पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोलमा २० र डिजेलमा ३० रुपैयाँसम्म कटौती

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको असार १६ गते बसेको बैठकले नयाँ खरिद मूल्यका आधारमा पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य घटाउने निर्णय गरेको हो।

Advertisement 1

नयाँ मूल्य २०८३ असार १७ गते (१ जुलाई २०२६) बिहान १२ः०१ बजेदेखि लागू हुने निगमले जनाएको छ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटका कारण भारतीय आयल निगम (Indian Oil Corporation) बाट प्राप्त नयाँ खरिद मूल्यमा पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ९ पैसा, डिजेल प्रतिलिटर २९ रुपैयाँ ४६ पैसा, हवाई इन्धन प्रतिलिटर २९ रुपैयाँ ४२ पैसा तथा एलपी ग्यासको मूल्यसमेत घटेर आएको छ।

Advertisement 2

सोही आधारमा निगमले पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँ, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँ तथा एलपी ग्यासको मूल्य प्रति सिलिन्डर १०० रुपैयाँले घटाएको जनाएको छ।

त्यस्तै, अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर २६५ अमेरिकी डलरले मूल्य घटाइएको छ भने पोखरा र भैरहवाका लागि ’ब्रेक–इभेन प्वाइन्ट’ मा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ।

Advertisement 3

निगमले डिपो तथा कार्यालयबाट १५ किलोमिटरसम्मका क्षेत्रका लागि लागू हुने नयाँ खुद्रा बिक्री मूल्यसमेत सार्वजनिक गरेको छ। विस्तृत मूल्यसूची निगमले तालिकामार्फत उपलब्ध गराएको छ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारको मूल्य र स्वचालित मूल्य प्रणालीका आधारमा आगामी दिनमा पनि आवश्यकताअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिनेछ।

प्रकाशित :२०८३ असार १७, बुधबार ११:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry