सरुवाको सूची संशोधन गराउन मन्त्री र सचिवकहाँ कर्मचारीको लबिङ
हालैमात्र उपसचिवमा बढूवा भएर पदस्थापन भएका केही कर्मचारी खटाएको ठाउँमा नजानका लागि जोडबल गरिरहेका छन् । उनीहरु सिंहदरबारमै टिकिरहनका लागि शक्तिकेन्द्रहरुमार्फत चलखेलमा लागिरहेका छन् । गृहले किस्ता किस्तामा गरी सिडिओसहित ८० भन्दा बढी कर्मचारीको सरुवा गरिसकेको छ भने सामान्य प्रशासनले किस्ता किस्तामा गरी उपसचिव तहका कर्मचारीहरुमात्र ५० हाराहारी कर्मचारी सरुवा गरिसकेको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई किस्तामा गरी ५० जना उपसचिव तहका कर्मचारीहरुको सरुवा गरिसकेको छ । सरुवाको लिष्ट निस्किएपछि एक जना उपसचिवले यतिको राम्रोसँग कहिल्यै सरुवा नभएको टिप्पणी गरे । इमान्दार ढंगले ती ५० उपसचिव खटाइएको ठाउँमा खट्ने हुने प्रशासन सुधारको शुरुवात हुने उनको टिप्पणी छ । तर अहिले सो सरुवाको सूची संशोधन गराउन कर्मचारी ट्रेड युनियनको पुच्छर समाएर सिंहदरवार नछाड्ने प्रयासमा लागेका छन्,केही कर्मचारीहरु ।
Advertisement 1
अहिले प्राविधिक कर्मचारीहरुको सरुवा गर्ने समय नभए पनि भौतिक पूर्वाधार मन्त्रालयले एकै पटक २० जना सहसचिवहरुलाई सरुवा गर्न भ्याइसकेको छ । अर्थले मातहतका एक दर्जन सहसचिवलाई चलाइसकेको छ । यस्तो सरुवा हरेक मन्त्रालयमा देख्न पाइन्छ । यसरी सरुवा भएकामध्ये अधिकांश कर्मचारीहरु सिंहदरबार छाडेर तल नजानका लागि लबिङ तिव्र पारिरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
सिंहदरमा बसेर कर्मचारी सरुवा,बढुवादेखि सामानको खरिद,विक्रीका नाममा समेत लाभ उठाउँदै आएका केही उपसचिवहरु संघीय मन्त्रालय छाडेर तल प्रदेश वा स्थानीय तहमा नजानका लागि जोडबल तिव्र पारिरहेका छन् ।
Advertisement 2
उसो त स्थनाीय तहमा सरुवा भएको भए पनि कर्मचारी संगठनकै बलमा यस अघि केदार देवकोटा नक्कली विरामी रिर्पोट बनाएर सिंहदरबार छोड्नु परेको थिएन । यस्तै,स्थानीय तहमा सरुवा भए पनि कर्मचारी ट्रेड युनियनका आडमा भोला पोखरेललाई संघ छाडेर तल झर्नु परेको थिएन । अहिले सरुवामा परेका केही कर्मचारीहरु तिनै कर्मचारी ट्रेड युनियनको पुच्छर समाएर सिंहदरबार छाडेर तल्ला निकायमा नजानका लागि जोडबल गरिरहेका छन् ।
यसरी सरुवा थमौतीका लागि मन्त्री अमनलाल मोदी र मेवा सचिवका रुपमा आलोचित कृष्णहरि पुष्करकोमा धाउनेको लाइनै लाग्न थालेको छ सिंहदरबारतिर । उनीहरु बिहानैदेखि मन्त्री र सचिवको कार्यकक्षमा अड्डा चाकडी गर्न तल्लीन छन् । तर लामो समयसम्म सिंहदरबारमा बसेर राज गर्दै आएका कर्मचारीहरु सरुवा रोक्नका लागि दौडधुपमा लागेका हुन् । उनीहरुले विभागीय मन्त्रीदेखि सचिव र शक्तिकेन्द्रमार्फत भनेर आफ्नो पक्षमा लबिङ गराउन लागेका हुन् ।
Advertisement 3
यता जसरी गृहले आफैंले बनाएको मापदण्ड कुल्चेर सिडियोहरुको सरुवा गरेको थियो उही ढंगबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समेत कर्मचारीको सरुवा गरेको भन्दै कतिपय जनप्रतिनिधिहरुले आक्रोश पोखेका छन् । त्यसरी आक्रोश पोख्नेमध्यका एक हुन,गजेन्द्र महर्जन । महर्जन,ललितपुरस्थित गोदावरी नगरपालिकाका मेयर हुन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्यहाँ नयाँ कर्मचारी पठाएपछि मेयर महर्जनले आपत्ति पोखेका छन् । सामान्यले आफैंले जारी गरेको परिपत्रको मसी नसुक्दै आफ्नो कर्मचारीलाई विना कारण सरुवा गरेको भन्दै उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्रै लेखेर मन्त्रालयले खटाएको कर्मचारीलाई हाजिर गराउन नसक्ने उनले तामाकोशी सन्देशलाई सुनाए । संघीय मामिला तथा सामान्य प्रशासनले अवधि नपुगी कुनै पनि कर्मचारीको सरुवा नगर्न परिपत्र गरेको भए पनि १४ महिनामै गोदावरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रवीण कोइरालालाई फिर्ता बोलाएर त्यहाँ श्रीधर के.सी.लाई खटाएको थियो । श्रीधर शहरीमा कार्यरत थिए ।
यसरी आफ्ना कर्मचारीलाई अपर्झट मन्त्रालयले फिर्ता बोलाएर नयाँ कर्मचारी खटाएको भन्दै गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले संघीय मामिला तथा सामान्य प्रशासनलाई पत्रै लेखेर नयाँ प्रशासकीय अधिकृतलाई हाजिर गराउन नसकिने जनाएका हुन । उनले भने,‘कि त कर्मचारीलाई सरुवा गर्नका लागि उसले केही बदमासी गरेको हुनुपर्यो । वा त न्यूनतम समय अवधि (दुई बर्ष)पूरा भएको हुनुपर्यो वा कार्यालयलाई केही नोक्सान गरेको वा काण्डमा फसेको हुनुपर्यो । राम्रो काम गरिरहेको कर्मचारीलाई हठात किन हटाउने ? मैले व्यक्तिको कुरा गरेको होइन,सिष्टमको कुरामात्र गरेको हुँ । त्यसमाथि अहिले नयाँ बजेट निर्माणका लागि तयारी भइरहेको छ । अरुलाई सिष्टम सिकाउने मन्त्रालयले आफू चाहिँ सिष्टममा हिड्नु पर्दैन् ? कोही पालिकाकालाई काखा र कसैलाई पाखा गरिएको प्रति’ समेत मेयर महर्जनले असन्तृष्टि पोखेका छन् । जस्तो सूर्य विनायक नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत साढे २ बर्षदेखि एकै व्यक्ति हुनुहुन्छ । गोदावरी नगरपालिकामा चाहिँ एक बर्षमै किन कार्यकारी फेरिनुपर्ने ?’