यमा यसरी अभिव्यक्त भएको छ—

जहाँ पुग्ला मान्छे अति जहर छर्ला वरिपरि

कहाँ के नै मिल्थ्यो नर सुगम नै भाषण गरी

हिमाली डाँडामा पनि नर पुगे फोहर भयो

बिगा¥यो मान्छेले सबतिर सबै नै डर भयो ।

(सर्ग ११, श्लोक ८४)

 

आज मान्छे चेतनाको, संवेदनाको, मानवताको र उदारताको प्रतिस्पर्धा गर्नुपर्ने बेलामा क्षेप्यास्त्रको प्रतिस्पर्धा गर्दै छ । मान्छे जति बुद्धिमान् हुँदै गयो, उति नै बुद्धिहीन, अहङ्कारी र अदूरदर्शी बन्दै गयो । यसै कारण आज बाँच्न चाहनेहरूको जिन्दगी पनि मानवीय अहङ्कारको भुङ्ग्रोमा परेर छटपटाउन बाध्य भएको विश्वयथार्थको चित्र यस पद्यांशमा उतारिएको छ । प्रस्तुत महाकाव्यको भावगत निष्कर्ष पनि यही नै हो—

क्षेप्यास्त्र हान्छ नरले कति बुद्धिमानी

खस्दै छ अग्निबिचमा नव जिन्दगानी ।

(सर्ग ११, श्लोक ४६)

यसरी प्रस्तुत महाकाव्यका हरेक पद्यहरू मानवीय संवेदना र वर्तमान त्रासदीको चित्र बोकेर आएका छन् । यहाँको भाषा संवेदनाको भाषा हो, यहाँको विषय संवेगको विषय हो र यहाँको सन्देश मानवीय चेतनाको सन्देश हो । दृश्य रूपमा यहाँ प्रकृतिको सशक्त उपस्थिति देखिए पनि ध्वन्यात्मक रूपमा यसले मानवीय चेतनाको शुद्धीकरण र ज्ञानको विरेचनको आवश्यकतालाई मुख्य रूपमा अगाडि सारेको देखिन्छ ।

छन्दविधानमा अनेकता र प्रयोगात्मक व्यापकता यस महाकाव्यको अर्को उल्लेखनीय पक्ष हो । ‘सय छन्द’कवितासङ्ग्रहमा नै १०० ओटा छन्दको सफलतापूर्वक प्रयोग गरिसक्नुभएका कवि न्यौपानेमा फरक फरक छन्दको प्रयोग गर्ने मोह दिनानुदिन तीव्र गतिमा बढेको देखिन्छ । शास्त्रीय छन्दको प्रयोग नेपाली कविताका विषयमा गर्व गर्नलायक विषय नै हो । संस्कृतमा आचार्य पिङ्गलले करोडौँ छन्द निर्माण हुन सक्ने प्रस्तार विधिको चर्चा गरेका छन् । त्यसैले संस्कृतमा अनेकौँ छन्दको प्रयोग भए पनि त्यसपछिका भाषाहरूले उक्त शास्त्रीय छन्दलाई निरन्तरता दिन सकेका छैनन् । संस्कृतपछिका हिन्दी, मैथिली, भोजपुरी, अवधीजस्ता विकसित भाषाहरूमा प्राचीन कालमा प्रशस्त छन्दकविताहरू लेखिए पनि अहिले शून्यप्रायः देखिन्छ ।

हिन्दीमा सन् १९२९ मा प्रकाशित अयोध्याप्रसाद सिंह ‘हरिऔध’को ‘प्रियप्रवास’ महाकाव्यमा शास्त्रीय छन्दको सुन्दर प्रयोग पाइन्छ तर त्यसपछि हिन्दीमा शास्त्रीय छन्दका कविता र काव्यहरू लेखिएका पाइँदैनन् । अन्य भाषाहरूमा पनि त्यस्तै स्थिति रहेको छ । वर्तमानमा पिङ्गल छन्दलाई बचाउने एक मात्र जिम्मेवारी नेपाली भाषाले पाएको छ । यस कारण छन्द प्रयोगका दृष्टिले वर्तमानमा नेपाली भाषा पिङ्गल छन्दका लागि उत्तराधिकार प्राप्त भाषा हो । यस कुरालाई नेपाली भाषाले धान्दै आएको छ । आजसम्म आइपुग्दा नेपाली कवितामा चार सयभन्दा बढी शास्त्रीय छन्दहरूको प्रयोग भइसकेको छ । यो गर्व गर्नलायक तथ्याङ्क हो ।

यति हुँदाहुँदै पनि शास्त्रीय छन्द भन्नासाथ नेपाली जीवनमा परिचित छन्दहरू २०÷२५ ओटा मात्र छन् । तिनलाई चाहिँ नेपाली लोकजिब्रोले पचाइसकेको छ र नाम नै उल्लेख नभए पनि तिनलाई चाहिँ चिन्न नेपाली पाठकलाई कुनै गाह्रो पर्दैन तर त्यसभन्दा अगाडि बढ्नासाथ नेपाली पाठकले छन्दको नाम र सैद्धान्तिक स्वरूपको समेत अपेक्षा राख्नुपर्ने अवस्था आउँछ ।

प्रस्तुत महाकाव्यमा कवि न्यौपानेले नेपाली काव्यजगत्मा अतिप्रचलित शार्दूलविक्रीडित, उपजाति, वसन्ततिलका, मन्दाक्रान्ता, स्वागता, शशिवदना, भुजङ्गप्रयात, चित्रलेखा, मालिनी, शालिनी, शिखरिणी, वंशस्थ, स्रग्धरा, अनुष्टुप्, द्रुतविलम्बित आदि जस्ता छन्दहरू, कम प्रचलित कुसुमविचित्रा, द्रुता, हारिणी, चित्रा, माणवक, विद्युल्लेखा, तूणक, शार्दूलललित जस्ता छन्दहरू र आजसम्म कसैले प्रयोग नै नगरेका अनेकौँ छन्दहरूको प्रयोग गर्नुभएको छ ।

यस महाकाव्यमा अतिप्रचलित, कमप्रचलित र अप्रचलित गरी जम्मा १०७ओटा छन्दहरूको प्रयोग पाइन्छ । यस कारण प्रस्तुत महाकाव्य शास्त्रीय छन्द प्रयोगका दृष्टिले एउटा प्रयोगशाला नै बनेको देखिन्छ ।

पूर्वीय वा पाश्चात्य जुनसुकै महाकाव्यतत्त्वका आधारमा हेर्दा पनि ‘विषालु धरती’ प्रयोगशील महाकाव्यका रूपमा नै देखिन्छ । यसमा परम्परित महाकाव्य सिद्धान्तले अपेक्षा गरेका थोरै मात्र कुराहरूको पालना भएको पाइन्छ । विषय छनोट, पात्रविधान, छन्दविधान आदि जस्ता कुरामा नवीनता दिन खोज्नु र तुलनात्मक रूपमा सफल पनि हुनु कविको धनात्मक पक्ष हो तर कहिलेकाहीँ त्यही धनात्मक पक्षभित्र ऋणात्मक पक्षहरू पनि लुकेर आएका हुन्छन् । विषय वा भावको पुनरावृत्ति, पात्रको नामकरणमा अस्वाभाविकता, कुनै शब्दप्रतिको अत्यधिक मोह आदि जस्ता कुराहरू यस महाकाव्यमा ऋणात्मक बनेर आएका छन् ।

यस महाकाव्यमा अरबी शब्द ‘कुद्रत’प्रति कविको अत्यधिक मोह देखिएको छ । प्रकृति, माया, शक्ति, सामथ्र्य, सिप, कालिगडी आदि अर्थ दिने कुद्रत र त्यसैको विशेषण कुद्रती शब्दलाई यहाँ कविले कतै कुद्रत÷कुदरत, कतै कुद्रती÷कुदरतीका रूपमा अत्यधिक प्रयोग गर्नुभएको छ । यसले भावगत कोमल एवम् सुललित वहावमा अप्रत्याशित ठेस लगाउने र शब्दको पुनरावृत्तिले गर्दा प्राकृतिक प्रवाहमा कृत्रिमता देखापर्ने अवस्था सिर्जना भएको छ । यसरी नै छन्दपरिवर्तन महाकाव्यका लागि अनिवार्य नै मानिन्छ तर एउटा भावतरङ्गमा तरङ्गित हुँदै सलल बगिरहेको पाठकलाई बिचमा स्वाट्ट स्वाट्ट परिवर्तन हुने छन्दले रसस्वादनमा बाधा पुर्‍याएको देखिन्छ ।

यस कारण छन्दलाई प्रयोगका लागि नभएर भावगत आवश्यकताका लागि प्रयोग गर्न सकियो भने त्यो आफैँमा सौन्दर्यवद्र्धक हुने गर्छ । सामान्य पाठकका दृष्टिले यिनै कुरा सुधारात्मक जस्ता लागे पनि प्रयोगात्मक अभीष्ट र बौद्धिक पाठकका लागि यिनै कुरा प्रशंसनीय लाग्ने गर्दछन् । यस्तो हुनु पनि महाकाव्यात्मक सफलताकै एउटा आधार हो भन्न सकिन्छ ।

यसरी गहिरिएर खोज्नै थाल्दा मात्र यस महाकाव्यमा केही सुधारात्मक पक्षहरू फेला पर्दछन् नत्र भने यो भाव, विचार र शिल्प सबै पक्षबाट उच्चकोटिको महाकाव्य मानिन्छ । यति हुँदाहुँदै पनि महाकाव्यमा कल्पना, विचार र शिल्पलगायतका सबै पक्षको सर्वाङ्गपूर्णताको अपेक्षा पाठकले राख्नु पनि स्वाभाविक कुरा हो । सिर्जनात्मक सौन्दर्यको उच्चतम प्राप्तिको अपेक्षा सर्जक र भावक दुवैमा नरहने हो भने सिर्जनात्मक प्रगतिका पाइलाहरू त्यहीँ रोकिन्छन् ।

त्यसैले कवि श्रीकृष्ण न्यौपानेको साधनाको यात्रा अविरल रहनुपर्छ अनि भावगत पुनरावृत्ति र छन्दविधानगत कृत्रिमताबाट कवितालाई बचाउँदै सङ्ख्यात्मक र प्रयोगात्मक सिर्जनामा भन्दा गुणात्मक र आदर्श सिर्जनामा आफूलाई निरन्तर समर्पित गर्नुपर्छ भन्ने मलाई लाग्छ । अन्त्यमा, यति छोटो अवधिमा यति धेरै, यति सुन्दर र यति द्रुतगतिमा महाकाव्यजस्तो कृति नेपाली साहित्यका लागि प्रदान गर्नुहुने कवि श्रीकृष्ण न्यौपानेलाई सहर्ष बधाईका साथ अझै सुन्दर, अझै सशक्त, अझै परिष्कृत, अझै युगीन र अझै कालजयी सिर्जनशीलताका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

– साधानागृह, लोहकिल्थली, भक्तपुर ।

 

प्रकाशित :२०८१ बैशाख १५, शनिबार १०:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry