नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

काठमाडौं। नेपालले ओमानलाई पराजित गर्दै एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ।
Advertisement 1
मलेसियाको बायुमास ओभरल क्रिकेट मैदानमा आज भएको सेमिफाइनल खेलमा नेपालले ओमानमाथि ८७ रनको जित निकाल्दै प्रतियोगिताको फाइनलमा पुगेको हो। नेपालले जितको लागि दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ६० रनमा समेटिएको हो।
ओमानका लागि जतिन्दर सिंहले २५ तथा जितेनकुमार रामानन्दीले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। ओमानलाई ६० रनमा समेट्नेक्रममा नेपालका दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान ३\३ विकेट लिए लिँदा रोहितकुमार पौडेल र ललित राजबंशीले समान २\२ विकेट लिए।
Advertisement 2
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाएर १४७ रनको योगफल बनाएको थियो। नेपालको लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाए। उनले ७६ बलमा ४ चौकाको सहयोगमा ५१ रन बनाएका हुन।
त्यस्तै बसिर अहमदले ४७ रन बनाउदा देव खनालले १३ तथा आसिफ शेखले ११ रन बनाए। त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
Advertisement 3
बलिङतर्फ ओमानका जय ओडेडरा र हस्नैन शाहले समान ३÷३ विकेट लिए। त्यस्तै मुहम्मद इमरानले २ विकेट लिँदा शकील अहमद र मुजिबुर अलीले समान १÷१ विकेट लिए।
यससँगै नेपालले फाइनलमा संयुक्त अरब इमिरेट्स (युएई)सँगको भेट पक्का गरेको छ। आजै भएको अर्को सेमिफाइनल खेलमा युएइले हङ्कङलाई हराउदै प्रतियोगिताको फाइनलमा पुगेको हो। फाइनल खेल यही भदौ २७ गते शनिबार हुनेछ। फाइनलमा नेपालले युएइलाई पराजित गरेमा एसिया कपमा स्थान बनाउनेछ।








