मलेखुस्थित त्रिशूलीमा जलसतह उच्च

काठमाडौं। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली नदीमा जलसतह बढेको छ। धादिङको मलेखुस्थित त्रिशूली नदीको जलमापन केन्द्रमा पानीको सतह सतर्कता तह पार गरी बढ्दो क्रममा रहेको जल विज्ञान तथा अनुसन्धान केन्द्र,जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले जनाएको छ।

Advertisement 1

शाखाका प्रमुख विनोद पराजुलीका अनुसार मलेखुस्थित त्रिशूलीमा पानीको सतह अहिले १०.४८ मिटर पुगेको छ। उक्त स्थानमा आठ मिटर पानीको सतह पुगेपछि खतरा तह मानिन्छ।

भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली नदीको फुर्के (मलेखु) जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र निरन्तर बढिरहेको शाखाले जनाएको छ।

Advertisement 2

जलसतह बढिरहेकाले नदी आसपासका डुबान भइरहने क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन तथा त्रिशूली करिडोर हुँदै यात्रा गर्ने यात्रुलाई समेत सावधानी अपनाउन आग्रह गरिएको छ।

नदी आसपासका बासिन्दाले नदीको बहाव बढ्दै गएको अवस्थामा सुरक्षित स्थानतर्फ जान र स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट जारी हुने सूचना पालना गर्न आग्रह गरिएको छ।

Advertisement 3

वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले रसुवा तथा नुवाकोट आसपासमा आज दिउँसोदेखि मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

रसुवाको भोटेकोशी हुँदै नुवाकोट, हाल धादिङसम्म प्रवेश गरिसकेको बाढीको विपद्मा परेका सर्वसाधरणको खोज तथा उद्धारमा समस्या आउन सक्ने विभागले जानकारी दिएको छ।

विभागका मौसमविद् सञ्जीव अधिकारीले रसुवा तथा नुवाकोट जिल्ला आसपासमा वर्षाको सम्भावना रहेको जानकारी दिँदै उच्च सतर्कता अपनाउन आग्ह गरेका छन्।

“यी जिल्ला मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले भोटेकोशी बाढीमा पर्ने सर्वसाधरणको उद्धारका लागि समस्या आउनसक्छ। ”, उनले भने।

प्रकाशित :२०८३ भाद्र १०, बुधबार १२:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry