निमित्त सचिव नलिन अर्थ मन्त्रालयका कर्मचारीको ‘भागाभाग’

आर्थिक वर्षको अन्तिममा अर्थ मन्त्रालय मन्त्री र सचिवविहीन भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बुधबार विवादित बजेट निर्माणको प्रक्रियाको अनुसन्धानमा सघाउने भन्दै राजिनामा दिएका छन् ।
Advertisement 1
यही बेला अर्थसचिव मधुकुमार मरासिनी आकस्मिक बिदामा बसेका छन् भने राजस्वसचिव कृष्णहरी पुष्कर पूर्वनिर्धारित कार्यक्रम अनुसार अष्ट्रियाको भियनामामा छन् । संस्थान समन्वय महाशाखाका प्रमुख रमेशकुमार केसी पूर्वानिर्धारित कार्यक्रम अनुसार भारतको भ्रमणमा छन् ।
मन्त्रीले काम अह्राउने डरले मन्त्रालय आएका माथिल्लो तहका धेरै कर्मचारी दिनभर आफ्नो कोठामै बसेनन् । मन्त्रालयमा सहसचिवको ९ दरबन्दी रहेकामा १० जना कार्यरत छन् । मन्त्रालयका प्रशासन प्रमुख तथा सहसचिव केदारनाथ शर्मा घरायसी काम परेको भन्दै तीन दिन बिदा लिएर बागलुङ गएका छन् । उनी मन्त्रालयका वरिष्ठ सहसचिव हुन् । सहसचिव तथा बजेट महाशाखाका प्रमुख चक्र बुढा र प्रवक्ता तथा सहसचिव ढुण्डीप्रसाद निरौला भने मन्त्रालयमा दिनभर थिए । धेरैजसो सहसचिव बाहिरिएपछि उपसचिव र अधिकृत एउटै कोठामा भेला भएर बसेका थिए । ‘कर्मचारीमा एक प्रकारको अन्योल जस्तै थियो,’ एक अधिकृतले भने, ‘सचिव पनि अनिश्चितकालीन बिदामा बसेको खबरले अरू कर्मचारी भयमा देखिन्थे ।’
Advertisement 2
अर्थ मामिलाका जानकारहरु पनि आर्थिक वर्षको अन्त्य र नयाँ आर्थिक वर्षको सुरुआत हुने समयमा अर्थ मन्त्रालयमा मूल नेतृत्व नभए विभिन्न प्राविधिक समस्या तथा नीतिगत अड्चन पर्ने बताउँछन् ।