रुपन्देहीमा जनप्रतिनिधिले आफ्ना मान्छेलाई मात्रै खोप लगाउन दबाब दिएपछि विवाद

जनप्रतिनिधिले मापदण्ड विपरीत आफ्ना मान्छेलाई खोप लगाउन दिएपछि खोप कार्यक्रम नै स्थगित भएको छ ।
Advertisement 1
रुपन्देहीमा जनप्रतिनिधिका आफन्त, पार्टीका कार्यकर्तालाई खोप लगाउन दबाब दिएपछि विवाद हुँदा जिल्लाको तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका, ओमसतिया र मर्चवारी गाउँपालिकामा विवाद भएपछि खोप कार्यक्रम स्थगित भएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको भेरोसेल खोप जिल्लामा ६२–६४ वर्ष उमेर समूहका १४ हजार ५ सय ५५ जना नागरिकलाई मंगलबारदेखि लगाउन शुरु भएको थियो ।
यो उमेर समूहका नागरिकको संख्या जिल्लामा १८ हजार छ । लक्षित उमेर समूहलाई नै पुग्ने खोप नआएका बेला जनप्रतिनिधिले आफ्नो मान्छेलाई खोप लगाउन दबाब दिएको स्वास्थ्यकर्मीहरु बताउँछन् । जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन केदारनाथ शाहले विवाद र खोप अभावमा चार स्थानीय तहमा खोप लगाउन स्थगित गरिएको बताए । सरकारले खोप व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिएको छ ।
Advertisement 2
ओमसतिया गाउँपालिका वडा नम्बर २ का अध्यक्ष ज्ञानेश श्रेष्ठले आफन्त र पार्टी कार्यकर्तालाई खोप लगाउन दबाब दिएपछि त्यहाँ विवाद छ । सरकारले तोकेभन्दा बाहिर गएर खोप कार्यक्रममा सहभागी गराएपछि जिल्ला प्रशासनले उनलाई स्पष्टीकरण सोधेको प्रजिअ तामाङले बताए ।