हरित उद्यमको वित्तीय पहुँच बढाउन कुमारी बैंक र हेल्भेटासबीच सहकार्य

काठमाडौं। हरित अर्थतन्त्रमा संलग्न उद्यमी तथा व्यवसायीको वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले कुमारी बैंक लिमिटेड र हेल्भेटास स्विस इन्टरकोअपरेसन नेपाल (हेल्भेटास नेपाल) बीच समझदारी भएको छ।

Advertisement 1

सम्झौताअनुसार नेपालको उदीयमान हरित अर्थतन्त्रमा संलग्न सूक्ष्म उद्यमी, कृषक, युवाद्वारा सञ्चालित व्यवसाय तथा मूल्य शृङ्खलामा आबद्ध अन्य साझेदारहरूलाई वित्तीय पहुँच विस्तार गर्नुका साथै व्यवसाय विकाससम्बन्धी सहयोग उपलब्ध गराइनेछ।

सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख मार्केटिङ तथा लगानी अधिकृत चन्दन कार्की र हेल्भेटास नेपालका कन्ट्री डाइरेक्टर मनीष प्रधानले हस्ताक्षर गरेका छन्।

Advertisement 2

सहकार्यले हेल्भेटास नेपालको उद्यम विकास, समावेशी आर्थिक विकास तथा मूल्य शृङ्खला सुदृढीकरणसम्बन्धी अनुभवलाई कुमारी बैंकको वित्तीय विशेषज्ञता, सेवा तथा पहुँचसँग जोड्ने बैंकले जनाएको छ। दुवै संस्थाले हरित उद्यम तथा हरित मूल्य शृङ्खलामा आधारित व्यवसायका लागि वित्तीय पहुँच र मूल्य शृङ्खला वित्तीयकरणलाई प्राथमिकतामा राख्ने भएका छन्।

कुमारी बैंकका दिगो बैंकिङ प्रमुख अर्पण पौडेलले हरित उद्यम विकासमा लागेका व्यवसाय तथा उद्यमीलाई वित्तीय स्रोतसँगै आवश्यक व्यावसायिक क्षमता विकासमा समेत सहयोग गर्ने बताए। उनका अनुसार सहकार्यले हरित तथा जलवायु–उत्थानशील अर्थतन्त्र निर्माणमा योगदान पु¥याउनेछ।

Advertisement 3

यस साझेदारीमार्फत उद्यमी, कृषक, वित्तीय संस्था तथा हरित मूल्य शृङ्खलामा आबद्ध सरोकारवालाबीच सहकार्य थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। वित्तीय स्रोतको पहुँचसँगै प्राप्त स्रोतलाई प्रभावकारी रूपमा परिचालन तथा व्यवस्थापन गर्न आवश्यक क्षमता विकासमा समेत जोड दिइने जनाइएको छ।

सहकार्यबाट हरित उद्यममा रोजगारी सिर्जना, नवप्रवर्तन र स्थानीय आर्थिक विकासलाई प्रोत्साहन गर्दै नेपालको हरित अर्थतन्त्र विस्तारमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित :२०८३ भाद्र ४, बिहीबार १३:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry