सहसचिव पौडेल सचिवमा बढुवा, श्रमसचिव भण्डारीले दिएको राजिनामा स्विकृत

काठमाडौं । सरकारले सहसचिव चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा कर्णाली प्रदेशका कायम मुकायम प्रमुख सचिव पौडेललाई बढुवा गर्ने निर्णय गरेको हो ।
Advertisement 1
बढुवा सिफारिस समितिको पाँच गतेको बैठकले पहिलो नम्बरमा सहसचिव चूडामणि पौडेल, दोस्रो नम्बरमा डा. हरि लम्साल र तेस्रो नम्बरमा केदारनाथ शर्माको नाम सिफारिस गरेको थियो । जसमध्ये पहिलो नम्बरमा सिफारिस पौडेललाई सरकारले सचिवमा बढुवा गरेको हो । दोस्रो नम्बरमा सिफारिस भएका लम्साल सुदूरपश्चिम प्रदेशको कामु प्रमुख सचिव र शर्मा कोशी प्रदेशको कामु प्रमुख सचिवको जिम्मेवारीमा छन् ।
बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीको राजीनामा स्वीकृत गरेको छ । चैत ११ गतेदेखि अनिवार्य अवकाशमा जान लागेका भण्डारीले दिएको राजिनामा मन्त्रिपरिषद् बैठकले स्विकृत गरेको हो ।
Advertisement 2
निजामती सेवा ऐन, २०४९ को दफा ३७ अनुसार २०४९ कात्तिक २१ अगाडि सेवा प्रवेश गरेर ३० वर्ष सेवा अवधि पूरा भएका कर्मचारीले त्यसरी अनिवार्य अवकाश हुन अगाडि स्वेच्छिक अवकाश (राजीनामा) रोज्दा ६० वर्ष पुग्न बाँकी अवधि थपेर गणना हुने र त्यसैको आधारमा पेन्सन पाउने व्यवस्था भएकोले अगाडी नै राजीनामा दिँदै आएका छन् । कर्मचारीले ५८ वर्षे उमेर हदबन्दी पूरा गरेपछि स्वतः अवकाश पाउँछ, तर सचिवले उमेर नपुग्दै पाँच वर्षे कार्यकाल सकिएपछि अवकाश पाउने भएकाले सो प्रावधान राखिँदै आइएको छ ।
बैठकले राष्ट्रिय योजना आयोगमा रिक्त चार सदस्य नियुक्त गरेको छ । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका अनुसार आयोगको रिक्त चार सदस्य पदमा संगीता सिंह, कुसेन्द्रबहादुर महत, शिवराज अधिकारी, अरनिकोकुमार पाँडेलाई नियुक्त गर्ने निर्णय भएको हो । बैठकले नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा कोरियाली सात जना र नेपाली तीन जना गरी दश जना पर्वतारोहीलाई सिन्धुपाल्चोकको जुगल हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा दिने निर्णय गरेको छ।
Advertisement 3