ठुल्दाई (कथा)


Advertisement 1

हवाइजहाज उड्न लागेको थियो । एक सुन्दरी कृतिम मुस्कानका साथ कम्मर पेटी लगाउन सिकाउदै थिइन् । हवाइजहाजले भुई छोड्दा निकै डर लाग्छ मलाई अरुलाई लाग्छ कि लाग्दैन कुन्नी ? हिजो ठुल्दाईको फोन आयो धेरै पछि,भने “ए कान्छी घर आइज त ।”केही काम थियो र ? भन्न नभ्यार्इ फोन राखे उनले ।
नेपाली समाजमा ठुलोे हुनुको फाइदा सानाको कुरै सुन्नु नपर्ने । बा आमाका आध ादर्जन सन्तानमध्ये कान्छी म । त्यसैले सबैकीकान्छी । बा ५० बर्षको हुदा जन्मेको रे म । अनि ठुल्दाई भर्ती भाको बर्ष, ३० वर्षको खाडल थियो हामीबीच । ठुल्दाईको कान्छो छोरा भन्दा कान्छी म । लुरी फुपु भन्थ्यो मलाई, बेलाबखत ढुस्काउथ्यो आमाको आखा छलेर । पुस्तौली परम्परा तोड्दै सडक विभागको इन्जीनियर भाको छ अचेल उ ।
गोर्खा पल्टने ठुल्दाईका ब्याजी साथी रहेछन् एक जना क्याप्टेन र उसको एउटै डाक्टर छोरो । पुख्र्यौली सम्पत्ति प्रशस्त भएको क्याप्टेनको अनुशासित डाक्टर छोरालाई कसले ज्वाई बनाउनु नचाहला ? बिहेको कुरो चालाएका रहेछन् उनले । म बि.बि.ए.पढ्दै थिए त्यति बेला ।
आमासंग बिहे नगर्ने घुर्की लगाएको थाहा पाई निकै कड्किए उनी । बुढी हुन्छे भन्ने तर्क ठुल्दाईको, कति न विवाह गरेसी मेरो उमेरै रोकिएला जस्तो । हाम्रो घरमा महाभारत भएको दोश्रो दिन आइपुग्यो डाक्टर आफ्नो बुबासंग ।
म अझै सम्झन्छु, परेड नै खेलेको जस्तो अनुशासित थियो उसको चाल । गोरो चौडा मुहार, छोटो र मोटो नाक,लोलाएका ठुला आखा, चौडा छाती, मध्यम उचाई, कसरतले होला निकै कसिलो र आर्कषक उसको जिउडाल, औपचारिक पहिरन निलो कोट पाइन्ट र आकाशे शर्ट ।अरुबेला पनि त्यस्तै होकी थाहा भएन तर त्यसदिन निकै कम बोल्यो उ ।
हजुर र हस्बाहेक अन्य शब्द निस्कन गाह्रो उसको मुखराबिन्दुबाट ।
एउटै मात्राको मुस्कान स्थायी रुपमै टासिएको उसको अधरमा । चिया पकाउने पस्कने डिउटी परेको थियो मेरो । यो परम्परा अनौठो लाग्छ मलाई, जीवन साथीको खोजी हो कि भान्सेको बुझ्न गाह्रो । गुलाबी उमेरले हो कि त्यस केटाकोे बाहिरी रुपले हो, प्रभाव पारिसकेको थियो मलाई भित्रभित्र ।
मैले अस्वीकृति जनाइन, परिवारले मेरो स्वीकृति खोजेन । केटो देखेको एक हप्ताभित्र जनै सुपारी भो हाम्रो । जनै सुपारीको दिन म उसंग केही कुरा गर्न चाहन्थे तर लाजले बोल्न सकिन, उ पनि बोलेन । यस्तो कुरामा पुरुषले इनिसियसन लिन्छनि, कति नजानेको त्यो अनाडीले ।
अर्को महिना विवाह तय भएको थियो हाम्रो ।
उ त्यतिबेल ापाल्पाको तानसेन मिशन हस्पिटलमा कामगथ्र्यो । एक पटक एक्लै भेट्न चाहन्थे म विहेअगाडि । आट गरी साइली फुपुलाई फोन गरेर म आउछु है भने । अनि घरमा फुपुले बोलाकी छन् भनि ठाटेर हिडे पाल्पातिर । अहिले जस्तो मोबाइलको जमाना थिएन । केहीकोही विशेषसंग मात्र मोबाइल हुन्थ्यो ।
म विद्यार्थीसंग हुने कुरै भएन । उसको नम्बर थाहा थिएन अस्पतालमै फोन गरे सार्वजनिक फोन बुथबाट । विहानीको सिफ्ट भएकोले ४ बजेतिर भेट्ने कुरा गर्यो उसले । । संगै बसेपछि मात्र मान्छे चिनिन्छ भनेको सुनेकी थिइ मैले । विहे अघि संगै बस्न त सम्भव थिएन तर उ बसेको वातावरण हेरेर उसलाई बुझ्न चाहन्थे म । मान्छेले ढाट्ला तर वस्तु स्थितिले त ढाटदैन नि, यो चाही मेरो तर्क । तानसेन अपरिचित शहर भएकोे बाहानापारी म उसैको डेरामा पुगे । तानसेन मिशन अस्पतालको हाता भित्र डेरा नम्बर १५ । घण्टी बजाउन नपाइ ढोकाखोल्यो उसले । यस्तो लाग्थ्यो उसका आखा ढोकैमा अडेका थिए । पहेलो टि शर्ट र निलो जिन्समाथियो उ ।
अनौपचारीक पहिरनमा उ अझ आर्कषक देखिएको थियो । उसको गोरो अनुहारमा पाल्पाको चिसो हावापानी होला अझ कान्ती आएको थियो । जब उसका र मेरा आखा जुधे लाज र अनौठो काउकुतीले डल्लिए म । जीवनमा पहिलो पटक कुनै पुरुषकोठामा एक्लै थिए । कता कता डर पनि लागिरहेको थियो । केही गर्न खोज्यो भने के गर्ने ?
ब्याक बेल्ट हु, केही गर्न खोज्यो भने हात खुट्टा भाचिदिन्छु भनी यो मनलाई फकाए ।
केही औपचारिक कुरासंगै एक गिलास पानी दिएर खाजा बनाउन भन्दै संगैको भान्सामा छिर्यो उ । मैले बल्ल वरिपरि आखा दौडाए, मैले सोचेको भन्दा निकै फरक थियो त्यहाको वातावरण । एक्लै बस्ने पुरुषको कोठा तर हरेक वस्तु हुनु पर्ने ठाउमा । सायद यति सफा र व्यवस्थित मेरो कोठा पनि थिएन होला । मुल ढोकाबाट छिर्ने बित्तिकै वैठक, देब्रे कुनामा फाइभ सिटर सोफा अगाडि सिसाको टप भएको टेबल, त्यसमाथि टिलिक्क टल्केको तामाको सानो तमौरा । जसमा ताजा ताजा गुलाबहरु सजाइएका थिए । दाहिने कुनाको ञ्याकमा चौबिस इन्चको रंगिन टि भि । पुर्वतिर सानो टेबलमा गणेशजीको सुनौलो मुर्तिसंगै तामाको कलशमा सयपत्री मुस्कुराइ रहेको थियो । छेवैको ञ्याकमा किताबहरु, अनि पढनको निम्ति कुर्सि र ल्याम्प सहितको टेबल । म बिस्तारै सयन कोठातिर लागे । त्यहा पनि हरेक वस्तु व्यवस्थित र यथ स्थान । सानो सयन कोठा एकातिर सिगंल पलंग अर्कोतिर काठको दराज थियो । दराज बाहिरका लुगा व्यवस्थित तरिकाले भित्तामा भएको हुकमा झुन्डाईएको थियो ।
सिरानीमुनी सामान राख्ने बानी छ मेरो त्यसैले होला बिना प्रयोजन पलंगमाथिको सिरानी उठाए मैले । खुट्टा मुनिको जमिन नै भासिए जस्तो भो मलाई, बेसरी धड्कियो यो मुटु, हात खुट्टा नै लुलो भएर आयो ।
कुनै स्त्रीको भित्री पहिरन थियो त्यहा । म आफुलाई सम्हाल्दै थिए, उ त्यहा आइपुगिसकेको रहेछ । म केहीबोल्नै सकिन, उसलाई हेरी रहे, उ गल्ती समातिएको बालकझै खुम्चिइरह्यो । धेरै बेर पछि निकै भारी स्वरमा तिमी जे सोच्दैछौ, त्यो सत्य होइनभन्यो । जो चोर उसैको ठुलो स्वर, रिस उठ्यो मलाई । मन त कसेर एक झापड दिने थियो तर आफुलाई होशमा ल्याउदै के हो सत्य भनि सोधे ।
उसको उत्तर “यो कुनै स्त्रीको पहिरन होइन ।”
रिस र पिडाको झोकमाभने “मकाजीकी छोरी, सोझीहुला तर पटमुर्ख छैन, यो नांगो झुठलाई सत्य मान्न । यो कसको हो त तपाईको हो ?”
उसले सानो स्वरमा“हो” भन्यो ।
न मैले जानेको नसुनेको कुरा, पुरुषले पनि स्त्रीको पहिरन लगाउछन् र ?
उसले बिस्तारै खोल्दै गयो । सानै देखि उसलाई आफु स्त्री हु जस्तो लाग्थ्यो रे । किशोरवस्था हुदै गर्दा पुरुषप्रति आर्कषण बढ्दै गयो रे । होस्टेलमा बस्दा उसको केटा साथी पनि थियो रे । खै कहाबाट क्याप्टेनबाले थाहा पाएछन् । भकुर्नु भकुरेछन्, बाच्नु छ भने पुरुष भएर बाच, नभए मर्न तयार हो भनि ।
एउटा हिजडाको बाउ हुनुभन्दा शहिद बाउ हुन जाती रे बरु । छोरा स्त्रीको स्पर्शमा आएपछि सुध्रन्छ की भनेरै होला विवाहको लागि दबाब रहेछ उसको परिवारमा ।
विवाह नजाने आफै एक असाध्य रोग हो, हरेक समस्याको औषधी सम्झन्छ समाज, कस्तो भ्रान्ती ? उसले दुखेसो पाख्दै गयो “मनिकै दयनिय अवस्थामा छु । मभित्रका स्त्रीलाई न समाजले स्वीकार गर्छ, न त परिवारले । निकै सचेत भइ हिड्छ ुबोल्छु, भित्रको स्त्री ढाक्नको लागि । राति सुत्ने बेलामा स्त्रीको पहिरनमा श्रृगार गरी सुत्छु, यो मनको तृप्तीको लागि । स्त्रीको पहिरनमा मलाई स्वतन्त्रताको महशुस हुन्छ । पुरुषको शरिर भित्र बन्दी लाचार स्त्री हु म । मलाई विश्वास छ, तिमीसंगको विवाहले मलाई पारिवारिक सामाजिक लान्छना र यातनाबाट मुक्ति दिनेछ । यदि म जे छु, स्वीकार्यौ भने तिम्रो ठुलो कृपा हुनेछ, म जीवनभर तिम्रो ऋणी हुनेछु । ”उसले बिन्ती गर्यो । यतिभन्दै गर्दा आखाबाट अविरल आसु बगिरहेका थिए र घुडा टेकेर भुइमा बसेको थियो उ । आसु त देख्नै नहुने, यो मन कटक्क खायो । एक मनले सोचे पुरुष शरिर भित्रपुरुष नहुनु उसको गल्ती हो र ? जहा प्रकृती समान छ मैले किन भेदभाव गर्नु । फेरी अर्को मनले सोचे जे भित्र हुन्छ वास्तविकता त्यही हो । म भित्रको स्त्रीले उ भित्रको स्त्रीलाई कसरी पति स्वीकार गर्ला ? एक दुई दिनको होइन जीवन भरीको साथ कसरी चल्ला ?
बाहिर आखा लगाउने पति स्वीकार हुन्छ एक स्त्रीलाई, त्यसैले त सौताहरु बेहोरेको ठुलो इतिहास छ हामीसंग,हजुरबाका तीन पत्नीमध्ये कान्छी मेरी हजुरमा, बाको एक अनौपचारिक श्रीमति वुटबलमा बस्छिन् रे, बाले नै बनाइदिएको घरमा अझै पनि । तर समाजले भन्ने गरेको न–पुरुषको पत्नी कसरी हुनु म । मनमा शंका उठ्यो कतै ठुलै मानसिक समस्या त होइन यो । यो दर्दनाक कथामा म उसकी उद्धारक हुन सकिन,गान्धारी हुन सकिनम ।
तय भएको मितिभन्दा १० दिन अगाडि विवाह टुट्दा ठुल्दाई यानी विजयध्वज कँुवरको इज्जतमा ठुलै दाग लाग्यो । यत्रो जात्रा पछि पनि नाता जोड्न चाहन्थ्यो रायमाझी परिवार । जीवनभर पिडित हुन बाटबाचेकी बैनी देखेर अनुग्रहित हुनुपर्ने ठुल्दाई किन इज्जतकै भ्रान्तीमा अल्झिए, उनै जानुन् । त्यसपछि मेरा लागि बलीउडका अमरिश पुरी भन्दा खतरनाक खलनायक भए ठुल्दाई । उहा र मेरो बिच बोलचाल नै बन्दभयो ।
त्यस ठाँउले कोपर्न थाल्यो मलाई, पढाईको वाहाना पारी राजधानी हुलिए म ।
स्त्रीको मधुरआवाज आयो “अबको केही बेरमा हामी गौतम बुद्ध विमान स्थलमा अवतरण गर्दैछौ । कृपया अत्यावश्यक स्वास्थ्य उपकरण बाहेक सबै विद्युतिय उपकरण बन्द गर्नु होला । संकेत बत्ती ननिभ्दा सम्म सिट बेल्ट नखोल्नु होला धन्यबाद!”

प्रकाशित :२०७७ कार्तिक ३०, आईतवार ०८:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry