मांसिमा खानेपानी आयोजना पुनर्निर्माण

सङ्खुवासभा। जिल्ला सदरमुकाममा रहेको खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाअन्तर्गत सञ्चालित मांसिमा खानेपानी आयोजना पुनर्निर्माण भएसँगै सञ्चालनमा आएको छ।

Advertisement 1

रु ६ करोड ४७ लाख ५६ हजार ६०० को लागतमा पुनर्निर्माण गरिएको आयोजना सञ्चालनमा ल्याइएको हो। खानेपानीको मुहान मांसिमा देखि खाँदबारीसम्मको ४२ किलोमिटरमध्ये करिब साढे २० किलोमिटर ट्रान्समिसन पाइप पुनर्निर्माण गरिएको हो। चिचिला गाउँपालिकाको कुँवापानीमा रहेको ‘ट्रिटमेन्ट प्लान्ट’बाट पानी प्रवाह सुरु गर्दै सञ्चालनमा ल्याइएको हो। पुनर्निर्माण सम्पन्न भएसँगै लामो समयदेखि प्रभावित हुँदै आएको खाँदबारी क्षेत्रको खानेपानी आपूर्तिमा सुधार आउने नगरप्रमुख महेश्वर थपलियाले बताए।

पुनर्निर्माण आयोजनाअन्तर्गत क्षतिग्रस्त पाइपलाइन हटाएर नयाँ पाइप जडान गरिएको छ। साथै पानी प्रशोधन तथा वितरण प्रणालीलाई व्यवस्थित बनाइएको संस्थाले जनाएको छ। आयोजनाको पुनर्निर्माणपछि अब खाँदबारी नगर क्षेत्रका उपभोक्ताले नियमित रूपमा स्वच्छ खानेपानी सेवा प्राप्त गर्ने विश्वास गरिएको छ। पुनर्निर्माण सम्पन्न भएसँगै उपभोक्तालाई सहज रूपमा खानेपानी उपलब्ध गराउने लक्ष्य पूरा भएको खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाइ आयोजनाको अध्यक्ष दिव्यराज बरालले बताए।

Advertisement 2

यसअघि चिचिलाको देउरालीदेखि खाँदबारीसम्म सडक विस्तार तथा निर्माणका क्रममा बिछ्याइएको मुख्य पाइपलाइन पूर्ण रूपमा क्षतिग्रस्त भएपछि खानेपानी सेवा अवरुद्ध भएको थियो। यहाँ २०७० सालमा बृहत् मांसिमा खानेपानी आयोजनाको काम सुरु भएकामा ५ पटक समय थप गरेर विसं २०७४ पुसमा निर्माण सम्पन्न भएको थियो। आयोजना रु ४५ करोड १ लाख ५५ हजारमा निर्माण गरिएको थियो।

प्रकाशित :२०८३ जेष्ठ १८, सोमबार १४:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry