चारपटक म्याथ थपेर बल्ल कालिकाको प्रशासकीय भवन सम्पन्न: निर्माण कम्पनीलाई रु १ करोड १६ लाख जरिवाना

चितवन। यहाँस्थित कालिका नगरपालिकाले आजदेखि आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा सुरुआत गरेको छ।

Advertisement 1

नगरपालिकाका प्रमुख विनोद रेग्मीका अनुसार आजदेखि नियमित काम नयाँ भवनबाट सुरु गरिएको जानकारी दिए। निर्माणको छ वर्षपछि भवन सम्पन्न भएको हो। निर्माण कम्पनीले विसं २०७६ फागुन १५ गते २ वर्षभित्र काम सम्पन्न गर्नेगरी ठेक्का लिएको थियो। निर्धारित समयमा काम नसकिएपछि चारपटक म्याद थप गर्दै अन्तिम म्याद २०८१ कात्तिक ३० गतेसम्म पु¥याइएको थियो।

नगरपालिकाले म्याद थप नगरी जरिवाना लिने निर्णय कार्यपालिकाको बैठक र परिषद्बाट गरेको छ। नगरपालिकाले निर्माण कम्पनीसँग रु १ करोड १६ लाख जरिवाना गरेको छ। प्रमुख रेग्मीका अनुसार रु ११ करोड ५६ लाखको लागतमा आधुनिक नयाँ भवन निर्माण गरिएको हो।

Advertisement 2

विसं २०७२ असोज १ गते स्थापना भएको नगरपालिकाले १० वर्षपछि आफ्नै भवनबाट सेवा सुरुआत गरेको हो। नयाँ भवन आधुनिक सुविधासम्पन्न रहेको छ। भवनमा सभाहल, नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सचिवालयसहित कार्यकक्ष तयार गरिएको छ। साथै आर्थिक, स्वास्थ्य, कृषि तथा पशुसेवा, सामाजिकलगायत सबै शाखाले यही भवनमार्फत सेवा प्रदान गर्नेछन्।

साविकको जुटपानी, पदमपुर, शक्तिखोर र सिद्धि गाउँविकास समिति समायोजन गरी यस नगरपालिका बनाइएको हो। यस नगरपालिकाको जनसङ्ख्या ५२ हजारभन्दा बढी रहेको छ। यहाँ ब्राह्मण, चेपाङ, तामाङ, थारु, क्षेत्रीलगायत विभिन्न जातजाति र समुदायको मिश्रित बसोबास छ। नगरपालिकाले आफ्नै प्रशासनिक भवनबाट सेवा दिएसँगै नगरवासीलाई सेवा लिन र कर्मचारीलाई काम गर्न सहज भएको नगर प्रमुख रेग्मीले बताए।
–––

प्रकाशित :२०८२ चैत्र १५, आईतवार १२:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry