साउने सङ्क्रान्ति र जैविक विविधता संरक्षण एवम् सामाजिक दृष्टि

नेपालमा जैविक विविधताको संरक्षणका कामहरु साँस्कृतिक परम्पराहरुको माध्यमबाट हुँदै आएको देखिन्छ । जैविक विविधता भन्नाले कुनै निश्चित स्थानमा पाइने विभिन्न खालका वनस्पति, जनावर तथा सबै प्रकारका जीवात्मा भन्ने बुझिन्छ । हाम्रा पुर्खाहरुले जैविक विविधतालाई जीवनयापनको लागि नभई नहुने साधनको रुपमा स्वीकारेर यसको संरक्षणमा विभिन्न विधि विधानको व्यवस्था गरी संरक्षण गर्दै आएको पाइन्छ । नेपाल सानो देश भएर पनि भौगोलिक, सांस्कृतिक र जैविक विविधताको दृष्टिले विशाल मानिन्छ ।
हाम्रा संस्कृति र परम्पराहरुको वास्तविक मर्मलाई हेर्ने हो भने सबैजसोले जैविक विविधताको संरक्षण गर्ने सन्देश दिएको पाइन्छ । हाम्रा पुर्खाहरुले दुर्लभ र उपयोगी वनस्पति र जीवजन्तुहरुंको संरक्षण गर्न केही विधि विधानहरु बनाएर समाजलाई पालना गर्न लगाएका छन् । धार्मिक, साँस्कृतिक परम्पराहरुको विकास गरी अन्त्यमा जैविक विविधताको संरक्षण गर्न लगाएका छन् ।
अहिले पनि हामीहरु नागपञ्चमी, काग तिहार, कुकुर तिहार, गाई तिहार, कुशे औँसी, तुलसी रोप्ने एकादशी र तुलसीको विवाह गर्ने एकादशी जस्ता पर्वहरु पहिले जस्तै भव्यताकासाथ मनाउँदै आइरहेका छौं । यी सबै पर्वहरुले जीवजन्तु तथा जैविक विविधताको संरक्षण गर्ने सन्देश दिएका छन् । तर हामीले भने कर्मकाण्डीय रुपमामात्र मनाइरहेका छौं । व्यवहारिक पक्षलाई भने त्यति साह्रो ध्यान दिएका छैनौं ।
अबको केही दिन पछि साउन महिना लाग्दैछ । श्रावण महिनामा पर्ने साउने सङ्क्रान्ति पर्व पनि जैविक विविधता र सामाजिक दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिन्छ । यो देशभरि नै मनाइन्छ । मध्यपहाडी क्षेत्रमा भने अत्यन्तै उत्साहकासाथ मनाइन्छ । पहाडी क्षेत्रबाट बसाइँ सरेका चितवनबासीहरुले पनि यो पर्वलाई राम्रोसँग मनाउने गर्दछन् । धान रोपाइँबाट थकित भएको शरीरलाई आराम दिने, रमाइलो गर्ने र मीठोमसिनो खाने रुपमा पनि यसलाई मनाइन्छ भने अर्को रोगव्याधीबाट मुक्त हुन लुतो फाल्ने पर्वको रुपमा पनि मनाइन्छ । अँगेनामा दाउरा बालेर आगोसमेतको अगुल्टो उठाउँदै लुतोपुत्लो घाउ खटिरा सबै लैजाओ है गाउँले हो आदि भन्दै र फलाक्दै लुतो फाल्ने र रमाइलो गर्ने चलन पनि छ ।
सङ्क्रान्तिको दिन बिहान स्नान गरी देवी देवताको पूजा गर्ने, दूधबाट बनाइएको खिर आदि मीठो पक्वान भोजन गरेर साँझ लुतो फाल्ने चलन छ । विशेषगरी वल्लो गाउँकाले पल्लो गाउँ र पल्लो गाउँकाले वल्लो गाउँतिर ताकेर फलाक्दै लुतोफाल्दा आगोको अगुल्टाले गाउँ नै झिलिमिलि देखिन्छ र गाउँभरि नै एक प्रकारको रौनक छाउँछ ।
श्रावण सङ्क्रान्तिको अर्को चलन भनेको मेहन्दी लगाउने र विभिन्न वनस्पतिहरुको सङ्कलन गरी पूजा गर्ने पनि हो । गाउँघर वरपर वनपाखामा पाइने मकरकाँची, तिघ्रेफूल, कुकुरडाइना, काठे, निबुवा आदि बिरुवाहरु घरमा ल्याउने र पूजा गर्ने चलन पनि छ । तिघ्रेफूल लगायत केही वनस्पतिका पात र डाँठहरु थिचेर तयार पारिएको मेहन्दी लगाएमा वर्षभरि सर्पदंशबाट बच्न सकिन्छ भन्ने मान्यताकासाथ मेहन्दी लगाउने चलन छ ।
