सरकारद्वारा सुरज शाक्य विकास आयुक्तमा नियुक्त

काठमाडौं । सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्यलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई उक्त पदको जिम्मेवारी दिने निर्णय गरेको हो।
Advertisement 1
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार काठमाडौं निवासी शाक्यलाई विकास आयुक्तमा नियुक्त गरिएको हो। प्राधिकरणको नेतृत्वमा उनको नियुक्तिसँगै काठमाडौं उपत्यकाको योजनाबद्ध विकास तथा व्यवस्थापनका कार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
नवनियुक्त विकास आयुक्त शाक्यले उपत्यकाभित्रका पूर्वाधार विकास, सहरी योजना कार्यान्वयन, खुला क्षेत्र संरक्षण, भू–उपयोग व्यवस्थापन तथा प्राधिकरणसँग सम्बन्धित विभिन्न विकास परियोजनाको समन्वय र अनुगमनको जिम्मेवारी सम्हाल्नेछन्।
Advertisement 2
काठमाडौं उपत्यकामा बढ्दो सहरीकरण, अव्यवस्थित बस्ती विस्तार तथा पूर्वाधार व्यवस्थापनका चुनौतीबीच प्राधिकरणको भूमिकालाई महत्वपूर्ण मानिँदै आएको छ। यस्तो अवस्थामा नयाँ नेतृत्वले दीर्घकालीन सहरी विकास योजना कार्यान्वयन, सार्वजनिक पूर्वाधार विस्तार तथा व्यवस्थित सहरी विकासलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।








