सिंहदरबारमै खाद्य कम्पनीको बिक्री कक्ष, १४२ प्रकारका वस्तु उपलब्ध

काठमाडौं। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सिंहदरबार परिसरमा बिक्री कक्ष सञ्चालनमा ल्याएको छ। कम्पनीको सातौँ वार्षिकोत्सवको अवसर पारेर बिहीबारदेखि बिक्री कक्ष सञ्चालनमा ल्याइएको हो।
Advertisement 1
बिक्री कक्षको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले उद्घाटन गरिन्। कम्पनीका अनुसार बिक्री कक्षबाट सिंहदरबारमा कार्यरत राष्ट्रसेवक कर्मचारी तथा सेवाग्राहीले दैनिक उपभोग्य वस्तु सहज रूपमा खरिद गर्न सक्नेछन्।
उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री यादवले आम उपभोक्तालाई सहुलियत मूल्यमा गुणस्तरीय खाद्यवस्तु उपलब्ध गराउन सरकार प्रयत्नशील रहेको बताइन्।
Advertisement 2
कम्पनीका विभागीय प्रबन्धक घनश्याम अर्यालका अनुसार बिक्री कक्षमा नेपाली उत्पादनलाई प्राथमिकता दिइएको छ। उनले बिक्री कक्ष सञ्चालनलाई स्वदेशी किसान तथा उद्योगलाई बजारसँग जोड्ने र उपभोक्तालाई गुणस्तरीय वस्तु सहज रूपमा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धताको सुरुआतका रूपमा व्याख्या गरे।
सिंहदरबारस्थित बिक्री कक्षमा खाद्य तथा गैरखाद्य गरी १४२ प्रकारका वस्तु बिक्रीका लागि राखिएको कम्पनीले जनाएको छ।
Advertisement 3
यसैबीच, कम्पनीले बिहीबारदेखि देशभर ४४ जिल्लाका १९३ स्थानमा सहुलियत मूल्य पसल समेत सञ्चालनमा ल्याएको छ। ती पसलमा उपभोक्ताले दैनिक उपभोग्य वस्तुमा प्रतिकिलो तथा प्रतिलिटर ५ रुपैयाँ छुट पाउने व्यवस्था गरिएको छ।








