सरकारी बायुसेवा थप संकटमा

नेपालको एकमात्र राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका कर्मचारीहरुको झण्डै साढे ३ महिना लामो आन्दोलनले कर्मचारीलाई तलब खुवाउनसमेत नसकिने अवस्था आइलागेको भन्दै सरकारले निरीहता प्रकट गरेको छ ।

Advertisement 1

हिजो निगमलाई पत्र लेख्दै संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कर्मचारीहरुको आन्दोलनले निगमको व्यवसायमा गम्भीर असर परेको भन्दै चिन्ता व्यक्त गरेको हो ।निगममा कार्यरत विभिन्न कर्मचारी संगठनहरुले गत असार १८ गतेदेखि गरेको आन्दोलनका कारण संस्थामा गम्भीर असर परिरहेको तथा सञ्चालक समितिको बैठक बस्न नसकी कर्मचारीको तलब निकासासमेत गर्न नसकिने अवस्था सिर्जना भएको भन्दै मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

निगमलाई निजी कम्पनीको रुपमा परिणत गर्न नहुने आन्दोलनरत कर्मचारी संगठनहरुको मुख्य मागप्रति मन्त्रालय सकारात्मक रहेकाले आन्दोलनका कार्यक्रम स्थगित गर्न पत्रमा भनिएको छ ।

Advertisement 2

‘आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्काल अन्त्य गरी निगमका सबै कामकारबाही सुचारु गर्न निर्देशानुसार अनुरोध छ,’ पत्रमा लेखिएको छ ।

निगमलाई निजीकरण गर्ने सरकारको कुनै मनसाय नभएको प्रष्ट पार्दै मन्त्रालयले असार २७ गतेको विज्ञप्तिको स्मरण पनि गराएको छ ।

Advertisement 3

‘कार्यरत कर्मचारी संगठनहरुको मुख्य माग निगमलाई कम्पनीमा परिणत गरिनु हुँदैन भन्ने रहेको र त्यससम्बन्धमा मन्त्रालयमा निगम सञ्चालक समितिबाट प्राप्त प्रस्तावित कम्पनीको प्रबन्धपत्रमा छलफल गर्ने वा सो कार्यलाई अघि बढाउनेसम्बन्धी काम कारबाही नेपाल सरकारको थप निर्देशन प्राप्त नहुँदासम्म स्थगन भएको व्यहोरा जानकारी गराइन्छ,’ मन्त्रालयले भनेको छ ।

प्रकाशित :२०७८ भाद्र २४, बिहीबार १४:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry