आर्थिक उपार्जनका लागि कफीखेती अभियान

धुलिखेल। काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–५ घैयाँडाँडाकी देवीमाया तुम्सिङ मगर पाखोबारीमा मकै छर्ने कामसँगै कफीको बोट रोप्नका लागि खाल्डो खन्ने काममा व्यस्त छिन्। उनले आफ्ना बारीका पाटाभरि कफीका बिरुवा रोप्न ज्यालामा ५ जना खेताला लगाएर खाल्डो खनिरहेकी छन्। अन्य अन्नबाली खेतीभन्दा कफीबाट बढी आम्दानी हुने भएपछि मगरले केही वर्षदेखि कफी खेतीलाई प्राथमिकता दिएकी ह।

Advertisement 1

मकै खेती गर्दा उत्पादन कम हुने र भएको अन्नबाली जङ्गली जनावर बाँदरले नोक्सान गर्न थालेपछि कफी खेतीतर्फ आकर्षण बढेको उनले बताए। यस वर्ष मात्रै करिब ८०० खाल्डो खनिसकिएको र अझै खन्ने काम बाँकी रहेको मगरको भनाइ छ।

यस्तै महाभारत–५ चौडिक भोर्लेनीका हिराबहादुर राना मगरले पनि कफीको बिरुवा रोप्न यस वर्ष करिब तीन रोपनी क्षेत्रफलमा खाल्डो खनिसकेका छन्। धेरै वर्षअघि रोपेका बोटबाट उत्पादन आउन थालेको उनले बताए। यसअघि काठमाडौँमा व्यवसाय गर्दै आउनुभएका उनी विगत २ वर्षदेखि गाउँमै बसेर कफी खेतीमा लागेका ह। अन्य अन्नबालीभन्दा कफीबाट बढी आम्दानी हुने भएकाले यसतर्फ आकर्षित भएको उनको भनाइ छ।

Advertisement 2

यसैगरी रामकुमार लुङ्गेली मगरले पनि यस वर्ष २०० भन्दा बढी खाल्डो खनिसकेका छन्। उचित स्याहार र सिँचाइको व्यवस्था गर्न सके रोपेको दुई वर्षदेखि नै उत्पादन दिन थाल्ने उनले बताए। महाभारत गाउँपालिकाका कफी उत्पादन हुने बस्तीमा व्यापारी घर–घरमै कफी खोज्न आउन थालेपछि यहाँका किसान कफी खेतीतर्फ थप आकर्षित भएका छन्।

बागमती प्रदेश सरकार र महाभारत गाउँपालिकाको सहयोगमा कफी खेती प्रवद्र्धन हुँदै आएको छ। महाभारत साना किसान तथा कृषि सहकारी संस्थाका प्रबन्धक चन्द्रकुमार लुङ्गेली मगरका अनुसार प्रदेश सरकारको ६०, गाउँपालिकाको २० र किसानको २० प्रतिशत लागत साझेदारीमा व्यावसायिक कफी खेती भइरहेको छ। गत वर्षदेखि सुरु भएको अभियानअन्तर्गत यस वर्ष ३० हजार कफीका बिरुवा रोप्ने लक्ष्य रहेको उनले बताए।

Advertisement 3

महाभारत–५ का किल्ला, भलडाँडा, भोर्लेनी र चौडिकलगायत बस्तीका किसान बिरुवा रोप्न बारीमा खाल्डो खन्ने क्रममा छन्। महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार वडा नं १, २, ४, ५ र ८ लाई कफी उत्पादन क्षेत्रका रूपमा पहिचान गरिएको छ। विगत करिब ४ वर्षदेखि बिरुवा वितरण तथा आवश्यक औजार–उपकरण उपलब्ध गराएर किसानलाई सहयोग गर्दै आएको उनले बताए।

पालिकाले वडा नं ५ मा ‘एक वडा एक उत्पादन’ कार्यक्रम र ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २०’ कार्यक्रममार्फत किसानलाई प्रोत्साहन गर्दै आएको छ। गत वर्ष ३८ हजार बिरुवा वितरण गरिएकामा यस वर्ष वडा नं ५ लाई कफी हबका रूपमा विकास गर्न करिब ३० हजार बिरुवा वितरण गर्ने योजना रहेको छ। समग्रमा यस वर्ष १ लाख बिरुवा वितरण गर्ने लक्ष्य रहेको अध्यक्ष जिम्बाले जानकारी दिए। उत्पादन र गुणस्तर राम्रो भएको महाभारत गाउँपालिकामा कफीको बजारीकरण पनि सन्तोषजनक छ। गाउँपालिकाका अनुसार यस वर्ष मात्रै ८० टनभन्दा बढी कफी उत्पादन तथा निर्यात भएको छ।
–––

प्रकाशित :२०८२ चैत्र २७, शुक्रबार १४:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry