कालिकाबाटै स्मार्ट कार्ड लाइसेन्स वितरण, भरतपुर धाउनुपर्ने बाध्यता हट्यो

चितवन। कालिका नगरपालिकाले आफ्नै कार्यालयबाटै स्मार्ट कार्ड चालक अनुमतिपत्र (लाइसेन्स) वितरण सेवा सुरु गरेको छ।
Advertisement 1
यातायात व्यवस्था कार्यालय भरतपुरसँगको सहकार्यमा नगरपालिकाले यातायात व्यवस्था विभागबाट छपाइ भएर आएका स्मार्ट कार्ड लाइसेन्स नगरपालिकाको कार्यालयबाटै वितरण गर्ने व्यवस्था मिलाएको हो।
नगरप्रमुख विनोद रेग्मीका अनुसार अब कालिका नगरवासीले स्मार्ट कार्ड लाइसेन्स लिन भरतपुरसम्म धाउनुपर्ने बाध्यता हटेको छ। स्थानीयस्तरमै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यअनुसार सेवा सुरु गरिएको उनले बताए।
Advertisement 2
रेग्मीले सरकारी सेवा लिन सदरमुकामसम्म पुग्नुपर्ने अवस्थाको अन्त्य गरी सकेसम्म नगरपालिकाबाटै सेवा उपलब्ध गराउने लक्ष्य रहेको बताए। उनका अनुसार नगरपालिकाबाट मालपोत र नापीसम्बन्धी सेवा यसअघि नै सञ्चालनमा छन् भने प्यान नम्बर र श्रम स्वीकृतिसम्बन्धी सेवा पनि अघि बढाइएको छ।
त्यस्तै, राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्नेलगायत सेवा पनि नगरपालिकाबाटै उपलब्ध गराउने तयारी भइरहेको उनले जानकारी दिए।
Advertisement 3
यातायात व्यवस्था कार्यालय चितवनका प्रमुख अमृत अधिकारीले कालिका नगरपालिकासँग भएको सम्झौताअनुसार हाल स्मार्ट कार्ड चालक अनुमतिपत्र वितरण सेवा मात्र सुरु गरिएको बताए।
उनका अनुसार चितवन जिल्लामा स्थानीय तहसँगको सहकार्यमा यस प्रकारको सेवा सुरु गर्ने कालिका नगरपालिका पहिलो स्थानीय तह हो।








