त्रिशूलीमा बाढीः बेपत्ताको खोजी तीव्र, ९ शव पोखरा लगियो

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली नदीमा बगाएर ल्याएका ९ वटा शव फेला परेका छन्। कानुनी प्रक्रिया पूरा गरी ती शवलाई गण्डकी अस्पताल, पोखराको शवगृहमा राखिएको छ।
Advertisement 1
बाढीका कारण बेपत्ता भएकाको खोजीलाई प्राथमिकतामा राख्दै आज पनि त्रिशूली नदी आसपासका क्षेत्रमा व्यापक खोज तथा उद्धार अभियान सञ्चालन गरिने भएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बेपत्ताको खोजी तथा उद्धारका लागि प्रहरी निरीक्षक प्रदीप सुवेदी र प्रहरी निरीक्षक आशिष पोखरेलको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ।
Advertisement 2
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले नदी आसपासका क्षेत्रमा खोजी कार्यलाई निरन्तरता दिइने जानकारी दिए।
बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेकाले खोजी तथा उद्धारमा चुनौती रहे पनि सम्भावित क्षेत्रमा टोली परिचालन गरी बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ।
Advertisement 3
नदी आसपासका क्षेत्रमा शव वा बेपत्ता व्यक्तिसम्बन्धी कुनै जानकारी प्राप्त भए तत्काल प्रहरीलाई खबर गर्न प्रहरीले आग्रह गरेको छ।
शव फेला परेमा वा प्रहरीको सहयोग आवश्यक परेमा प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको मोबाइल नम्बर ९८५६०६२२५५ वा जिल्ला प्रहरी कार्यालय तनहुँको ९८५६०९०१७८ मा सम्पर्क गर्न आग्रह गरिएको छ।
प्रहरीले स्थानीयवासी तथा नदी आसपासका क्षेत्रमा रहेका सर्वसाधारणलाई सतर्क रहनसमेत अनुरोध गरेको छ।








