सचिव सरुवामा मनोमानी, मैनालीद्वारा राजीनामा दिने चेतावनी
सरकारले लामो रस्साकस्सी पछि १६ सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को गत विहीबार बसेको बैठकले विभिन्न मन्त्रालय, आयोग, प्रदेश तथा कार्यालयमा कार्यरत १६ सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो । सरुवा भएकामध्ये अख्तियारका सचिव सुरेश कुमार अधिकारीलाई निर्वाचन आयोगमा पठाइएको छ । निर्वाचन आयोगको सचिव देवकुमारी गुरागाईँलाई उपराष्ट्रपतिको कार्यालयमा पठाइएको छ अख्तियारमा श्रम तथा रोजगार मन्त्रालयका सचिव तोयम रायालाई पठाइएको छ । यस्तै उपराष्ट्पति कार्यालयका सचिव केदार न्यौपानेलाई युवा तथा खेलकुद मन्त्रालय पठाइएको छ ।
यस्तै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुरेश आचार्यलाई नेपाल ट्रस्टको कार्यालयमा पठाएको छ भने त्यहाँका सचिव देवेन्द्र कार्कीलाई सतर्कता केन्द्रमा तानेको छ । यस्तै सतर्कता केन्द्रका सचिव मणिराम गेलाल पुननिर्माण प्राधिकरणमा पुगेका छन् ।
शिक्षा मन्त्रालयमा युवा तथा खेलकुद मन्त्रालयका सचिव राम प्रसाद थपलियालाई ल्याइएको छ भने शिक्षा सचिव गोपीनाथ मैनालीलाई पहिला सार्वजनिक खरिद अनुगमनको कार्यलयमा पठाइएको भनिएकोमा अहिले वित्त आयोग पुर्याइएको छ ।
Advertisement 1
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले भने आफूलाई अन्यायपूर्ण रूपमा मनोबल गिराउने गरी सरुवा गरिएको भन्दै सरुवा नसच्याए राजीनामा दिने चेतावनी दिएका छन् । सुरुमा मैनालीको सरुवा सार्वजनिक खरिद अनुगमन कार्यालयमा भएको थियो तर मैनालीले आपत्ति व्यक्त गरेपछि उनको सरुवा निर्णयलाई होल्ड गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।
मैनाली तुलनात्मक रूपमा इमानदार सचिवका रूपमा परिचित छन् । इमानदार सचिवको हुर्मत लिन खोजेको भन्दै सरकारको आलोचनासमेत भएको छ । मैनालीलाई वित्त आयोग पठाउने भनिए पनि त्यसमा पनि उनले सहमति जनाएका छैनन् । सम्भवत मैनालीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राखिने स्रोतले जानकारी दिएको छ ।
Advertisement 2
यस्तै बीत्त आयोगका सचिव बेगेन्द्र राज शर्मा पौड्यालको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाइएको छ भने भूमि सचिव टेकनारायण पाण्डेलाई सार्वजनिक खरिद अनुगमन कार्यालय पठाइएको छ । यता सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव सूर्य प्रसाद गौतम श्रम मन्त्रालयमा ल्याइएको छ । प्रदेश १ का प्रमुख सचिव दिनेश भट्टराईलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय उद्योग सचिवमा ल्याइएको छ भने भट्टराईको ठाउँमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअतिरिक्तका सचिव सुमन अर्याललाई खटाइएको छ ।
वाणिज्य सचिवको जिम्मेवारी लोक सेवा आयोगका सचिव अर्जुन पोखरेललाई दिइएको छ । आयोगमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईँलाई पठाइएको छ भने वाणिज्य सचिव वैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ ।
Advertisement 3
कसको सरुवा कहाँ ?
१ तोयम राय: अख्तियार दुरुपयोग अनुसन्धान आयोग
२. सुरेश अधिकारी: निर्वाचन आयोग
३. वेगेन्द्रराज शर्मा पौड्याल: भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण
४. सूर्य गौतम: श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
५. देवेन्द्र कार्की: राष्ट्रिय सतर्कता केन्द्र
६. अर्जुन पोखरेल: उद्योग
७. दिनेश भट्टराई: वाणिज्य
८. महेन्द्र गुरागाई: लोकसेवा आयोग
९. वैकुण्ठ अर्याल: प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय
१०. देवकुमारी गुरागाई: उपराष्ट्रपति कार्यालय
११. केदार न्यौपाने: युवा तथा खेलकुद मन्त्रालय
१२. टेक नारायण पाण्डे: सार्वजनिक खरिद अनुगमन कार्यालय
१३. मणिराम गेलाल: राष्ट्रिय पुनर्निर्माण प्राधिकरण
१४. सुरेश आचार्य: नेपाल ट्रस्ट
१५. रामप्रसाद थपलिया: शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
१६. सुमन अर्याल: प्रदेश १ को प्रमुख सचिवमा पदस्थापन
१७. गोपीनाथ मैनाली: होल्ड