सतिको श्राप र हाम्रा नेताहरुको मति

नेपाल सतीले सरापेको देश हो’, सम्भवत यो भनाई नसुन्ने नेपाली कमै छन । तर यसलाई गम्भीरतापुर्वक लिने पनि कुनै नेपाली छैनन्। तर अब गम्भीरतापूर्वक लिनुपर्ने बेला आइसकेको छ। किनभने अब दोष दिनलाई कुनै शक्ति र कुनै व्यवस्था बाँकी रहेन। सती पूजा एकमात्र विकल्प बाँकी छ।जनताले सतीले सरापेको देश भनिरहँदा नेताहरु भने यो स्वीकार्न तयार छैनन् । देश पछाडि पर्नुको कारण उनीहरु आफ्नो अनुकुल अनेक तर्क दिन सक्छन्। कारण दिन छोडे भने उनीहरुको जागिर नै जान्छ त्यसैले उनीहरु बोलिरहन्छन् ।
कुनै बेला सारा दोष राजामाथि थुपारियो, कुनै बेला संविधान नभएर भनियो, कुनैबेला स्थायी सरकार नबनेर भनियो । त्योभन्दा पहिले पनि कहिले राणा त कहिले पञ्चायतलाई अवरोध ठानियो। तर आफ्नो स्वमुल्याङ्कन कहिलै गरेनन् ।उनीहरुमा ठ्याक्कै रावण र दुर्योधनको जस्तो अहंकार छ। उनीहरु ठान्दछन् उनीहरुबाट गल्ती हुनै सक्दैन। यदी हुन्छ भनेपनि प्रजाले त्यसलाई सहिदिनुपर्छ। कसैले गलतलाई गलत भन्ने शाहस गरे उनीहरु सत्ताको दुरुपयोग गरी कारवाही गरिदिन्छ्न् ।
रावणको बध गर्न राम आए, दुर्योधनको बध गर्न कृष्ण आए । तर हाम्रो देशमा यी निकम्मा नेताहरुको अन्त्य गर्न कोही पनि न आएनन् किन होला ? कतै सतीले नै रोकेकी पो छन् कि ?
हाल देशमा माथि उल्लेखित सबै भन्ने गरेका अवरोध हटिसके । देशले जनप्रतिनिधिले बनाएको संविधान पाएको छ। करिव दुई तिहाई हाराहारी प्राप्त स्थायी सरकार पनि पाएको छ ।राजनैतिक नेतृत्वले जनताले सुन्दै नसुनेको र चाहँदै नचाहेको मुद्दाहरु ( गणतन्त्र, धर्म निरपेक्षाता र संघियता) पनि लागु गरे । तर जनताले मागेको एउटा कुरा पनि दिन सकेनन्।
जनताले पूर्ण लोकतन्त्र, शान्ति र समृद्धि मागेका थिए।धर्म निरपेक्ष भन्ने शब्दको अर्थ स्वयं सबै नेताहरुलाई थाहा थिएन। संविधानमा लेखिसकेपछि जनताले शब्दकोषमा अर्थ खोजिएको सम्भवत विश्वको पहिलो घटना होला यो । जनताले कल्पनासम्म नगरेको चामत्कारिक मायावी मुद्दा थियो त्यो । खोजेको कुरा नपाइने तर नखोजेको कुरा बेहोर्नुपर्ने हाम्रा गह्र दशा बिग्रेकै मान्नु पर्ला।हामीसँग श्रोत साधन र सम्भावना नभएको पनि होइन।
विश्वमा द्रुतगतिमा आर्थिक फट्को मार्ने देशहरुभन्दा हामीसँग अधिक प्राकृतिक श्रोतहरु छन् । जडिबुटि तथा खनिज, कृषि, पर्यटन र जलविद्युको धनि हौँ हामी । दुई विशाल विश्व शक्तिमान मुलुकहरुकोबीचमा पुल बनेर आर्थिक उपलब्धी हासिल गर्न सक्ने सम्भावना सँगसँगै छ तरपनि दुर्गती पथमा देश छ । जनतामा चरम निराशा छ।हाल मुलुक सँगसँगै विश्व ‘कोभिड १९’ नामक भाइरसको महामारीबाट गुज्रिरहेको छ। देशमा संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै छ। देश बन्दाबन्दीमा छ, अर्थतन्त्र धरासायी छ, संकटमा पनि भ्रस्टाचारका समाचार आउन छोडेका छैनन्।
भ्रस्टाचारीलाई कारवाहीको साटो प्रधानमन्त्रीले नै तत्काल बचाउने प्रवृत्ति छ। दुइ तिहाई हाराहारीको सरकार आफ्नै यस्तै कुबुद्दिले कहिलेसम्म घेर्ने हो र यही कुबुद्धिका कारण कहिले गिर्ने हो टुंगो छैन।जनताले स्थायी सरकारको चाहनामा विश्वाश गरेर भारी मत दिएर पठाएको दल सत्ताको झिना झम्टिमा व्यस्त छ । यी मध्ये जसले सत्ताको चावी पाएपनि देश र जनतालाई कुनै फाइदा हुने चाहीँ होइन । विकल्प उचित देखिन्थ्यो भने वर्तमान प्रधानमन्त्रीलाई च्यापिरहनु पनि जरुरी थिएन तर विकल्प उत्तम नदेखिँदा परिवर्तनको औचित्य पनि नहुँदो रहेछ।वर्षौँ देखि जनताले प्रतिक्षा गरेको स्थायी सरकारको यो दुर्दशा श्रापकै लक्षण हुन सक्छ।
हाम्रा सनातन धर्म ग्रन्थहरुमा श्राप लाग्दछ भन्ने विभिन्न तथ्यहरु भेटिन्छन्। अब व्यबहारमा पनि लाग्दो रहेछ भनेर विश्वाश गर्नुपर्ने देखियो।विश्वका धेरै विकशित मुलुकहरुमा पनि आफ्नो देशका धर्म, संस्कृति प्रथाहरुमाथि अध्ययन र अनुसन्धान हुने गर्दछन्। आउनुहोस् हामी पनि एकपटक सतीको बारेमा सोचौँ।

प्रकाशित :२०७७ भाद्र २०, शनिबार ०८:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry