कर्मचारी ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न सरकारको निर्देशन

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्रालयले खारेज भएका निजामती कर्मचारी ट्रेड युनियन तथा कर्मचारी संगठनलाई सरकारी जग्गामा निर्माण गरिएका भवन तथा अन्य संरचना तीन दिनभित्र खाली गर्न सार्वजनिक सूचना जारी गरेको छ।

Advertisement 1

मन्त्रालयले असार २२ गते जारी गरेको सूचनाअनुसार नेपाल सरकारले वैशाख २० गते जारी गरेको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३’ मार्फत निजामती सेवा ऐन, २०४९ अन्तर्गतको ट्रेड युनियनसम्बन्धी व्यवस्था खारेज भएपछि ती संगठनको कानुनी हैसियत समाप्त भएको उल्लेख गरेको छ।

सूचनामा मन्त्रिपरिषद्को २०६८ असार १ गतेको निर्णयअनुसार सरकारी जग्गाको भोगाधिकार प्राप्त गरी भवन निर्माण तथा उपयोग गर्दै आएका ती संगठनहरूको भोगाधिकार पनि स्वतः समाप्त भएको जनाइएको छ। साथै, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका पञ्जिकाधिकारीले वैशाख २३ गते राष्ट्रियस्तरका निजामती कर्मचारी ट्रेड युनियनहरूको दर्ता खारेज गरिसकेको मन्त्रालयले उल्लेख गरेको छ।

Advertisement 2

मन्त्रालयले स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, नेपाल स्वास्थ्यकर्मी संघ तथा मधेशी स्वास्थ्यकर्मी फोरम नेपाललाई सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र सरकारी जग्गामा रहेका भवन, अन्य संरचना तथा बहालमा दिइएका स्थानसमेत पूर्ण रूपमा खाली गरी कागजात, सम्पत्ति र भवनको साँचो मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा बुझाउन निर्देशन दिएको छ।

मन्त्रालयले तोकिएको अवधिभित्र भवन तथा संरचना खाली नगरे प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएको छ।

प्रकाशित :२०८३ असार २३, मंगलवार १५:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry