भोटेकोशी बाढीः काठमाडौँका अस्पतालमा ५८ घाइते उपचाररत, १०२ ‘डिस्चार्ज’

काठमाडौं। रसुवास्थित भोटेकोशी नदीमा गएको विनाशकारी बाढीमा परी घाइते भएकामध्ये ५८ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार १०२ जना घाइते उपचारपछि घर फर्किएका छन्।

Advertisement 1

बाढीपछि उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएका १६२ घाइतेमध्ये २ जनाको अस्पतालमा मृत्यु भएको छ। उपचारका क्रममा एकको राष्ट्रिय ट्रमा सेन्टर र अर्का एक जनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

उनका अनुसार हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ३१, राष्ट्रिय ट्रमा सेन्टरमा १३, वीर अस्पतालमा ५, ह्याम्समा १, नर्भिकमा १, प्रसूतिगृह थापाथलीमा २, ग्राण्डीमा २, सशस्त्र प्रहरी अस्पतालमा २, मनमोहन अस्पतालमा १ र वीरेन्द्र सैनिक अस्पताल छाउनीमा १ जना उपचाररत रहेका ती अस्पतालले जनाएका छन्।

Advertisement 2

बाढीमा परी घाइते भएका व्यक्तिलाई काठमाडौँका त्रिवि शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, ग्रीनसिटी अस्पताल, हेम्स, नर्भिक, वीरेन्द्र सैनिक अस्पताल, प्रसूतिगृह, सशस्त्र प्रहरी अस्पताल, मनमोहन मेमोरियल, ग्राण्डी, मनमैजु शुभम, बयोधा अस्पताल र नेपाल मेडिकल कलेजलगायत ल्याएर उपचार गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी बाढीमा परी मृत्यु भएका तथा फेला परेका शवमध्ये ९९ वटा त्रिवि शिक्षण अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ। अस्पतालमा ९७ शव ल्याइएकामा उपचारका क्रममा मृत्यु भएका २ वटा थपिएका प्रहरी उपरीक्षक थापाले बताए। उनका अनुसार त्रिवि शिक्षण अस्पतालमा ल्याइएका शवमध्ये ९३ वटाको ‘पोस्टमार्टम’ हुनुका साथै ६ वटाको ‘पोस्टमार्टम’ गर्न बाँकी छ। ‘पोस्टमार्टम’ गरिएकामध्ये १२ वटा शव आफन्तले बुझेर लगिसकेका छन्।

प्रकाशित :२०८३ भाद्र १६, मंगलवार १६:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry