रानीवासमा महिला सामुदायिक भवन निर्माण

भोजपुर। भोजपुरको हतुवागढी गाउँपालिका–१ रानीवासमा महिला सामुदायिक भवन निर्माण सम्पन्न भएपछि स्थानीयवासीलाई विभिन्न सामाजिक तथा सामुदायिक गतिविधि सञ्चालन गर्न सहज भएको छ। विशेषगरी महिलाका लागि लक्षित गरी निर्माण गरिएको उक्त भवनले गाउँस्तरमा हुने नियमित भेला, छलफल तथा कार्यक्रमलाई व्यवस्थित बनाएको छ।
रानीवासका महिलाले हरेक महिना टोल तथा महिला समूहको बैठक सञ्चालन गर्दै आएका छन्। उपयुक्त स्थानको अभावका कारण कहिले खुला स्थानमा त कहिले निजी घरमा भेला बस्नुपर्ने बाध्यता रहेको अहिले सहजता भएको स्थानीयसी रामप्रसाद सुवेदीले जानकारी दिए। यहाँ भवन निर्माण गर्नका लागि करिब रु सात लाख बजेट खर्च भएको उनको भनाइ छ।
भवन नहुँदा वर्षायाम तथा प्रतिकूल मौसममा भेला तथा छलफल सञ्चालन गर्न झन् कठिन हुने गरेको थियो। तर अहिले सामुदायिक भवन निर्माण भएसँगै अब उनीहरूलाई नियमित बैठक, सीपमूलक तालिम, सचेतनामूलक कार्यक्रम, बचत तथा ऋण समूहका गतिविधि सञ्चालन गर्न सहज भएको छ।
यसले महिलाको सहभागिता वृद्धि हुनुका साथै उनीहरूको क्षमता विकास र नेतृत्व विकासमा सकारात्मक प्रभाव पारेको वडाध्यक्ष कुमार विष्टले बताए। यहाँ सामुदायिक भवन निर्माणका लागि वडाले आवश्यक सहयोग गरेको उनको भनाइ छ।
सामुदायिक भवन स्थानीय तहको सहयोग तथा समुदायको सक्रिय सहभागितामा निर्माण सम्पन्न गरिएको हो। स्थानीय अगुवाहरूका अनुसार भवन निर्माणले महिला सशक्तीकरणमा महत्त्वपूर्ण टेवा पु¥याउनेछ। अब महिलाहरूले आफ्ना समस्या, योजना र अवसरबारे खुला रूपमा छलफल गर्न पाउने वातावरण सिर्जना भएको छ। साथै, गाउँमा सञ्चालन हुने अन्य सामाजिक, सांस्कृतिक तथा शैक्षिक कार्यक्रमका लागि यो भवन उपयोगी बनेको छ।
दीर्घकालीन रूपमा यस भवनले गाउँको सामाजिक एकता मजबुत बनाउने र स्थानीय तहका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न महत्त्वपूर्ण आधार तयार गर्ने स्थानीयको भनाइ छ।
–––
प्रकाशित :२०८२ चैत्र १६, सोमबार १४:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry