मुख्यमन्त्री र प्रमुख सचिवसमक्ष गण्डकी प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन पेश

गण्डकी प्रशिक्षण प्रतिष्ठानले आ व २०७७/ ७८ को वार्षिक प्रतिवेदन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र प्रमुख सचिव डा. दामोदर रेग्मी समक्ष पेश गरेको छ । प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारी एवम् निर्वाचित जनप्रतिनिधिहरूको क्षमता विकास र कार्यसम्पादनमा सुधार, प्रदेश सरकारका कार्यक्रम कार्यान्वयनमा सहजिकरण, प्रदेश अन्तर्गतका सरकारी तथा अर्धसरकारी निकाय र स्थानीय तहको संस्थागत सुधार एवम् शासकीय क्षमताको अभिवृद्धि गर्ने अभिप्रायले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान ऐन, २०७५ अन्तर्गत गण्डकी प्रदेश सरकारको एउटा स्वायत्त संस्थाको रुपमा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको स्थापना भएको हो ।
Advertisement 1
उक्त प्रतिष्ठानले गत अर्थिक वर्षमा स्थानीय तहका विधायन समितिका सदस्यहरुलाई र कर्मचारीलाई कानुन तर्जुमा सम्वन्धी तालिम, वडा समितिका सदस्य तथा कर्मचारीलाई स्थानीय सेवा प्रवाह सम्वन्धी तालिम, स्थानीय आर्थिक विकास सम्वन्धी तालिम, सहजकर्ताहरुको अभिमुखिकण तालिम, सार्वजनिक खरिद र स्थानीय आर्थिक विकास प्रशिक्षण सामाग्रीको भ्यालिडेसन लगायतका कार्यक्रमहरु संचालन गरेको थियो ।
प्रतिवद्धता, इमानदारिता र नवप्रवर्तन संस्थागत मान्यता रहेको उक्त प्रशिक्षण प्रतिष्ठानले व्यवहारमा परिवर्तन, कार्यसम्पादनमा सुधार नारा लिएको छ । उक्त कार्यक्रममा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जनतालाई सेवा दिन तत्पर जनशक्ति विकास अहिलेको आवश्यकता हो भन्दै यस कार्यमा प्रतिष्ठान लागिपर्नु पर्ने कुरा बताए । प्रमुख सचिव डा दामोदर रेग्मीले प्रतिष्ठानका तालिम कार्यक्रमहरुको सार्थकता बढाउन ज्ञान सीप र मनोवृत्ति सुधार तथा जनमैत्रीय सेवा प्रवाह गर्ने तालिम नीति प्रतिष्ठानले लिनु पर्ने कुरामा जोड दिए । प्रतिष्ठानका कार्यकारी निर्देशक रिसीराम पाण्डेले भौतिक सुविधा र कर्मचारी अभावका बावजुद प्रतिष्ठान आफ्नो उद्देश्य प्राप्तिमा दत्तचित्त रहेको वताए । कार्यक्रममा मुख्य न्यायाधिबक्ता रोहित वास्तोलाको उपस्थिति रहेको थियो ।