माग सुनुवाई नभए सिंहदरबार घेराउमा निस्कने यातायात व्यवसायीको चेतावनी
यातायात व्यवसायीहरुले आफ्नो मागको यथाशीघ्र सुनुवाई नभए सिंहदरबार घेराउ गर्ने चेतावनी दिएका छन् । सरकारसँग विभिन्न सात बुँदे माग राख्दै आएका यातायात व्यवसायीले आज बिहान सरकारको ध्यानाकर्षण गराउन चक्रपथ परिक्रमा गर्दै विरोध र्याली निकालेका थिए । व्यवसायीहरुले बिहीबार बिहान आ–आफ्नो सार्वजनिक यातायातका साधनसहित भाडा समायोजन र कोरोनाविरुद्धको खोप माग गर्दै र्याली निकालेका हुन् ।
Advertisement 1
व्यवसायीहरुले एउटै प्रदेश भित्र चल्ने गाडीहरुमा भाडा समायोजन नभएको भन्दै यातायात व्यवसायीहरुले र्याली निकालेका हुन् । आफूसँग भएका सवारी साधन सडकमा निकालेर बिहिबार बिहान शान्तिपूर्ण र्याली निकालिएको सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डोलराज खनालले जानाकरी दिए ।बालाजु, जोरपाटी लगायतका स्थानबाट निकालिएको सो र्यालीले रिङरोड परिक्रमा गरेको थियो । र्यालीमा निस्किएका सवारी साधनहरुको सडकमा लामो लाइन लागेको थियो । व्यवसायीको र्यालीका कारण काठमाडौंका सडकमा हजारौं यात्रुहरु अलपत्र परेका थिए ।
Advertisement 2
व्यवसायीहरुले सात बुँदै माग राख्दै आएका छन् । उनीहरुले यातायात क्षेत्रमा रहेकालाई कोभिड–१९ विरुद्धको खोप लगाइनुपर्ने, यातायातको भाडा समायोजन गर्नुपर्ने लगायत यातायातको विमा छुट समायोजन गर्नुपर्ने, सडक कानुन लागु गर्नुपर्ने, यातायातको कागजपत्र नविकरण र जरिवाना छुट गर्नुपर्ने तथा ढुवानी यातायातको वर्तमान नीति पुनरावलोकन गर्नुपर्ने माग राखेका छन् । आफ्ना मागहरु सुनुवाई नभए सिंहदरबार घेर्ने व्यवसायीहरुले चेतावनी दिएका छन् ।