पलायनमा देखिएको लर्को

नेपाललाई विदेश संग जोड्ने एक मात्र विन्दु त्रिभूवन अन्तर्राष्ट्रिय विमान स्थलको लर्को हेर्दा लाग्छ कि छिट्टै नै नेपाल रित्तिदै छ। के खेलाडी, के प्राविधिक जनशक्ति, के ऊर्जाशील युवाहरू, के उम्दा कलाकारहरू सबै बिदेश हुत्तिने प्रतिस्पर्धामा छन्। हालै अन्तर्राष्ट्रिय छवि बनाएका नेपालका राष्ट्रिय फूटबल खेलाडी बिमल घर्तिमगरको पलायनको खवरले त सो क्षेत्रका खेलाडीहरूलाई झनै झस्काएको छ। यस्तो झस्का दिने घटनाहरू सबै क्षेत्रमा ब्याप्त छन्।

Advertisement 1

एउटा सम्झना आयो, यो पंक्तिकार जुम्लामा सेवारत हुदा रोकाया थरका एकजना म्याराथुन धावक संग गफ गर्ने अवसर जुटेको थियो। त्यो बेलामा मैले राष्ट्रिय गहनाका रूपमा यी उम्दा धावकलाई चर्चा गरी रहदा उनी भन्दै थिए हामीलाई राज्यले दिनु पर्ने जति ध्यान र चासो दिएको छैन, पौष्टिक डाईटको नाममा यतै उम्रेको घांस चपाएर राज्यको नाम राख्ने कोशिस गरेका छौ, म जस्ता सबै खेलाडीको हालत यस्तै छ।यिनको यो भोगाई र भनाई सही थियो । यो प्रसंग आज भन्दा २५ वर्ष अगाडिको हो। त्यो बेला देखिएको राष्ट्रिय प्रतीभाहरूले भोगेको समस्या आज पनि जस्ताको त्यस्तै छ मात्र हैन कि अझै बढ्दै गएको छ।राज्यले यो क्षेत्रलाई संरचनात्मक तवरले मात्र संबोधन गर्न कोशिस गरेको छ तर त्यसबाट राजनीति गर्नेहरूलाई मात्र फाईदा भएको छ।यसको लाभ खेलकूद क्षेत्रमा नगण्य नै छ। राज्य संग दूर दृष्टि छैन, साधन श्रोतको ब्यबस्था छैन, खेलाडीलाई बन्द सत्रमा राखेर पुनर्ताजगी गरिएको छैन, गतिलो प्रशिक्षक छैन, खेलाडीको छनौट पारदर्शी छैन।

हालै चीनमा भै रहेको एशियाली खेलकूदको सहभागिताको स्थिति हेर्यो भने टिठ लाग्दो अवस्था देखियो। राज्यले यस्ता प्रतियोगितामा गुणस्तरलाई हैन सहभागितालाई मात्र प्राथमिकतामा राखेको पाईयो। नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने खेलाडीहरूको स्तर आकाशिदै गएको छ तर हाम्रा खेलाडीहरूको स्तर दिनानुदिन खस्किदै गएको नतिजाले देखाई रहेको छ। यस्तो परिस्थितिमा राष्ट्रिय प्रतिभाहरूले आफ्नो भविष्य मुलुक भित्र नदेखेर बाहिरिनु परेको छ। राज्यलाई आफ्नो धोती सिह्यार्न धौ धौ परेको अवस्थामा दाया वाया हेर्ने फुर्शद नै कहां छ र सरकारलाई सरकार त जे जसरी पनि सत्ता टिकाउने ध्यानमा मात्र केन्द्रित छ।

Advertisement 2

खेलकूदको ईतिहांस हेर्दा हाम्रा खेलाडीको स्तर फुटवलमा प्रतिस्पर्धी देखिन्थ्यो तर यो क्रमशः ओरालो तर्फ लागेको छ। यस तर्फ सरकारको चिन्ता देखिएको छैन। त्यस्तै हाल हाम्रा क्रिकेट खेलाडीले आफूलाई सबल बनाउदै लगेको प्रतीत हुन्छ। हालैको एशियाडमा मंगोलिया उपर गरेको प्रतिस्पर्धा चर्चा गर्न योग्य बन्यो। यसरी चर्चा पाउनुको पछाडि हाम्रा खेलाडीको स्तरले मात्र हैन मंगोलियाको कमजोर उपस्थितिले पनि नेपाली टीमलाई चर्चामा ल्याएको हो। तर पनि यसरी अगाडि बढी रहेका प्रतिभाहरूको मनोबल माथि लैजान राज्य संग थप नीति तथा कार्यक्रम खासै भएको पाईदैन।

हुन त नेपाली समाजको प्रभाव जुनसुकै क्षेत्रमा पर्ने भएर होला राष्ट्रको हरेक क्षेत्र यसको अपवाद हुन सकेको पाईदैन तै पनि यसो भनेर चित्त बुझाउन मिल्दैन। नेपालमा पटक पटक राजनीतिक परिवर्तन भए। यसरी हुने परिवर्तनले जनताको र देशको अबस्था पनि परिवर्तन गरेको हुनु पर्दथ्यो तर यी नेता भनाउदाले राजनीतिक परिवर्तनको नाममा आफू र आफ्ना सन्ततिको मात्र परिवर्तन गर्नमा ध्यान दिनाले आज यो स्थितिको निर्माण हुन पुगेको हो।

Advertisement 3

अब हामी यी नेताको भरमा परेर समय खेर पाल्नु हुदैन। यी न बाटो छोडको अबस्थामा बसेका नेतालाई मतदानबाट पाखा लगाउनै पर्छ। हुन त मतदाता पनि पार्टीका झोले बनेका छन्। जब सम्म मतदाताहरू यी अमूक पार्टीका कार्यकर्ताको रूपमा रहन्छन् तब सम्म देश र जनताको अबस्थामा सकारात्मक परिवर्तन आउन सक्दैन। त्यसैले देश बनाउने कि नबनाउने भन्ने कुरामा ठूलो भूमिका मतदाताको छ। मतदाताहरूले मतदानको समयमा बिबेक पुर्याएर भिजनरी नेतालाई मतदान गर्नु पर्यो। यहां नेर एउटा तर्क उठाउन सकिन्छ कि त्यस्ता मान्छेलाई पार्टीले टिकटै दिदैन र नेताको चम्चा र झोलेलाई मात्र टिकट दिन्छ। हो,विगतको अबस्था प्रायः यस्तै देखिन्छ। त्यसैले त यो विषय निर्वाचन आयोगमा समेत छलफलमा आयो र आयोगले नेतामा चेत आओस् भनेर नो भोटको बिकल्प समेत प्रस्ताब गरेको छ, जुन ब्यबहारमा आयो भने यसबाट पनि यो खराबी सुधारिन सक्छ। त्यसै गरी यस्ता चुनावमा बैकल्पिक पार्टी र उम्मेद्वारहरू पनि चुनावी प्रतिस्पर्धामा आएको र पुराना नेतालाई धुलीसात् पारेको उदाहरण छ।

यसैले हरेक दिन हुने प्रतिभाहरूको देश पलायनको समस्या रोक्न विद्यमान राजनीतिक प्रणालीको विकल्प खोजेर देशलाई थप अस्थीर बनाउनुको सट्टा नेताको बिकल्प खोजौ।

प्रकाशित :२०८० आश्विन १५, सोमबार ०५:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry