भुकम्पका डोबहरु – १

मन्जु थापा आन्नद
Advertisement 1
विहानको दुई बजि सक्यो अझै निदाउन सकेको होइन । विहान ४ बजे शुरु हुने दैनिकीले आज गाल्न सकेको थिएन मलाई । सिरानीसंग कति लड्नु, झर्को लाग्यो, उठेर फेस बुक खोले, च्याट टर्न अफ भएको धेरै भईसकेको थियो । अन गर्न पनि मन लागेन, को संग के कुरा गर्न अन गर्नु ? कोही अन लाईन हुन वा नहुनुले फरक पार्न छोडेको छ आजकल मलाई । मेसेज बक्समा मेसेज थियो उसको “वेर यु लस्ट, होपिङ्ग गोइङ्ग वेल” । प्रतिकृया दिन मन लाग्योे “एम गुड, गोइङ्ग वेल” तर खै किन हो यी औलाहरु मानेनन् । अनायसै उसको प्रोफाइलमा गए औलाहरु, गाढा रातो शर्टमा आज पनि उ उस्तै मुस्कुराईरहेको थियो, मेरै लागि मुस्कुराए जस्तो, मनै कायल बनाउने निश्चल मुस्कान, धेरै बेर हेरी रहे, मन भरीएन जति हेरे पनि तर केही हलुंगो महसुस भयो । मेरो मानसपटलमा फेरी त्यो दिनको दृष्य आयो ।
शनिबार छुट्टीको दिन भएकोले घरको काम सकाएर सुन्धारा पुगेको थिए, विगतको १५ वर्षमा कहिले नजागेको मृगतृष्णा जागेर, धरहराको टुप्पोबाट नियाल्दै थिए एउटा सिमेन्ट र वालुवाको मृत जंगललाई । आज पनि सदा झै मेरो दिन रिसाएर मबाट टाढै बसेको थियो । छेउमा एउटा नवविवाहित जस्तो देखिने जोडी सेल्फी खिच्दै थियो । उनीहरुको हर्ष देख्दा लाग्थ्यो उनीहरु धरहराको टुप्पोमा नभई चन्द्रमामा छन् । भन्न त नहुने तर उनीहरुको खुसी देखेर मलाई कता कता ईष्या पनि लाग्यो । आमा हुन्जेल विवाहका प्रस्तावहरु निरन्तर आईरहन्थे तर खै किन हो कोही बढी नै परिपक्क लागे कोही अपरिपक्क, कोही बढी नै व्यवहारीक कोही अव्यवहारीक, कोही बढी नै पढेको कोही कम पढेको अनि कोही बढी गोरो कोही कम गोरो मनै तयार भएन । आमा नभए पछि मेरो परिवार खै कहा व्यस्त छ, दौडीरहेछ, काठमाण्डौको सडक जस्तो बिना उद्देश्य । अनि मेरो जीवन एस.इ.इ. दिने विद्यार्थीको समय तालिका जस्तो, यसो त बाहिर देखाउन मिल्ने दुःख थिएन तर भित्रबाट रमाउने खुसी पनि थिएन । शान्त अप्रचलित कुवाको पानी जस्तो । करिव बीस जना भएको धरहराको टुप्पोमा, असी जना कर्मचारी भएको कार्यालयमा, चालिस जना भन्दा बढी बस्ने घरमा, बीस लाखको हाराहारीमा जनसंख्या भएको शहरमा एक्लो थिए म । खुसी बाड्ने साथ थिएन, दुख्दा रुने काध थिएन ।
Advertisement 2
अचानक बासको टुप्पो हल्लिए जस्तो गरी हल्लियो धरहरा, मेरो मस्तिष्कले केही सोच्नै सकेन, आत्तिएर कसैको हात समाए मैले । उसले तानेर अंगालो हाल्यो मलाइ । चारैतिर एउटै चित्कार नारायण नारायण, अंगालो हाल्नेलाई दोहोरो अंगालो कसी म पनि कराए नारायण नारायण । अनौठो अनुभव थियो त्यो, कहिले आफुलाई आस्तिकको वर्गमा नराख्ने म नारायण नारायण चिच्याउदै थिए । क्षण भरमै केही भाचिएको आवाज आयो, हामी एक अर्कालाइ अंगालोमा कस्दै तल तिर झरिरहेको महसुस भयो । त्यस पछि केही याद छैन । चेतना आउदा म कसैको कसिलो अंगालोमा, श्वासको नजिक थिए । मलाई कसेको अंगालो खुकुलो हुदै गयो । मेरो मन कता कता चिसो भयो । उ बिस्तारै उठ्यो, धन्न उसलाई केही भएको रहेनछ । बिस्तारै मलाई उठायो, मेरो देबे्र खुट्टामा पिडा थियो सायद मर्किएको थियो । मैले उसलाई नियालेर हेरे, करिब ४० वर्षको पुरुष, कालो भन्यो भने उसलाई अन्याय हुने अनि गहुगोरो भन्दा गहुगोरोलाई अन्याय हुने रंग थियो उसको, मध्यम उचाइ, उचाइको तुलनामा हुनु पर्ने भन्दा अलि बढी वजन । छेवैमा अघिको सेल्फी जोडी एक अर्काको अंगालोमा चिर निन्द्रामा परिसकेको थियो । आमाको मृत्यु पछि खडेरी लागेका आखामा वाढी नै आयो त्यो दृश्य देखेर । केही क्षण अघिको चित्कार शुन्यतामा परिणत भैसकेको थियो । धरहरा आज समसान भएको थियो ।
कोठामा मलाई पर्खी बस्ने त कोही थिएन तर खै किन हो कोठा कै याद आयो, हतारिएर फर्के म खै कसको बाइकमा फर्किए चेत नै छैन तर सायद प्रहरी थियो जस्तो लाग्छ । घरमा बस्ने सबैको नजिकैको स्कुलको मैदानमा बस्ने सल्लाह भएको रहेछ । म पनि मर्किएको खुट्टा घिसार्दै स्कुलको मैदानमा पुगे । स्कुलको गेटमा त्यही अनुहार, एउटा विरानो शहरमा उ आफन्त झै लाग्यो मलाई, मैदानको एक छेउमा प्लाष्टिकको चकटी ओछ्याएर बस्यौ हामी, अनि शुरु भयो उसको नरोकिने बोली, उसले आफ्नो बारेमा सबै भन्यो मैले सोध्न नभ्याउदै , म माथि पनि धेरै प्रश्नहरुको ओइरो लाग्यो, खुरुखुरु उत्तर दिए एक आज्ञाकारी छात्रा जस्तो गरी । उ अलि चर्को स्वर भएको, बढी बोल्नु पर्ने मान्छे, अनि म चाही त्यसै त कम बोल्ने, त्यसमा पनि म त्राशमा थिए त्यो दिन । वरीपरी हेरे त्राशमा निलिएका अनुहारहरु मात्र थिए । आज प्रकृतीले धनी गरीब, साना ठुला , काला गोरा, अग्ला होचा सबैलाइ एउटै धरातलमा ल्याएको थियो । छेवैमा एक जना सभासदको नाति बाडिएको चिउरा चाउचाउले नअघाएर रोईरहेको थियो । साझ एउटा अपुष्ट र गोप्य संदेश आइपुग्यो, नजिकैको पार्टी प्यालेसमा खाना बाड्दै छन् रे । बिहानको खाना पछि पेटमा केही परेको थिएन, सुटक्क लाईन बस्न गयौ हामी, सबैले थाहा पाए भिड बढी भएर खाना नपाइएला भन्ने डर । तातो खानाको आश लिएर गएका हामी एक मुठी चिउरा र चुक परेको दहीमा चित्त बुझाउनु पर्यो त्यो पनि दुइ घण्टा कुरेर खै को जर्मनीमा बस्ने नेपालीले प्रायोजन गरेको रे । आजको रात मैदानमा काट्नु थियो, राती करिब दश बजे बाट पानी पर्न शुरु भयो । छाता थिएन ज्यान जोगाउन गएको हामी, छाता सम्झने कुरै भएन । चर्केको कक्षा कोठामा शरण लिन पुग्यौ, राम्ररी बस्न नपाउदै धररर जमिन हल्लिन थाल्यो, म राम्ररी हिड्न पनि नसक्ने हुनोले उसले घिसार्दै कोठा बाहिर ल्यायो । फेरी बेसरी पानी दर्कियो, फेरी घर्सदै कोठा भित्र अनि फेरी भुइ धररर, लुकामारी चलिरह्यो । लाग्थ्यो आज प्रकृती नै क्रोधित भई सबैलाई सिध्याउने संकल्प लिएकी थिइन् । म थाके चल्न सकिन, समर्पण गरे । उ घरि घरि उठ्थ्यो जमिनको थर्काइसंगै तर बाहिर गएन । सायद मलाई एक्लै छोड्न मन लागेन । करिब बिहान छ बजे आंखा खुल्दा उ मेरो छेउमा निदाएको थियो । यति नजिक उसको श्वासप्रश्वासलाई अनुभव गरेकी थिए मैले दोस्रो पटक, एउटा परपुरुषको गन्ध खै किन हो आफ्नै लागिरहेको थियो ।
Advertisement 3
त्यसै दिन साझ फेस बुक खोले, उसको पे्रmन्ड रीक्वेष्ट आएको रहेछ । के खोजिस् कानो आखो भयो मलाई, हर्षका साथ स्वीकारे । भुकम्पको त्राश बीच मृत्यु मुखबाट शुरु भएको हाम्रो सामिप्यताले फेस बुक माफत् हुर्कने मौका पायो । त्यस पछिका प्रत्येक पराकम्पनमा उसको कसिलो अंगालो र न्यानो श्वासलाई महसुस गर्थे म । सायद त्यसैले होला, त्रासदीपुर्ण दिनहरु पनि रंगिनै थिए मेरा लागि । उसको एउटा छोटो प्रतिकृया पनि प्रसस्त हुन्थ्यो मेरा ठुस्स दिनलाई हसाउन, त्यसै त्यसै भित्र भित्रै रमाई रहन्थे म । यसो त कुनै लत थिएन मेरो विहान बेलुकाको दाल भात बाहेक, दाल भातमा अर्को परिकार थपियो उ । बाहिरबाट देखिने शिक्षित, विवेकशिल, सफल र परिपक्क खोल भित्र लुकेको शुन्यता बाडेको थियो उसले । व्यस्त दैनिकीबाट दुई चार घंटा चोर्थे मैले, राती ढिलो सुत्थे अनि विहान छिटो उठ्थे, घाटा समय व्यवस्थापन गर्न । बिगत १५ वर्षमा कहिलै आफ्नो नलागेको काठमाण्डौं, आफ्नो भएको थियो आज । उसको सामिप्यताले ओठमा मुस्कान र जीवनमा उर्जा दिएको थियो । लाग्थ्यो समय यही रोकियोस् सधैका लागि । अस्ति जस्तो लाग्छ, ईन्धनको अभावले स्कुटर घरमा थन्केको थियो । धेरै बेर कुर्दा पनि गाडी आएन , हिडेरै अफिसबाट फर्कदै थिए । एउटा कालो टक्सन मेरो छेउमा आएर रोकियो, त्यही अनुहार, मेरो हर्षको सिमा थिएन, सायदै कसैलाई भेट्दा यति खुसी भए होला म, उसको आग्रहलाई सहजै स्वीकार्दै कारको अगाडी सिटमा बसे । पछाडी सिटमा एक अधवैशे महिला र सुस्त मनिस्थिति जस्तो देखिने करिब १२ वर्षकी बच्ची थिइन्, ती महिलाले घरि घरि बच्चीको ¥याल पुछिरहेकी थिइन् । मेरो उत्सुकतालाई बुझेरै होला उसले ती महिलालाई पत्नी र बच्चीलाई छोरी भनि परिचय गरायो । बिस्तारै मेरो मन धमिलिदै गयो । अघिको मेरो खुशी कता हरायो कता, मनमा कता कता ती महिलालाई देखेर इष्र्या पनि जाग्यो । हुनत उसले केही लुकाएको थिएन, तर जानकार हुनु र साक्षात्कार हुनुमा फरक हुदो रहेछ । नियालेर हेरे,उनी रातो धोतीमा थिइन् । सहजै अनुमान लगाउन सकिन्थ्यो उनी नितान्त घरेलु थिइन् । शिक्षा पनि सायद स्कुल भन्दा बढी थिएन होला । उनको आखामा प्रश्नहरुको आधी वेरी नै थियो तर खै किन हो ओठमा अनौठो शुन्यता थियो । मैले घोत्लिएर विचार गरे, सरकारी जागिर, शिक्षाको ज्योती, स्वाभिमान, दुई चारवटा रगतको नाताहरु, दुई चारवटा साथीहरु अनि सबै भन्दा महत्वपुर्ण आत्मबिश्वास थियो म संग उ बाहेक तर उनी कति निरिह , बिचरीसंग पति बाहेक केही थिएन, समाउने डाली पनि उही, टेक्ने भुई पनि उही, त्यही पनि कसैले चोर्ला भन्ने कत्रो त्राश थियो उनमा ।
फुल्न त एउटा फुल नै फुलेको थियो हामी बीच, न यसले कुनै मन्दिर पायो, न कसैको शुभकामनाको प्रतिक बन्यो, न कुनै वैठकको शोभा बढायो । उसको र मेरो सामिप्यताको नामाकरण भयो आज “बेमौसमको फुल” फुल्यो अनि ओइलियो, छुनु त परैको कुरा हो हेर्ने धित पनि नमर्दै । सधै बिझ्ने छ दुई मुटु बीच कांडा बनेर, सताउने छ सधै कहिले नमेटीने मृगतृष्णा बनेर । उसलाई देखे, अनुभव गरे , उसका मिठा कुरामा रमाए, उससंगै सपनाको संसारमा हराए, उसलाई पाइन के भो त ? सधै नाफा मै हुनु पर्ने व्यापार पनि होइन प्रेम, त्यो त एउटा नितान्त व्यक्तिगत अनुभव थियो जसले मैले लिने प्रत्येक श्वासलाई बैधता दियोे । एउटा कल्पना मेरो मनमा सधै आईरहन्थ्यो, यदि आवेदन भरेर परिक्षा दिइ उसलाई पाउने भए कसैलाई प्रथम हुन दिने थिइन मैले । कता गएर गुनासो गर्नु समयले मेरो पोल्टामा यस्तो सुनौलो अवसर पारेको थिएन । सोच्थे भुकम्प पहिले किन आएन ? सायद केही समय पहिले आएको भए मेरो कथा अर्कै हुन्थ्यो आज । मलाई ज्ञात थियो, मेरो श्याम श्वेत जीवन जुन रंगले रंगिएको थियो त्यो मेरो थिएन, समपर्ण गरेको थियो उसले कसैको भागबाट चोरेर । यसै पनि दुई शिक्षित, सफल, परिपक्क र विवेकशिल व्यक्तिहरुको बिचमा समाजले भन्ने गरेको असमाजिक र अनैतिक सम्बन्ध हुर्किरहेको थियो । मेरो ल्यापटपको स्क्रीनमा अझै पनि उसको न कालो न गोरो अनुहार मुस्कुराई रहेकै थियो । यस पटक उसको मुस्कानमा पिडा मिस्रित प्रश्न थियो मेरो लागि । धेरै बेर हेरीरहे, कमजोर हुदै गए म, आखा रसाए, देब्रे छाती भित्र मुटु दुखेर चुडिएला जस्तो भयो, संवेदना थाम्नै सकिन, पहिलो त होईन तर सायद अन्तिम पटक चुमे उसको तस्विरलाई । खै के भयो मलाई, अनपे्रmन्ड गरे उसलाई फेसबुकको खाताबाट अनि मेरो जीवनको खाताबाट, सधैको लागि…।
६ वर्ष पछि
सम्बन्धहरु पनि अनौठा हुदा रहेछन् कोही जोडेर नजोडिने कोही तोडेर नतोडिने । उ जीवनमा आएपछि भौतिक रुपमा संगै नहुदा पनि कहिलै एक्लो महशुस गरिन मैले । सदा झै बिहान हुन्थ्यो, दिउसो हुन्थ्यो, साझ पथ्र्यो , जीवन चलेकै थियो । छ वटा वर्ष कसरी चिप्ले थाहै भएन । यस बिचमा जीवनले करियर प्रगतीको स्वाद पाएकै थियो । कहिले काही ध्यान केन्द्रतिर पनि यो मन लागेकै थियो ।
ढिलोमा पौने दश बजे कार्यालय पुग्ने मेरो बानी कहिले परिवर्तन भएन । त्यसदिन त झन साढे नौ बजेतिरै पुगेकी थिए । मलाई त्यति मन नपरेको तर कार्यालयले सुविधा स्वरुप उपलब्ध गराएको रातो सेट्रो कारबाट ओर्लन नपाई विष्ट दाईले “मार्ट साप हजुरलाई भेट्न कोहीे आएको छ ।” भने । झन्को छुट्यो दशै नबजि काम लिएर आउने को रहेछ भनि । साढे दश बजे पठाउनु क्याबिनमा झोकमै भने । कार्यालयमा एक दई वटा भजन पछि मात्र दैनिकी सुरु गर्ने बानी छ मेरो । त्यसदिन त झन् चार पाँच वटा नै सिध्याए, छिटो कार्यालय पुगेको भरपुर फाइदा लिन । म आफ्नै धुनमा थिए, क्याबिनको ढोका ढक्ढकायो कसैले । अघि देखि कसैलाई पर्खाएको याद भो, हत्तेरी । औसत उचाई भन्दा अग्ली, दुब्ली पातली, गडेका चिम्रा आखा, चुच्चे बाहुने नाक र पातला ओठसितकी पहाडे समाजमा काली नै मानिने, सादा हरीयो सारीमा एक अधबैसे महिला मेरो अगाडी थिइन् । चिन्न समय लागेन मलाई, उनी उसैकी पत्नी थिइन् । उनीलाई मैले कसरी बिर्सन सक्थे र ? मन भित्र पैरो चल्यो । मनको पैरोलाई ढाक्दै जबरजस्ती एक धर्को मुस्कुराए र सोधे आउनु को कारण । सायद उनले असहज मानिन्, केही बोलिनन् । उनका आखा मेरो पछाडी भित्तामा टागिएको बुद्धको तस्विरमा थियो तर मन कहा थियो कहा । हुनसक्छ मलाई सौता मानेर मनमनै सराप्दै पो थिइन् कि ? भौतिक रुपमा नभए पनि भावनात्मक रुपमा सौता नै थिए म उनको जसलाई आफ्नै विवेकले लखेटेको थियो छ वर्ष अगाडी । यतिकैमा विष्ट दाई आइपुगे हरियो चिया लिएर । उनलाई भित्र कसैलाई नपठाउनु भनि इसारा गरे । विष्ट दाई र मेरो दुई चार वटा यस्ता संकेतहरु छन् जुन उनी र म मात्र बुझ्दछौ । कार्यालय जीवनमा आवश्यक रहेछ यस्ता कुराहरु पनि । चिया पिउन्जेल शुन्य भयो क्याबिन । चियाको अन्तिम चुस्की लिएर कप टेबलमा राख्दै “म तपाईलाई लिन आएको ।” अध्यारो मुख पारेर भनिन् उनले । मैले कुरै बुझिन, अलमल्ल परे ।
उनले बिस्तारै मनको ढोका उर्घादै गइन् “सामान्य थियो हाम्रो वैवाहिक जीवन । करिब दुई वर्ष अगाडी बानीका हिसाबले धेरै बोलिरहने उहा एक्कासी बोल्न छाड्नु भो । ढोका लगाएर एक्लै बस्ने, सानो सानो कुरामा चिढिने रिसाउने सामान्य नै भयो । सुरु सुरुमा त कामको दबाबले होला भनि सामान्य रुपमै लिए मैले । उहाले बिस्तरै खाना छोड्नु भयो । अनि बिस्तारा छोड्न नसक्ने गरी कमजोर हुनुभयो । परिक्षणमा केही कैफियत नभेटे पछि चिकित्सकले उहाँलाई डिप्रेसन भएको भनि निरुपण गरे । औषधी र हेरचाह पुरयाउदा पनि उहाको मानसिक अवस्थामा सुधार हुन सकेन । उपचार चलिरहयो । ६ महिना पहिले अचानक हराउनु भयो घरैबाट । धेरै खोजियो । कसैले यता ४ दिन पहिले देखेको, कसैले १० दिन पहिले उता देखेको भन्थे तर उहाँ भेटिनु भएन । करिब १ महिना अघि फोन आयो देवघाटबाट, फोन नं. रहेछ उहाको पकेट भएको भिजिटिङ कार्डमा । उहाँ बेहोश अवस्थामा भेटिनु भएको रहेछ त्यहा । अस्पतालमा होश आएपछि उहाँ आफैलाई हानी पुरयाउने कोशिश गरी गरिरहनु हुन्छ । सबै कुरा निस्सार लागेर बाच्न मन लाग्दैन रे उहालाई । अस्ति उहाको जना मन मिल्ने साथी आएका थिए अस्पतालमा । उनले भन्न हुने हो होइन थाहा छैन दाइले एक जना केटीलाई एक दम मनपराउथ्यो । उनीहरु प्रेम सम्बन्धमा थिए । एक दिन आएर धेरै रोयो दाई, सोध्दा केही भनेन । हुन सक्छ कारण त्यही हो दाईको यो अवस्थाको भने । अहिले उहाको जीवन रक्षा मेरो लागि सबै भन्दा प्राथमिकताको विषय हो । कृपया एक पटक उहालाई भेट्नुस्, तपाईमा आशाको किरण र जीवनको सार भेट्नु हुन्छ की उहाले ।” रुच्ने स्वरमा भनिन् । म शुन्य भएको थिए । जसलाई बिसर्न किताबी मेहनतले नपुगेर आध्यात्मको साहारा लिएको थिए । उसैका बारेमा यति सुन्नु पर्ला भन्ने चिताएकै थिइन । प्रतिकृयाका लागि मसंग न भाव थिए न शब्द । फेरी मौनताले घेर्यो हाम्रो परिवेशलाई ।
पतिका हरेक आवश्यकता पुरा गर्नु आफ्नो परम कर्तव्य ठानिन् होला उनले । जीवनका सुख दुखमा छाया बनिन होला बिचरीे । आज समयले उनैलाई आफ्नै पतिको भन्ने गरिएको अर्की आइमाईको सामु निवेदन लिएर पुरयाएको थियो । उनले लाखौ पटक सोचिन् होला म कहा आउनु अगाडी । मुटु र पाइला कति भारी भए होलान् उनको । आफ्नो जीवन भरीको सुरक्षालाई जोखिममा पारी पत्नी हुनुको अभिमानलाई मारेर आएकी थिइन् उनी मात्र पतिको सकुशलताको लागि । प्रेम नै त थियो यो उनको । म कसरी निरास बनाउ ।
ललितपुर मानसिक अस्पताल बेड नं. २२, जब म त्यहा पुगे स्तब्ध भए । हात खुट्टा बाधेर राखिएको थियो । बेहोश थियो उ । नर्सले केही बेर अगाडी नियन्त्रण गर्न नसकि निदाउने सुई लागाइदिएको रे । बेडको छेवैमा भएको स्टीलको स्टुलमा बसे म । उसलाई नियालेर हेरे । उसको कालो कालो अनुहार निलै भइसकेछ । पोटिलो उसको शरिरमा अब हाड छाला मात्र बाकी भएछ । मलाई सधै मोहित पार्ने उसका रसिला ओठ सुकेर काठै भएछन् । कतै बाहिर भेटेको भए उसलाई ठम्याउन सक्ने थिइन । यो मन पग्लिएर आखाबाट बगिरहेको थियो । एक शब्द पनि नबोली उसको जीवनबाट बाहिरीएकोमा ग्लानी भयो मलाई । धेरै बेर पछि उसको शरिर चलमल गर्यो । बिस्तारै उसले आखा खोल्यो ।
उसले आखा नझिम्क्याइ एककोहोरो हेरी रहयो । धेरैबेर पछि सुकेका उसका ओठमा बल गरी मुस्कान कोर्ने कोशिस संगै “यस जुनीमा तिमी संग भेट हुन्छ जस्तो लागेको थिएन सानु” भन्यो उसले । “जीवनमा सबै ढोका कहिले बन्द हुदैनन् । आशा जीवनको अर्को नाम हो ।” मैले सानो स्वरमा प्रतिकृया दिए । अघिको औषधीले छोडेको थिएन उसलाई । उ फेरी निदायो । म उसलाई धित मरुन्जेल हेरीरहे । जसरी पनि समय मिलाएर दिनमा एक पटक पुग्थे म अस्पताल । जति बेला पुगे पनि उ मेरै बाटो कुरेर बसेको हुन्थ्यो । मलाई भेटेपछि आशाको धर्सो भेटेको थियो उसले । केही दिनमै उसलाई बाधेका डोरीहरु फुस्किए । स्वास्थ्यमा सुधार आयो । केही समय पछि अस्पतालबाट डिस्चार्ज भयो उ ।
अस्पतालबाट डिस्चार्ज भएको करिब एक महिना पछि हामी पहिले भेट्ने गरेको बेकरी क्याफे बानेश्वरमा बोलायो उसले । पुर्ण निको भएसकेको थियो उ । कहिले नओइलाउने उसको स्फुर्ती फर्कीसकेको थियो । रातो गुलाबको बुके र मलाई अति मनपर्नै बन्टी चकलेट पनि ल्याएको रहेछ । बडो उल्लासका साथ दियो । मैले पनि सानी बालिका झै फुर्किदै समाए । क्याफेचिनोको चुस्की संगै “म आज जति खुसी कहिले थिइन सानु ।” हौसिदै भन्यो उसले । मैले कारण सोधे “सरलाले तपाईको खुसी उतै छ जानुस् ।” भनिन रे । मैले प्रश्न गरे “हामी किनसंगै बस्ने ?” उसले रोमान्चित हुदै उत्तर दियो “किनकी म तिमीलाई अनन्त प्रेम गर्छु । ”
मैले भन्दै गए “हेर्नुस सगै बस्नुसंग प्रेमको के सम्बन्ध ? हाम्रो प्रेम संगै बसेर भएको हो र ? संगै नबस्दा हराउने । संगै बस्दैमा प्रेम हुने भए तपाईको प्रेम सरलासंग हुने थियो । प्रेम त कसैको निम्ति हृदयमा भएको मधुर भावना हो जसले जीवनमा मिठास ल्याउछ । विगतमा आफैलाई हानी पुर्याउनु भयो कारण म संग प्रेम भएर होइन । मैले मनपराएको चिज मसंग हुनुपर्छ भन्ने भावले हो । यो अहंकार हो । प्रेमले तिमी मसंग बस्नु पर्छ भन्दैन बरु तिमी जहा हुनु खुसी हुनु भन्छ । सरलाको प्रेमलाई हेर्नुस, खुसी छिन् उनी तपाइको खुसीमा । अपेक्षा छोडेकी छन् उनले । जबकी सबै भन्दा बढी आवश्यकता तपाईको छ उनलाई । प्रेम यति चेतनाहिन त हुनसक्दैन । ”
तिम्रा लागि कति सरल छ है सानु यी सबै कुरा ? फेरी उसले फेरी प्रश्न गर्यो ।
मैले स्पष्ट पार्दै गए “मेरा लागि सरल छन् किनकी प्रेममा बाचेकी छु । गुनासो गर्न जानेको छैन मैले । न विगत उर्धान चाहन्छु । न भविष्य बुन्न । जीवनले जे दिन्छ त्यसैलाई भरपुर जिउछु । जुन दिन मलाई साचो प्रेम गर्नु हुनेछ । मलाई खोज्नु पर्ने छैन, जहातही भेटिने छु, सरलामा पनि म नै हुनेछु । स्वार्थलाई प्रेमको खोल नओढाउनुहोस् । प्रेम त त्यो स्तरको आनन्दको नाम हो जसले राधा कृष्ण जस्ता चेतनाहरु जन्माउछ । ”
उ केही बोलेन एककोहोरो हेरीरहयो मलाई । अघिको खुसी हराएको थियो उसको । अनुहार ओइलाएको थियो । गहभरी आसु थिए । मनै अमिलो पार्यो उसले । धेरै बेर पछि खै के सोच्यो एक्कासी “जुन दिन तिमीले भनेको जस्तो प्रेम दिन सक्षम हुनेछु, त्यस दिन मात्र म भेट्नेछु तिमीलाई ।” भन्दै खुट्टा भारी पारेर क्याफेबाट निस्कीयो उ । देखिउन्जेल सम्म हेरीरहे मैले । टेबल माथिको बुके र चकलेटले अझ पनि मलाई प्रेमपुर्वक हेरिरहेकै थिए ।