श्रावण महिनालाई विशेष पवित्र महिनाको रुपमा पनि मनाइन्छ । यसलाई हरित मासको रुपमा पनि मान्ने चलन छ । विभिन्न किसिमका बोटविरुवाहरु यस महिनामा सारेमा सर्ने र हरियाली बढाउन मद्दत पुग्ने भएकोले पनि यो महिनालाई विशेष महत्वको महिना भनेर मानिन्छ ।
अर्को धार्मिक रुपले भन्ने हो भने पनि यो महिना भगवान शङ्करको आराधना गर्ने विशेष महिना हो । हरेक सोमबार भक्तहरु व्रत बस्ने र भगवान शंकरको उपासना गरी मन्दिरमा गई शिवलिंगमा गाईको दूध, गंगाजल र बेलपत्र अर्पण गर्ने गर्दछन् । विशेष गरी विवाहित महिलाहरु आफ्नो दाम्पत्य जीवनको सुख र दीर्घायुको कामना गर्दछन् भने अविवाहितहरु असल गुणवान वर प्राप्त हुने विश्वासकासाथ व्रत बस्ने र पूजाआजा गर्ने गर्दछन् ।
यस महिनाभरि नै भक्तहरु रुद्राक्षको माला लगाउने, शिवचालिसा पढ्ने, आरती गर्ने, महामृत्युञ्जय जप गर्ने, रद्राभिशेख गर्ने, हरेक सोमबार व्रत बस्ने जस्ता कार्यमा संलग्न रहन्छन् । यो महिनामा गरेको पूजाको फल अन्य महिनामा नियमित गरेको पूजाको भन्दा १०८ गुणा बढी मिल्दछ भन्ने भनाइ छ । व्रत बस्नेहरु पनि यो महिनामा बसेको व्रतको फल अन्य महिनाकोभन्दा बढी मिल्दछ भन्ने विश्वास गर्दछन् । औषधि विज्ञान अनुसार पनि श्रावण महिनामा उपवास बस्नाले फाइदा हुने भन्ने भनाइ छ । किनकि यो महिनामा वर्षा हुने र सूर्यको प्रकाश कम हुने भएकोले पचाउन सक्ने खालका हल्का खाना खानु उत्तम हुने बताइन्छ । त्यसैले यो महिना भरि धेरैले मासु खाँदैनन्, शाकाहारी खानामात्र खान्छन् । कोही व्रत बस्दछन् र फलाहार गर्दछन् ।
माघे सङ्क्रान्ति अब हिउँद सकियो वर्षा लागे मरिन्छ कि बाँचिन्छ भनेर मान्ने र साउने संक्रान्ति बर्षायाम काटियो अब त बाँचियो भनेर मान्ने चलन हो भन्ने भनाइ पनि रहेछ कुनै, कुनै स्थानमा । यो भनाइ पनि एक प्रकारले ठीकै हो जस्तो देखिन्छ । तर जे भए पनि यो संक्रान्तिको महिमा धेरै नै देखिन्छ । गाउँघरमा अहिले पनि भव्यताका साथ मनाइन्छ । यस दिन विवाह गरेर गएका चेलीबेटीलाईसमेत बोलाएर सबै परिवार संगै बसी मनाउने चलन छ ।
यो महिना खासगरी खीर खाने महिनाको लागि पनि प्रचलित छ । गीत पनि छ कि ‘असारमा खाने दूधिलो मकै, साउनमा खाने खिर… । यसरी विभिन्न कोणबाट हेर्दा साउने सङ्क्रान्ति र श्रावण महिना पूरै सामाजिक, धार्मिक दृष्टिले जति महत्वपूर्ण छ, जैविक विविधता संरक्षणको दृष्टिले पनि उत्तिकै महत्वपूर्ण छ । किनकि यो महिनामा वृक्षारोपणलाई महत्वकासाथ सञ्चालन गरिन्छ र हरित महिनाको रुपमा मनाइन्छ ।
बेल, रुद्राक्ष, मकरकाँची, तिघ्रेफूल, कुकुरडाइना, काठे, निबुवा आदि महत्वपूर्ण बिरुवालाई महत्व दिई अप्रत्यक्ष रुपमा संरक्षणको सन्देश दिन खोजिएको छ । यो महिना व्रत बस्ने र मांस मदिरा सेवन नगर्ने भनी अनुशासित बनाउन र बन्न प्रयास गरिने भएकोले अप्रत्यक्ष रुपले प्राणीहरुको हिंसालाई रोकी उनीहरुको संरक्षणको सन्देश दिन खोजेको छ । हामीले बुझ्ने हो भने यो अनुशासन पालना कुनै एक महिनाको लागि मात्र गर्ने होइन सके त बाह्रै महिना हो । जेहोस् अरु पर्वहरुले जस्तै यो पर्वले पनि जैविक विविधता संरक्षणमा सहयोग नै पु¥याएको छ ।

प्रकाशित :२०७८ असार ३१, बिहीबार १३:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry