सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको बताएका छन्।
प्रकृति र आस्थाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्।
Advertisement 1
सन्देशमा उनले छठका माध्यमबाट हामीलाई जीवनको एक गहिरो दर्शन सिकाउने उल्लेख गरेका छन्। “भगवान् सूर्यदेव र छठी माताको आराधनाका साथ परिवारको सुख, शान्ति, आरोग्य र सन्तानको दीर्घायुको कामना गर्दै यो पर्व मनाइन्छ”, उनले सन्देशमा भन्नुभएको छ, “जहाँ उदाउँदो सूर्यलाई झैँ अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धा र सम्मानका साथ अघ्र्य दिइन्छ। यसले प्रकृतिप्रतिको कृतज्ञता र जीवनका हरेक अवस्थालाई सम्मान गर्ने प्रेरणा दिन्छ।”
चार दिनसम्म विधिपूर्वक मनाइने यस पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अर्थात् आज साँझ अस्ताउँदो सूर्यलाई र चौथो दिन भोलि बिहान उदाउँदो सूर्यलाई जलाशयको किनारमा अघ्र्य दिइने परम्परा प्रधानमन्त्रीले सन्देशमा स्मरण गरेका छन्।
Advertisement 2
प्रधानमन्त्री शाहले छठ पर्वले हामी सबैमा सकारात्मक ऊर्जा भर्दै देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको सङ्कल्प पूरा गर्न प्रेरणा प्रदान गरोस् तथा भगवान् सूर्यदेव र छठी माताको कृपा हामी सबैमाथि सधैँ बनिरहोस् भन्ने कामना गरेका छन्।
शुभकामना सन्देशको अन्त्यमा प्रधानमन्त्रीले मैथिली भाषामा समेत भनेका छन्, “छैठके बहुत रास शुभकामना ! दीनानाथ आ छैठ परमेश्वरी सब के जीवन में सुख, शान्ति आ समृद्धि लइथिन से कामना करैछि।”








