अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह

रसुवा। कोष तथा लेखा नियन्त्रक कार्यालय रसुवाले कानुन बमोजिम इजाजत लिएर मात्र मदिरा, सुर्ती, गुट्खालगायत अन्तशुल्कजन्य वस्तुको बिक्री वितरण तथा कारोबर गर्न सम्बद्ध व्यवसायीहरूसँग आग्रह गरेको छ।

Advertisement 1

विना इजाजत मदिरा एवं सूर्तीजन्य वस्तुको कारोबार भइरहेको भन्ने जानकारी प्राप्त भएकाले कानुन विपरीत काम नगर्न अनुरोध गर्दै त्यसो गरेको पाइएमा अन्तःशुल्क ऐन बमोजिम कारबाही गरिने कोलनिकाले स्पष्ट गरेको छ।

जिल्ला सदरमुकाम धुञ्चेसहित स्याफ्रुबेँसी, टिमुरे, थाम्बुचेत, बेत्रावती, जिबजिबे, पारच्याङलगायतका व्यापारिकस्थलका केही व्यवसायीले इजाजतपत्र नलिइकन मदिरा तथा सूर्तीजन्य वस्तुको कारोबार गरिरहेको भन्ने जानकारी प्राप्त हुनासाथ कोलनिकाले जनचेतनासहित प्रचारप्रसारको कामलाई प्राथमिकता दिएको छ।

Advertisement 2

प्रमुख कोष नियन्त्रक विन्ध्या कार्कीले जिल्लास्थित उद्योग वाणिज्य सङ्घका प्रतिनिधिसहित सम्बद्ध पेसामा आबद्ध व्यवसायीको सहभागितामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिइन्।

जिल्लास्थित प्रमुख कोष नियन्त्रक कार्कीका अनुसार हालसम्म गोसाइँकुण्ड गाउँपालिकाका ७४ जना, आमाछोदिङ्मो गाउँपालिकाका १ जना, कालिका गाउँपालिकाका २४ जना, नौकुण्ड गाउँपालिकाका ४ जना तथा उत्तरगया गाउँपालिकाका ६ जना व्यवसायीले मात्र अन्तःशुल्क बिक्री–वितरणको अनुमति लिएका अभिलेख छ।
कोलिनिकाले जिल्लामा अझै पनि उल्लेख्य सङ्ख्याका व्यावसायीले इजाजत नलिइकन कारोबार गरिरहेको देखिएकाले यथासक्य छिटो इजाजतपत्र लिएरमात्र पेशाव्यवासय गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरेको छ। अन्तःशुल्कको अनुमति प्राप्त गर्न आन्तरिक राजस्व कार्यालय, गल्छीबाट स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्ने प्रमुख कोष नियन्त्रक कार्कीले जानकारी दिइन्।

Advertisement 3

जिल्लास्थित कोलनिकाले चालु आवको साउनदेखि चैत मसान्तसम्म अन्तःशुल्क शीर्षकबाट रु ८ लाख ९९ हजार ७५० राजस्व सङ्कलन गरेको जनाएको छ

प्रकाशित :२०८३ जेष्ठ २१, बिहीबार १४:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry