डा लालको देहान्तले मैथिली साहित्यमा अपुरणीय क्षति– नगरप्रमुख साह

जनकपुर। जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साहले मैथिली साहित्यकार डा रेवतीरमणलालको निधनले मैथिली साहित्यमा अपुरणीय क्षति पुगेको बताएका छन्।
Advertisement 1
आज उपमहानगरपालिकाबाट जारी शोक सन्देशमा उक्त कुरा साहले व्यक्त गरेका हन्। जनकपुरधाम–११ निवासी डा लालको यही भदौ २० गते शनिबार निधन भएको थियो। धनुषा जिल्लाका नगराईन नगरपालिका, वडा नं ८ (खिरखिरिया) मा २ मार्च १९४३ ईस्वीमा जन्मिनएका डा लालले मैथिली विषयमा विद्यावारिधि गरेका थिए।
उनी ६ दशकदेखि मैथिली साहित्यमा आबद्ध थिए। उनले कविता, गीत, कथा, लेख, अन्तर्वार्ता, यात्रा वृत्तान्त, लोकसाहित्य, समालोचना, अनुवादसहित विविध विधामा कलम चलाएका थिए।
Advertisement 2
डा लालका ‘काल प्रवाह’ (कविता सङ्ग्रह), ‘हस्तरेखा’ र ‘माधव नहि अएला मधुपुरसँ’ (कथा सङ्ग्रह), ‘महाकवि विद्यापति’ (पटकथा), ‘नेपथ्य’ (नाटक),’हमर विदेश भ्रमण’ (यात्रा वृत्तान्त), ’साक्षात्कार’ (अन्तरवार्ता), ‘खिस्सा पिहानी ‘(लोककथा), ‘मिथिलाक सांस्कृतिक परम्परा’, ‘मैथिली लोकसाहित्यक स्वरूप’ र ‘मैथिली गल्पमे चित्रित अन्तरवस्तुक अध्ययन (समालोचना)सहित एक दर्जनभन्दा बढी कृति प्रकाशित छन्।
उनलाई नेपालको आधुनिक मैथिली साहित्यको पहिलो पुस्ताका सहजतावादी साहित्यकार मानिन्छ। उनले मैथिली साहित्यमा पु¥याउनु भएको योग्दान स्वरुप वैदेही प्रतिभा, त्रिमूर्ति, मिथिला रत्न, पार्वती, विद्यापति, ज्योतिरीश्वर साहित्य सम्मान, डा धीरेन्द्र साहित्य–संस्कृति पुरस्कार, महेन्द्र विद्याभूषण, नेपाल सरकारका प्रादेशिक प्रतिभा पुरस्कार र विद्यापति मैथिली भाषा–साहित्य पुरस्कार प्रदान गरिएको थियो।








