निरीह साहित्यकारहरु!!

मैले व्यवहारमा प्रायः साहित्यकारहरुलाई निरीह र लाक्षी नै पाएको छु । यसो भन्न बाध्य भएकोमा क्षमा गर्नुहोला ।
आफ्नो सृजनामा आफ्ना पात्रहरुले कसैको विभेद र थिचोमिचो गरेको सहन नसक्ने र प्रखर आवाज उठाएको लेख्ने लेखकहरु वास्तविक जीवनमा आफ्नो अधिकारका लागि चुँ पनि बोल्न नसक्ने देखिन्छन् ।
एउटा भोगेको घटनाको चर्चा गर्दै छु म ।
एकलाख राशीको एक सम्मानित र चर्चित पुरस्कारको तीन निर्णायक समूहमा म पनि थिएँ । अन्य दुईजनामध्ये एकजना चर्चित समालोचक र अर्का हामी सबैले श्रद्धा गर्ने वरिष्ठ आख्यानकार हुनुहुन्थ्यो । हामीलाई ३८ वटा पुस्तकहरु एक महिनाभित्र पढेर पुरस्कारका लागि योग्य तीन पुस्तकहरुको सिफारिस गर्न भनिएको थियो । सम्मानित पुरस्कार भएकोले पारिश्रमिक पनि राम्रै होला भन्ने ठानेर मैले सोध्नुपर्ने आवश्यकता ठानिन । एक महिनासम्म आफ्नो कामधन्दा छोडेर रातदिन ३८ वटा किताबहरु पढेर ठीक समयमा नै पुरस्कृत हुन लायक तीन किताबको सिफारिस पत्र सहित बैठकमा लगेर पेस गरियो । छलफलबाट पुरस्कृत किताबको टुङ्गो लागेपछि संस्थाका संरक्षकज्यूले खामबन्दी दिनुभयो । त्यो बन्द खाम गोजीमा राखेर घर आएर हेर्दा एक एक हजारका दुई नोट थिए । एक महिनासम्म कामधाम छोडेर माथापच्ची गरेको पारिश्रमिक दुई हजार रुपैया मात्र !! एक मनले साहित्यकार भइ टोपलेकोमा नै दिग्दार लाग्यो । घरमा कहिलेकाही बिजुलीको तार फुस्केर एकछिनका लागि मर्मत गर्न बोलाएको इलेक्ट्रिसियनलाई समेत हामी कम्तिमा ५००/- रुपैयाँ दिन्छौं । मलाई यति रीस उठ्यो कि मेरो नाम सिफारिस गर्ने मित्रलाई फोन गरेर यो त साह्रै लाजलाग्दो कुरो भयो भने । सायद उनले संरक्षकलाई फोन गरेछन् । एकछिनपछि संरक्षकको फोन आयो ।
उनले भने- “तपाईंको पारश्रमिकप्रति गुनासो रहेछ ।”
मैले भनें ” तपाईंलाई लेखकको शोषण गर्न लाज लाग्दैन । के ठान्नु हुन्छ लेखकलाई ? भीखमइ्गा ?”
उनको जवाफ थियो- “होइन हजुर त्यसो ठान्दिन । यसपालि त एकहजार बढाई दिएको हुँ । गतसाल त रु. १०००/- मात्र दिएका हौं ।” उनको कुरा सुनेर मेरो दिमाग खराब भयो । क्षोभले आफ्नो कपाल लुक्ष्दै सोचें एक महिना लगाएर किताब पढेबापत रु. एकहजारमा पनि चित्त बुझाउने त्यो लाछी लेखक को रै छ ?
मैले भनें- ” ए हो र ! म त्यो भिखारी लेखक परिन संरक्षकज्यू । म एक कुरा भन्छु सुन्नुस् ” तपाईं यी ३८ किताबहरु एक महिनाभित्र पढ्नुस् म तपाईंलाई तपाईंले मलाई दिएकोभन्दा दशगुना बढी रकम रु. २०,०००/- दिन्छु । सकिन्छ महाशय ?? पढ्नु हुन्छ ?”
उनको बोलती बन्द भयो । त्यसपछि सकपकाउदै तीनले भने- “कति रकम थप गरु त यहाँलाई ?”
मैले भनें- “तपाईं पढेलेखेको मान्छे हो, गवाँर होइन । स्वविवेकले कति दिन उचित लाग्छ दिनुस् ।”
“हवस् !” उनले फोन राखे ।
पाँच मिनेटपछि मेरो मोबाइलमा टइ्ग आवाज आयो । उनले थप रु. १०,०००/- रुपैयाँ पठाई दिएछन् । सम्पन्न परिवारका उनले मैले उनलाई दिन्छु भनेजति रकम दिने आँट पनि गर्न सकेनछन् । बिचरा संरक्षक !! यस्ता भिखारी मन भएका व्यक्तिहरुले किन बडेबडे पुरस्कार स्थापना गरेको स्वाङ गर्नु ??
यसमा संवन्धित संस्था र पदाधिकारी मात्र दोषी छैनन् । लेखक पनि दोषी छन् । आफ्ना पात्रलाई क्रान्तिकारी बनाउने लेखक आफ्नो हकका लागि चुँ पनि गर्न नसक्नुको कारण नै लेखक हेपिएका हुन् । अब हेपिन छोडौं त लेखक महोदयहरु ! चेतना भया !!

प्रकाशित :२०८० मंसिर ९, शनिबार १०:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry