गृहका ६ सहसचिव फाजिलमा, ९ जिल्लामा सिडिओको दरबन्दी उपसचिवमा झारियो

काठमाडौं। गृह मन्त्रालय तथा अन्तर्गतका ६ सहसचिव फाजिलमा परेका छन्। गृह मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) स्वीकृत भएसँगै सहसचिवको दरबन्दी कटौती गरी विभिन्न जिल्लामा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनाउने व्यवस्था लागू भएपछि उनीहरू फाजिलमा परेका हुन्।
Advertisement 1
गृह मन्त्रालयले सहसचिवको दरबन्दी रहेका भोजपुर, खोटाङ, सल्यान, जाजरकोट, जुम्ला, रोल्पा, बैतडी, डडेल्धुरा र अछाम जिल्लामा उपसचिवको दरबन्दी कायम गरेको छ। त्यस्तै, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको अध्यागमन कार्यालयमा समेत सहसचिवको दरबन्दी हटाएर उपसचिवको दरबन्दी कायम गरिएको छ।
दरबन्दी पुनर्संरचनासँगै राजन पौडेल, रेखा कँडेल, महेन्द्रकुमार सापकोटा, खडानन्द अधिकारी, गंगाबहादुर क्षेत्री र बलराम निरौला फाजिलमा परेका हुन्।
Advertisement 2
भोजपुरका प्रमुख जिल्ला अधिकारी राजन पौडेल, खोटाङका सिडिओ रेखा कँडेल, सल्यानका सिडिओ महेन्द्रकुमार सापकोटा, जाजरकोटका सिडिओ खडानन्द अधिकारी र रोल्पाका सिडिओ गंगाबहादुर क्षेत्रीको दरबन्दी कटौती भएको छ। उनीहरू अब गृह मन्त्रालयको फाजिल सूचीमा परेका छन्।
त्यस्तै, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव बलराम निरौला पनि दरबन्दी कटौतीसँगै फाजिलमा परेका छन्।
Advertisement 3
यसअघि बैतडीको प्रमुख जिल्ला अधिकारी रहेका सहसचिव डा. डिजन भट्टराईको भने संखुवासभामा व्यवस्थापन भइसकेको छ।
जुम्ला, अछाम र डडेल्धुरामा पनि सहसचिवको दरबन्दी हटाएर उपसचिवलाई सिडिओ बनाउने निर्णय भए पनि त्यहाँ कार्यरत सहसचिव नरहेकाले थप सहसचिव फाजिलमा पर्नुपर्ने अवस्था आएको छैन।
ओएन्डएम स्वीकृत भएसँगै गृह प्रशासनको जिल्लागत संरचनामा समेत ठूलो परिवर्तन भएको छ। विशेषगरी हिमाली तथा पहाडी जिल्लाका सिडिओको दरबन्दी सहसचिवबाट उपसचिवमा झारिएपछि गृहमा सहसचिव व्यवस्थापनको चुनौती थपिएको छ।








