गढीमाई नगरपालिकाका नगर प्रमुखसहित ४ जनाविरुद्ध २ करोड ५७ लाख रुपैयाँ भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको गढीमाई नगरपालिकाका नगर प्रमुख श्यामप्रसाद यादवसहित ४ जना तथा भाग्यमणी कन्स्ट्रक्सन कम्पनी प्रालि. र त्यसका सञ्चालक राधेश्याम साहविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
Advertisement 1
आयोगले आर्थिक वर्ष २०७६÷७७ मा समनपुरघाटको बालुवा, गिट्टी तथा ग्राभेल उत्खनन, संकलन, बिक्री र निकासीसम्बन्धी ठेक्कामा राजस्व हिनामिना तथा चुहावट भएको निष्कर्षसहित सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
अनुसन्धानका क्रममा गढीमाई नगरपालिकाले ३ करोड २५ लाख रुपैयाँ कबोलमा ठेक्का स्वीकृत गरेको भाग्यमणी कन्स्ट्रक्सन कम्पनीले बोलपत्रको सर्तअनुसार तोकिएको समयभित्र सम्पूर्ण रकम दाखिला नगरेको पाइएको आयोगले जनाएको छ। त्यसपछि पनि नगरपालिकाका जिम्मेवार पदाधिकारीले झुट्टा विवरणका आधारमा रकम दाखिला भइसकेको देखाई सम्झौता स्वीकृत गरी कम्पनीलाई उत्खनन तथा निकासीको अनुमति दिएको आरोप छ।
Advertisement 2
आयोगका अनुसार एक महिनाका लागि १० हजार घनमिटर उत्खननको अनुमति दिइए पनि कम्पनीले ५४ हजार ३५५ घनमिटर नदीजन्य पदार्थ उत्खनन तथा निकासी गरी ३ करोड ३२ लाख ६९ हजार ७८९ रुपैयाँ ५८ पैसा बराबरको लाभ लिएको देखिएको छ।
त्यसैगरी ठेक्काबापत बुझाउनुपर्ने रकममध्ये १ करोड ९ लाख ६३ हजार रुपैयाँ मात्र दाखिला गरिएको र बाँकी २ करोड १५ लाख ३७ हजार रुपैयाँ तथा मूल्य अभिवृद्धि कर (भ्याट) ४२ लाख २५ हजार रुपैयाँ गरी कुल २ करोड ५७ लाख ६२ हजार रुपैयाँ राजस्व नोक्सानी पु¥याएको आयोगको दाबी छ।
Advertisement 3
यस प्रकरणमा नगर प्रमुख श्यामप्रसाद यादव, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शुभाषकुमार ठाकुर, तत्कालीन राजस्व शाखा प्रमुख बालकिशोर राय तथा भाग्यमणी कन्स्ट्रक्सन कम्पनी प्रालि. र त्यसका तर्फबाट कार्य गर्ने राधेश्याम साहलाई प्रतिवादी बनाइएको छ।
आयोगले नगर प्रमुख यादव, ठाकुर र रायविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ अन्तर्गत बिगो कायम गरी कैद, बिगोको दोब्बर जरिवाना तथा सम्बन्धित कानुनी व्यवस्थाअनुसार थप सजायको माग गरेको छ। कम्पनी र त्यसका सञ्चालक साहविरुद्ध भने मुख्य कसुरदारलाई सघाएको (मतियार) आरोपमा मुख्य अभियुक्तसरह सजायको मागदाबी गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।








