सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन आग्रह

काठमाडौं। सांसदहरूले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन तथा संसद्को अभिलेखबाट हटाउन आग्रह गरेका छन्।

Advertisement 1

प्रतिनिधिसभाको आजको बैठकमा बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले आआफ्नो आसनबाट उठेर विरोध जनाएपछि सभामुखले दलीय आधारमा बोल्न समय दिएका थिए।

सांसदहरूले गत जेठ १७ गते प्रधानमन्त्रीले संसद्मा दिएको सीमासम्बन्धी अभिव्यक्तिबारे हालसम्म स्पष्ट जवाफ नआएको भन्दै सच्याउन आग्रह गरे। उनीनरूले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति तत्काल फिर्ता लिन र संसद्को अभिलेखबाट हटाउन उनले सभामुखसमक्ष आग्रह गर्दै आएका छन्।

Advertisement 2

नेपाली कांग्रेसका सांसद भरतकुमार स्वारले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति सच्याउनुपर्ने भन्दै प्रधानमन्त्रीलाई सदनमा उपस्थितिका लागि सभामुखको ध्यानार्कषण गराए।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद चन्देश्वर मण्डलले सुनसरी र सिरहामा भएका घटनामा गोली चलाउनुपर्ने अवस्था नरहेको बताउँदै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे।

Advertisement 3

सांसद मण्डलले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी नभएको आरोप लगाउँदै दुई तिहाइको सरकारले महँगी, कृत्रिम अभाव, सुकुमवासीको समस्या, राहदानी तथा विद्युत् शुल्कलगायत विषयमा प्रभावकारी समाधान दिनुपर्ने बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद भरत गिरीले लिपुलेक तथा सीमा विवादबारे सरकारको स्पष्ट दृष्टिकोण सदनसमक्ष प्रस्तुत गर्न र समस्या समाधानका लागि ठोस मार्गचित्र ल्याउन माग गरे।

नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले प्रधानमन्त्रीले संसद्को गरिमा र सांसदहरूको मागलाई बेवास्ता गरेको आरोप लगाउँदै सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन माग गरे।

श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राईले प्रधानमन्त्रीले नैतिक तथा पदीय जिम्मेवारी बहन गर्दै सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने बताए।

सोही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद इन्दिरा रानामगरले सांसद राईले आफ्नो अभिव्यक्तिमा प्रयोग गरेको ‘कोर्रा’ जस्तो शब्दप्रति आपत्ति जनाउँदै उक्त शब्द संसद्को अभिलेखबाट हटाउन माग गरीन्।

प्रकाशित :२०८३ श्रावण २६, मंगलवार १५:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry