सहकारी ठगीमा आफूविरुद्ध परेको उजुरीलाई गृहमन्त्रीले ‘चिर्कटो’ भनेपछि कांग्रेसको प्रश्न- ‘उजुरी ताम्रपत्रमा लेख्नुपर्ने हो ?’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगी सम्बन्धी आरोपबारे छानबिन नभएसम्म पदबाट राजीनामा दिन आग्रह गरेको छ।
Advertisement 1
प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसकी सांसद प्रतिमा गौतमले कुनै संलग्नता नभए संसदीय छानबिन समिति बनाउन डराउन नगर्ने बताइन्।
‘देशभर सहकारी ठगीबाट पीडितहरु त्रसित बनेका छन् । सहकारी ठगीमै संलग्न व्यक्ति देशको गृहमन्त्री हुँदा हामीले न्याय पाउने बातावरण कसरी बन्छ भन्ने उनीहरुको प्रश्न छ,’ सांसद गौतमले भनिन्, ‘हामीले गृहमन्त्रीविरुद्ध परेको उजुरीबारे तथ्य के हो भनेर बुझ्न संसदीय छानबिन समिति बनाउनुपर्छ भनिरहेका हौँ। आरोपलाई अनुसन्धान नभई खारेज गर्न मिल्दैन । छानबिन समिति गठन गरौँ भन्दा किन यति धेरै पसिना आयो ? हामीले बुझ्न चाहेका छौँ यहाँ गम्भीर प्रश्नहरू लुकेका छन्। यदि गलत नगरेको भए छानविन समिति बनाउनै डराउनुपर्ने आवश्यकता छैन ।’
उनले सरकार सहकारी पीडितहरूलाई न्याय दिने पक्षमा भन्दा पनि उनीहरूलाई घरको न घाटका बनाउने ठगहरूलाई बचाउने पक्षमा उद्धत भएको आरोप लगाइन्।
Advertisement 2
उनले भनिन्- प्रधानमन्त्रीज्यू यही संसदमा आएर गृहमन्त्रीमाथि परेको उजुरी कानूनी हिसाबले मुद्दा गर्न अयोग्य भएको फैसला गर्नुहुन्छ। आरोपी गृहमन्त्री आफूलाई परेको उजुरीलाई चिर्कटोको संज्ञा दिनुहुन्छ। उजुरी त कागजमै लेख्ने होला नि कि ताम्र पत्र वा स्वर्णपत्रमा लेख्ने भए त्यो पनि जानकारी गराइदिए हुन्थ्यो नि।