मन्त्रिपरिषद् विस्तार २२ गतेपछि मात्र

मन्त्रिपरिषद् विस्तारका २२ गतेपछि मात्रै हुने भएको छ । राजनीतिक दल सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेशको व्यवस्था अनुसार नेकपा एमाले र जनता समाजवादी पार्टीका निर्वाचित प्रतिनिधिहरूले दल रोज्न पाउँछन् ।
Advertisement 1
एमालेबाट विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीबाट लोकतान्त्रिक समाजवादी पार्टी गठन भएका छन् । अहिले प्रदेश र स्थानीय तहमा पनि निर्वाचित प्रतिनिधिले दल रोज्ने क्रम जारी छ । प्रदेश १ र बागमती प्रदेशमा पनि गठबन्धन सरकार बन्ने भएका छन् । सत्तारुढ दलका एक नेताले निर्वाचन आयोगले नयाँ पार्टीमा प्रवेश गर्नेहरुको सनाखतका लागि तीन साताको अवधि तोकिदिएकाले पनि मन्त्रिपरिषद् विस्तार २२ गतेसम्म नहुने बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा गठबन्धनका शीर्ष नेताहरूसँग नियमित परामर्श र छलफल भने गरिरहेका छन्। तर, दलहरूको आन्तरिक झमेलाका कारण त्यसको असर मन्त्रिपरिषद् विस्तारमा परेको नेताहरूको भनाइ छ।
नेकपा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतकसमेत रहेका नेता देव गुरुङ भने नेताहरूबीच भागबण्डाबारे सहमति गर्ने तयारी भइरहेको बताउँछन्। ‘नेताहरूबीच सहमति भएपछि त मन्त्रिपरिषद विस्तार भइहाल्छ नि। अब सहमति गर्ने तयारी छ। भागबण्डाभन्दा पनि गठबन्धनमा सरकार भएपछि सिटहरु त विन्यास गर्नु पर्यो,’ उनले भने।
Advertisement 2
यसअघि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता भएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको गठबन्धनका नेताहरूले बताएका थिए। नेपाल नेतृत्वको एकीकृत समाजवादी दर्ता भइसकेको छ। निर्वाचन आयोगले पनि एमालेका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई पार्टी रोज्न भदौ २२ गतेसम्म समय दिएको छ। अहिले धमाधम उनीहरुको सनाखत चलिरहेको छ। त्यसपछि एकीकृत समाजवादीको केन्द्रदेखि स्थानीय स्तरको हैसियत स्पष्ट हुनेछ।
त्यसैका आधारमा मन्त्रालय बाँडफाँड टुंग्याउने प्रधानमन्त्री देउवाको तयारी छ। देउवाले भदौ २२ यता मन्त्रिपरिषद विस्तार नहुने जानकारी आफ्ना पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई दिइसकेको पौडेलपक्षीय नेता बलबहादुर केसीले बताए। भदौ २२ गतेसम्म मन्त्रिपरिषद विस्तार हुन नसक्ने कुरा प्रधानमन्त्रीबाट आयो। २२ गतेसम्म नेपाल समूहलाई पर्खिन पर्ने भयो। गठबन्धनको भाग अंशमा कति पर्ने र त्यसमा पनि कांग्रेसले पाएको भागमा मिलाएर हामीले कति जना दिने हो, त्यसको टुंगो भदौ २२ पछि नै लाग्ने भएपछि हामीले आज यो विषय त्यहीं छोड्यौं,’ केसीले भने।
Advertisement 3